Bisal Chautari Logo

‘कबड्डी ५ः आफ्टर द फाइनल म्याच’ को ट्रेलर सार्वजनिक

- २७ आश्विन २०८३, मंगलवार २३:१८ मा प्रकाशित


बिशाल चौतारी समाचार
काठमाडौं,२०८३ असोज २७ मंगलवार।
निर्देशक रामबाबु गुरुङको लेखन तथा निर्देशनमा बनेको सिनेमा ‘कबड्डी ५ः आफ्टर द फाइनल म्याच’ को ट्रेलर सार्वजनिक भएको छ । निर्माण टिमले ललितपुरको लबिम मलमा कार्यक्रम गर्दै सिनेमाको ट्रेलर सार्वजनिक गरेको हो ।

ट्रेलरमा काजीको वैवाहिक जीवन, मैया र काजीको सम्बन्धको नयाँ पाटाहरू र बिपीन कार्कीको भूमिकालाई टिजरभन्दा अझ बढी प्रस्ट र मनोरञ्जनात्मक रूपमा देखाइएको छ । ट्रेलरमा बेरोजगारीबाट दिक्क भएर काजी, बीके र छन्त्यालले मुस्ताङमा शान्ति होटल खोलेर नयाँ व्यवसाय सुरु गरेको देखाइएको छ । नयाँ व्यवसाय सुरु गरेपछि कथामा झन् ठूलो ट्विस्ट आउँछ, जहाँ सृजना गुरुङले निभाएको नयाँ मैयाको पात्रसँग काजीको विवाह भएको देखाइएको छ ।

यसका साथै काजीको टोली, र गाउँमा छिरेको बिपिन कार्कीको रैथाने गुन्डा समूहबीच हुने टक्कर, एक्सन र कमेडी शैलीका कारण ट्रेलर निकै धमाकेदार बनेको छ । साथै ट्रेलरको अन्त्यतिर काजी र मैया एउटै गाडीमा कतै गइरहेको दृश्यले दर्शकलाई थप कौतुहलता पैदा गर्ने देखिन्छ ।

यसअघि सार्वजनिक सिनेमाको टिजरमा पुरानै कथाको निरन्तरतामा काजी र मैयाको जीवनको नयाँ मोड, बीकेको प्रविधिसँगको रमाइलो सम्बन्ध, र विपिन कार्कीको जबर्जस्त इन्ट्रीले दर्शकहरूमाझ निकै उत्सुकता जगाएको थियो । टिजरमा धेरै दर्शकले मिरुना मगर अर्थात् सिनेमाकी पात्र शान्ति मिसको निकै खोजी गरेका थिए । ट्रेलरमा उनी पनि देखिएकी छन् ।  यसले सिनेमाको कथा ट्वीस्टमाथि ट्वीस्ट बनेको देखिन्छ ।

निर्देशक रामबाबु गुरुङको लेखन तथा निर्देशनमा बनेको सिनेमा ‘कबड्डी ५ः आफ्टर द फाइनल म्याच’ को ट्रेलर सार्वजनिक भएको छ । निर्माण टिमले ललितपुरको लबिम मलमा कार्यक्रम गर्दै सिनेमाको ट्रेलर सार्वजनिक गरेको हो ।

बासुरी फिल्म्सको प्रस्तुतिमा बनेको सिनेमामा निर्देशक गुरुङसहित मणिराम पोखरेल, मधु मिजार र विशाल गुरुङ (एलजी)ले लगानी गरेका छन् । सागर राज कार्यकारी निर्माता रहेको सिनेमामा कालीप्रसाद बास्कोटा, अधा सुर र झुमा लिम्बूको संगीत, सञ्जय लामाको छायांकन र सुरेन्द्र पौडेलको सम्पादन छ ।

सिनेमाको मुख्य सहायक निर्देशकमा सोमनाथ खनाल र तारानाथ न्यौपाने छन् । नेपालमा सिनेमाको वितरण ब्यांकटेश इन्टरटेनमेन्ट एन्ड टी फल्कले गर्नेछ भने विदेशी वितरणतर्फ सेभेन सिज इन्टरनेसनल रहेको छ ।

प्रतिक्रिया