Bisal Chautari Logo

‘झिंगे दाउ २’ हेरे पछि फिल्मकर्मीको प्रशंसा रोकिएनन् , खुल्यो बुकिङ

- १ आश्विन २०८३, बिहीबार १२:१७ मा प्रकाशित


बिशाल चौतारी समाचार
काठमाडौं, २०८३ असोज १ बिहिवार।
भोलि शुक्रबारदेखि रिलिजमा आउन लागेको फिल्म ‘झिंगे दाउ २’को ललितपुरको लाबिम मलमा अवस्थित क्यूएफएक्समा प्रिमियर आयोजना गरिएको छ । फिल्मीकर्मी, पत्रकार तथा विभिन्न क्षेत्रका व्यक्तिहरुको उपस्थितीमा आयोजित प्रिमियरमा ‘झिंगे दाउ २’को खुलेरै तारिफ पाएको छ ।
फिल्म हेर्न पुगेका अधिकांश व्यक्तिहरुले यो फिल्मको कथावस्तु, मेकिङ, कलाकारको अभिनय, गीतसंगीतलाई उत्कृष्ट भनेका छन् । फिल्म हेर्न पुगेका निर्माता सरोज न्यौपानेले भने–‘यो फिल्मलाई मन मनैदेखि तारिफ गर्न चाहन्छु । निर्देशकले इमान्दार भएर फिल्म बनाउनुभएको छ । यो फिल्म तिहारसम्म चल्छ भन्ने मलाई लाग्छ ।’
यता, कलाकार जयकिशन बस्नेतले पनि ‘झिंगे दाउ २’ले पहिलो हाफमा हसाँएको र दोस्रो हाफमा रुवाएको तर्क गरे । केही फिल्म राम्रा र केही धेरै राम्रा हुने भन्दै उनले ‘झिंगे दाउ २’ धेरै राम्रो फिल्म भएको बताए । उनले, बाबु–आमाको साथमा फिल्म हेर्न सबैलाई आग्रह गरे ।
फिल्म हेरेपछि समिक्षक तथा फिल्म लेखक सामिप्यराज तिमिल्सिनाले पनि खुलेरै तारिफ गरेका छन् । उनले लेखेका छन्–‘झिंगेदाऊ २ – शब्दले मात्र हैन भावले पनि पूर्ण पारिवारिक, पूर्ण मनोरन्जक र मौलिक चलचित्र बनेको  छ । पिरियड सेटिङमा विश्वसनीय चलचित्र बनाउनु गाह्रो काम हो । चलचित्रले यो चुनौती स्वीकार गर्दै चलचित्र निर्माणलाई गम्भीर रुपमा लिन प्रेरित गर्छ ।’
कपनगढी सिनेमा प्रा.लि र फिल्म क्रिउ नेपाल प्रा.लिको व्यानरमा निर्माण भएको यो फिल्ममा ज्ञानेन्द्र देउजाको निर्देशन, सुलभ प्रतिक देउजा र समिक्षा देउजाको लगानी छ ।
रोशनी अधिकारी देउजा र नीतु श्रेष्ठ देउजा फिल्मका सह–निर्माता हुन् । विष्णु घिमिरे ‘कल्पित’को डीओपी रहेको फिल्ममा मित्र डी गुरुङको सम्पादन, अर्जुन पोखरेलको संगीत, रोशन श्रेष्ठको एक्सन छ । फिल्मका प्रोडक्सन हेड ईश्वर घिमिरे हुन् ।
फिल्ममा केकी र आँचलको साथमा महेश त्रिपाठी, कुशल बिष्ट, आर्यन सिग्देल, हिउँवाला गौतम, सरोज खनाल, बसुन्धरा भुषाल, चैत्यदेवी सिंह, संगम भण्डारी, विजय देउजा, अंशु महर्जन, अभयराज बराल, उत्तम केसी, आशा भुसाल लगायतका कलाकारहरुको अभिनय छ ।
परिच्छेद सेनको पटकथा तथा संवाद रहेको फिल्ममा गोविन्द फुयाँल र शिशिर चालिसेको लेखन छ ।
यो फिल्मको बुकिङ समेत खुलिसकेको छ । फिल्मले नेपालभरका हलमा उच्च शोज पाएको छ । प्रदर्शकहरुले यो फिल्ममाथि उच्च भरोसा राखेको देख्न सकिन्छ । फिल्मले सुखद ओपनिङ गर्ने विश्वास गरिएको छ ।
यसैबिच, फिल्मको प्रिमियरमा उत्कृष्ट प्रतिक्रिया आएपछि यसको जापान विक्री अधिकार विक्री भएको छ । 

प्रतिक्रिया