
बिशाल चौतारी समाचार
काठमाडौं, २०८३ भाद्र ४ बिहिवार। गीतकार तथा संगीतकार केशव राईको शब्द तथा संगीतमा तयार भएको ‘आशुको भेल २’ बोलको गीत सार्वजनिक भएको छ । ‘द भ्वाइस अफ नेपाल’ सिजन–४ का विजेता गायक करण राईको स्वरमा सजिएको गीतमा सरिता राईको प्रस्तुति रहेको छ । गीत विशाल चौतारी टीभीको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।
यसअघि चर्चित गायक ‘राई इज किङ’ राजेश पायल राईको स्वरमा ‘आशुको भेल’ सार्वजनिक भएको थियो। सोही गीतको दोस्रो संस्करणका रूपमा ‘आशुको भेल २’ करण राईको स्वरमा आएको हो। गीतमा देवेश राईको एरेञ्जसागै मिक्सिङ तथा मास्टरिङ रहेको छ ।
गीतको भिडियोमा विशाल राईको छायांकन तथा सम्पादन रहेको छ । भिडियोले गीतको भाव र कथालाई प्रभावकारी रूपमा प्रस्तुत गरेको छ ।
खोटाङ जिल्लाको खाल्ले सेराको माटोमा जन्मिएका गीतकार केशव राई नेपाली गीत संगीतको क्षेत्रमा शब्दमार्फत आफ्ना भावना र जीवनका अनुभूतिहरूलाई अभिव्यक्त गर्दै अघि बढिरहेका सर्जक हुन् गीतकार केशव राई। जन्मभूमिबाट टाढा बेलायतमा ब्रिटिश गोर्खा सैनिकका रूपमा रहे पनि उनको मन, भावना र सिर्जनाको धड्कन भने सधैं नेपाली माटो, गाउँघर, संस्कृति र आफ्ना मानिसहरूमै केन्द्रित रहेको पाइन्छ। बाल्यकालदेखि नै साहित्य र संगीतप्रति गहिरो रुचि राख्ने केशव राईले जीवनका सुख–दुःख, प्रेम, बिछोड, समाज, देशप्रेम र गाउँघरका यथार्थलाई सरल, भावपूर्ण र मार्मिक शब्दमा गीतमार्फत प्रस्तुत गर्दै आएका छन्। उनका सिर्जनामा नेपालीपनको सुगन्ध, मानवीय संवेदना र जीवनप्रतिको आशावाद स्पष्ट रूपमा झल्किन्छ।

उनका शब्दमा सिर्जना भएका “आँसुको भेल”, “गाउँबेसी”, “बाँचौँला हामी एकअर्को अँगाली” तथा “हर्क साम्पाङ आए अब देशको विकास हुन्छ” लगायतका गीतहरूले श्रोताको मन जित्न सफल भएका छन्। यी गीतमा नेपाली संगीत क्षेत्रका चर्चित गायक–गायिका तथा संगीतकारहरूको सहकार्य रहेको छ, जसले उनका सिर्जनालाई अझ प्रभावशाली बनाएको छ। केशव राईका गीतहरू केवल मनोरञ्जनका लागि मात्र होइनन्, ती जीवनका अनुभव, समाजप्रतिको उत्तरदायित्व, मातृभूमिप्रतिको माया र मानवीय सम्बन्धको गहिराइलाई उजागर गर्ने माध्यम पनि हुन्।
विदेशमा रहेर पनि नेपाली भाषा, साहित्य र संगीतको संरक्षण तथा प्रवर्द्धनमा उनको निरन्तर योगदान प्रशंसनीय छ। सिर्जनशीलता, मेहनत र नेपाली गीत–संगीतप्रतिको समर्पणका कारण गीतकार केशव राईले समकालीन नेपाली संगीत क्षेत्रमा आफ्नो छुट्टै पहिचान निर्माण गरिरहेका छन्। केशव भन्छन्, देश टाढा भए पनि मन सधैं आफ्नै माटोमा हुन्छ त्यसै भावनालाई शब्दमा उतार्नु नै मेरो गीत यात्राको प्रेरणा हो।


प्रतिक्रिया