
बिशाल चौतारी समाचार
काठमाडौं, २०८३ असोज २३ शुक्रवार । चर्चित गायिका मेलिना राईका पिता तथा गायक, संगीतकार एवं संगीत गुरु जिबेस राईको असामयिक निधनपछि बेलायतमा आयोजना हुन लागेको ‘सुम्निमा साङ्गीतिक साँझ २०२६’ स्थगित गरिएको छ।
बेलायतको अल्डरशटस्थित एम्पायर हलमा आगामी अक्टोबर ९ (असोज २४) गते आयोजना गर्ने तय भएको उक्त कार्यक्रम पारिवारिक शोकका कारण स्थगित गरिएको आयोजकले जनाएको छ। मेलिना राई र जुनु राईका पिता जिबेस राईको निधनले परिवार, आफन्त तथा नेपाली संगीत क्षेत्रमा शोक छाएको छ।
सुम्निमा इभेन्ट्स, लुङ्टो क्रिएसन र इनास यूकेको संयुक्त आयोजनामा भोटेकोशी बाढीपीडितको सहयोगार्थ उक्त सांगीतिक कार्यक्रम आयोजना गर्न लागिएको थियो। बेलायतमा नेपाली संगीतप्रेमी दर्शकलाई एकै मञ्चमा लोकप्रिय कलाकारका प्रस्तुति प्रस्तुत गर्ने उद्देश्यसहित तयारी गरिएको कार्यक्रमको मुख्य आकर्षण गायिका मेलिना राई रहने तय भएको थियो।
कार्यक्रममा मेलिना राईसँगै ‘भ्वाइस अफ नेपाल’ सिजन ६ का उपविजेता रोशन राई, गायक प्रताप दास, गायिका पार्वती राई, सबिना योङहाङ, जानुका राई, अप्सरा घिमिरे र अभिनेत्री रजनी गुरुङ लगायतको प्रस्तुति दिने कार्यक्रम थियो।
आयोजक समितिले प्रेस विज्ञप्ति जारी गर्दै शोकसन्तप्त गायिका मेलिना राई तथा सम्पूर्ण परिवारप्रति गहिरो समवेदना व्यक्त गरेको छ। परिवारले भोगिरहेको दुःखद् परिस्थितिप्रति संवेदनशील हुँदै र प्रमुख कलाकार मेलिना राईको अनुपस्थितिमा कार्यक्रम आयोजना गर्नु उपयुक्त नहुने निष्कर्षसहित स्थगित गर्ने निर्णय गरिएको विज्ञप्तिमा उल्लेख छ।

आयोजकले मेलिना राईसहित सबै कलाकारको सहभागितामा कार्यक्रमलाई आगामी दिनमा अझ भव्य, व्यवस्थित र आत्मीय रूपमा पुनः आयोजना गर्ने प्रतिबद्धता जनाएको छ। कार्यक्रमको नयाँ मिति, समय र स्थानबारे आवश्यक तयारीपछि यथाशीघ्र जानकारी गराइने पनि आयोजकले स्पष्ट पारेको छ।
अचानक कार्यक्रम स्थगित गर्नुपर्दा दर्शक, प्रायोजक, सहकार्यकर्ता तथा शुभेच्छुकमा पर्न गएको असुविधाप्रति आयोजकले क्षमायाचना गरेको छ। साथै, यस कठिन घडीमा सबैबाट प्राप्त माया, साथ, सद्भाव र धैर्यताका लागि आभार व्यक्त गरेको छ।
बेलायतमा लामो समयपछि आयोजना हुन लागेको यस वृहत् सांगीतिक कार्यक्रमले नेपाली समुदायमा उत्साह जगाएको थियो। तर, पारिवारिक शोकका कारण कार्यक्रम स्थगित हुन पुगेपछि आयोजकले नयाँ मितिमा कार्यक्रम सम्पन्न गरी दर्शकको सांगीतिक चाहना पूरा गर्ने र भोटेकोशी बाढीपीडितलाई सहयोग गर्ने उद्देश्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ।
प्रतिक्रिया