Bisal Chautari Logo

अमेरिकामा नेपाली फिल्म ‘पार्वती’को दबदबा: सुरुवाती तीन दिन नै सबै शो हाउसफुल

- ३० भाद्र २०८३, मंगलवार २२:४७ मा प्रकाशित


बिशाल चौतारी समाचार
काठमाडौं, २०८३ भाद्र ३० मंगलवार।
गत शुक्रबारदेखि अमेरिकाका विभिन्न सहरमा प्रदर्शनमा आएको नेपाली चलचित्र ‘पार्वती’ सुरुवाती तीन दिन नै हाउसफुल भएको छ। ‘द माया डिजिटल युएसए’ले वितरण गरेको यस चलचित्रले प्रदर्शनको पहिलो दिनदेखि नै दर्शकको उल्लेखनीय साथ पाएको छ।

सेप्टेम्बर ११ देखि अमेरिकाका सिनमार्क टिनसल्टोन रोचेस्टर साँझ ६ बजे, मार्कस पिकरिङटन सिनेमा साँझ ६ : २०मा, एप्पल सिनेमाज ह्वाइट प्लेन्स साँझ ६ : ३० बजे र सिनमार्क कुयाहोगा फलस् एण्ड एक्सडी दिउँसो १ : २५ बजे  चलचित्र प्रदर्शन भइरहेको छ। हल पुगेका नेपाली दर्शकहरूले चलचित्रको कथावस्तुका साथै मुख्य अभिनेत्री नीता ढुङ्गाना र बालकलाकार अशोक दर्जीको अभिनयको उच्च प्रशंसा गरेका छन्।

विदेशमा रहेका नेपाली दर्शकबाट पाएको अगाध माया र सकारात्मक प्रतिक्रियाले अभिनेत्री तथा निर्देशक नीता ढुङ्गाना निकै उत्साहित रहेकी छन्। ‘मनदेखि बनाएको र फरक विषयवस्तुमा आधारित चलचित्रलाई दर्शकले रुचाउनुभएको छ, आगामी दिनमा पनि यस्तै साथ पाउने आशा छ’,उनले भनिन्।

हरिहर अधिकारी निर्माता र शंकर पाण्डे कार्यकारी निर्माता रहेको यस चलचित्रको कथा निर्देशक स्वयं नीताको हो भने पटकथा शिवम् अधिकारीले लेख्नुभएको हो। चलचित्रमा नीता र अशोकका साथै दीपाश्री निरौला, राज पंगेनी, दीप्त प्रकाश अधिकारी, सिरु बिष्ट, आशा पौडेल, सुवास गजुरेल, राधिका कँडेल र राजेन्द्र नेपालीलगायतका कलाकारको मुख्य अभिनय छ।

सुदीप बरालको छायाङ्कन, रामजी लामिछानेको नृत्य निर्देशन र साहिल खानको सम्पादन रहेको यस चलचित्रका ‘तुनाको रेल’ र ‘दिदी भाइ’ बोलका गीतहरू प्रदर्शनअघि नै निकै चर्चामा रहेका थिए। नेपालमा एफडी कम्पनी, एप्पल इन्टरटेनमेन्ट र रिच इन्टरटेनमेन्टले वितरण गरेको यस चलचित्रको डिजिटल अधिकार ओएसआर डिजिटलले खरिद गरेको छ।

प्रतिक्रिया