बिशाल चौतारी समाचार
काठमाडौं, २०८२ असोज, ८ बुधवार। खोटाङ समाज हङकङले ‘हलेसी साँझ ५’ आयोजना गर्ने भएको छ। अक्टोबर १९ मा युन्लोङ थियटर हलमा ‘हलेसी साँझ ५’ भब्यताका साथ आयोजना गर्ने खोटाङ समाज हङकङका अध्यक्ष पेङ किराँत राईले बताए ।
अभिभावक विहीन र शिक्षाबाट वञ्चित बालबालिकाहरुलाई सहयोग गर्ने उद्देश्यले आयोजना गर्न लागिएको यस कार्यक्रमको प्रचार–प्रसार संगै तीव्र तयारी पारिएको छ। अध्यक्ष पेङ किराँतका अनुसार, पाँचौं संस्करणमा मेघा स्टार गायक, राई इज किङ राजेशपायल राई प्रमुख आकर्षणमा रहनेछन् । ‘हलेसी साँझ ५’मा राजेशपायलसँगै चर्चित पछिल्लो पुस्ताका गायिकाहरु रचना रिमाल, इन्द्रकला राई, मोनिका राई, गायक तथा हास्य कलाकार सिडी विजय अधिकारी, संगीतकार तथा गायक अनिल कोयी राई, डान्सर रेश्मा राई, अपर्णा राई, संम्युक्त स्टुडियो डान्सर ग्रुपको पनि प्रस्तुति रहनेछ। कार्यक्रमको उद्घोषण जीतकर्ण राई र पविता पुमा राईले गर्नेछन्।
अध्यक्ष पेङ किराँतले कार्यक्रमको बारेमा प्रष्ट्याउदै भने ‘हाम्रो यो साँझको मुख्य लक्ष्य भनेको शिक्षाबाट वञ्चित बालबालिकाहरूको भविष्य सुनिश्चित गर्न आर्थिक सहयोग जुटाउनु हो। हामीले विगतका कार्यक्रमहरूबाट पनि सामाजिक कार्यमा महत्वपूर्ण योगदान पुर्याउँदै आएका छौँ।’
प्रतिक्रिया