Bisal Chautari Logo

‘कबड्डी ५ः आफ्टर द फाइनल म्याच’ दशैं टीकाको पर्सि, कार्तिक ६ गतेदेखि प्रदर्शन हुने

- २ आश्विन २०८३, शुक्रबार १८:०२ मा प्रकाशित


बिशाल चौतारी समाचार
काठमाडौं, २०८३ असोज २ शुक्रवार
नेपाली सिने जगतको सफल फ्रेन्चाइज ‘कबड्डी’को पाँचौँ शृङ्खला ‘कबड्डी ५ः आफ्टर द फाइनल म्याच’ आगामी दशैंको टीकाको पर्सिपल्ट अर्थात् कार्तिक ६ गतेदेखि सार्वजनिक प्रदर्शन हुने भएको छ । शुक्रबार निर्माण टिमले सिनेमाको फर्स्टलुक पोस्टर सार्वजनिक गर्दै कात्तिक ६ गतेलाई प्रदर्शन मिति घोषणा गरेको हो ।

पोस्टरमा सिनेमाका मुख्य पात्र काजी (दयाहाङ राई), बिके (विजय बराल) र छन्त्याल (बुद्धि तामाङ)को चारित्रिक भेषमा प्रस्तुत भएका छन् । पोस्टरमा काजी अर्थात् दयाहाङ पार्कको एउटा कुर्सीमा हातमा क्रिकेट ब्याट समातेर सोचमग्न भएर बसेका छन् । उनलाई बीके र छन्त्यालले गम्भीरतापूर्वक नियालिरहेको दृश्य दर्शकलाई कौतुहलता जगाउने किसिमको छ ।
यसअघि प्रदर्शनमा आएका ‘कबड्डी’ का चारै शृङ्खला बक्स अफिसमा ब्लकबस्टर बनिसकेका छन् । विशेष गरी यसको चौथो शृङ्खलाले करिब २२ करोड रुपैयाँको ऐतिहासिक ग्रस कलेक्सन गर्दै लामो समयसम्म सर्वाधिक कमाउने नेपाली सिनेमाको रेकर्ड आफ्नो नाममा सुरक्षित राखेको थियो ।

त्यही सफलता र ब्राण्ड भ्यालुलाई कायम राख्ने चुनौतीसहित पाँचौँ भाग तयार पारिएको हो । त्यसो त चौथो शृङ्खलालाई नै सिनेमाको फाइनल म्याच भनिएको थियो तर दर्शकको माग र विषयवस्तुमा पात्रहरूको कथा अधूरो रहन गएकाले त्यसलाई पूरा गर्न पाँचौं शृङ्खला ‘कबड्डी ५ः आफ्टर द फाइनल म्याच’ निर्माण गरेको सिनेमाका निर्देशक रामबाबु गुरुङले स्पष्ट पारेका छन् ।
यो सिनेमा केवल व्यावसायिक नाफा कमाउन वा ब्राण्ड बेच्न मात्र नभई विशुद्ध कथाको डिमाण्ड र पात्रहरूको अधुरो कथा पूरा गर्न बनाएको निर्माण टिमको दाबी छ ।
बासुरी फिल्म्सको प्रस्तुतिमा बनेको सिनेमा रामबाबु गुरुङको लेखन तथा निर्देशनमा बनेको हो । सिनेमामा दयाहाङ, विजय, बुद्धिसँगै विपीन कार्की, रिश्मा गुरुङ, सिर्जना गुरुङ, पुष्कर गुरुङ, कविता आले, अरुणा कार्की, शिशिर बाङ्देल, माओत्से गुरुङ, कमलमणि नेपाल, विष्णु मोक्‍तान, प्रमिला राई, सुरज यादव, रमेश बज्राचार्य, हरि मिजार, पञ्च सुब्बा गुरुङ, घनु जोशी, सुमित्रा पहिम, अनुप न्यौपाने, मधु मिजार, हेमन्त बुधाथोकी, सरोज अर्याल र शेखर चापागाईंको अभिनय रहेको छ ।
निर्देशक गुरुङसहित सिनेमामा मणिराम पोखरेल, मधु मिजार र विशाल गुरुङ (एलजी)ले लगानी गरेका छन् । सागर राज कार्यकारी निर्माता रहेको सिनेमामा कालीप्रसाद बास्कोटा, अधा सुर र झुमा लिम्बूको संगीत, सञ्जय लामाको छायांकन, सुरेन्द्र पौडेलको सम्पादन छ ।
सिनेमाको मुख्य सहायक निर्देशकमा सोमनाथ खनाल र तारानाथ न्यौपाने छन् । सिनेमालाई नेपालमा ब्याङ्कटेश इन्टरटेनमेन्ट एन्ड टी फल्कले वितरण गर्नेछ भने विदेश वितरणतर्फ सेभेन सिज इन्टरनेसनल रहेको छ ।

प्रतिक्रिया