Bisal Chautari Logo

मदिरा सेवन गरेको आरोपमा प्रहरीको कुटाईबाट वृद्ध गम्भिर घाईते

- २५ भाद्र २०७०, मंगलवार ०७:५१ मा प्रकाशित


२५ भाद्र, पोखरा । मदिरा सेवन गरी होहल्ला र हातपात गरेको भन्दै प्रहरीले एक वृद्धलाई निर्घात कुटपिट गरेको छ । कुटपिटबाट गम्भीर घाइते भएका कास्कीको सातमुहाने देउराली २ फेदीका ६३ वर्षीय सन्तबहादुर गुरुङको महेन्द्रपुलस्थित ओम अस्पतालमा उपचार भइरहेको छ । उनको दायाँ कोखा, बायाँ आँखालगायत शरीरका विभिन्न भागमा गम्भीर चोट लागेको छ ।
चार दिनदेखि अस्पतालमा उपचार गराइरहेका गुरुङले आफूमाथि कुटपिट भएको बताए । रामबजारस्थित भारतीय पेन्सन क्याम्पबाट गत १९ गते पेन्सन बुझेर घर र्फकंदै गरेका गुरुङ र बसका कर्मचारीबीच झगडा भएपछि लेखनाथको शिशुवा प्रहरी चौकी डाँडाका प्रहरीलाई बुझाइदिएका थिए । त्यहींका प्रहरीले नियन्त्रणमा लिने क्रममा गुरुङले हातपात गरेको प्रहरीले दाबी गरेको छ । ओम अस्पतालका चिकित्सक डा. मुकुन्द आचार्यले अस्पतालमा ल्याइँदा गुरुङको कोखा र आँखामा गम्भीर चोट लागेको र रक्तचाप पनि निकै बढेको पाइएको जानकारी दिए । मदिराले होस गुमाएका गुरुङले प्रहरीको कपडामा समातेर नछाडेपछि केही प्रहरीले समातेर लछारपछार गर्दै जबर्जस्ती भ्यानमा हालेको स्थानीय प्रत्यक्षदर्शीले बताए । आफ्नो कपडा समातेपछि चारपाँचजना प्रहरीले मुढो फाले जसरी हात र खुट्टमा समातेर भ्यानमा हुर्‍याइदिएका थिए, प्रत्यक्षदर्शीले भने ।
घटनाको केही समयपछि स्थानीयवासीले आफन्तलाई जानकारी दिएपछि प्रहरी चौकीमा पुग्दा भेट गर्न नदिएको परिवारजनले बताए । प्रहरीले थुनेको छ भनेपछि हामी भेट्न जाँदा भेट्न पनि दिएनन्, सन्तबहादुरकी श्रीमती डिलमाया गुरुङले भनिन्, ‘भोलिपल्ट भेट्दा श्रीमान् बोल्न नसक्ने अवस्थामा थिए । प्रहरीले एकछिन पनि कुरा गर्न दिएन ।’ कान्तिपुर साभार 

प्रतिक्रिया