
बिशाल चौतारी समाचार
काठमाडौं, २०८३ भाद्र २७ शनिवार। हिजो शुक्रबारबाट देशभरका हलहरूमा एकसाथ प्रदर्शनमा आएको नेपाली चलचित्र ‘बेहुली’ले पहिलो दिन दर्शकको उत्कृष्ट साथ पाएको थियो भने शनिबार दर्शकको चाप अझ उच्च देखिएको छ । देशभरका करिब १०० शो बाट प्रदर्शन सुरु गरेको यस चलचित्रको माग उच्च भएपछि मल्टिप्लेक्स तथा एकल स्क्रिनहरूमा शो सङ्ख्या थप गरिएको छ । काठमाडौँका विभिन्न चलचित्र भवनहरूमा पुगेर मुख्य कलाकारहरू पारस बम ठकुरी, दिव्या रायमाझी, सुशान्त कार्की, पदम तामाङ र सन्तोष बानियाँ लगायतको टोलीले दर्शकहरूसँग साक्षात्कार गरिरहेको छ । सो क्रममा दर्शकहरूबाट चलचित्रले निकै सकारात्मक र उत्साहजनक प्रतिक्रिया पाइरहेको निर्माण पक्षले जनाएको छ ।
चलचित्रको प्रतिक्षित व्यावसायिक सफलता र प्रदर्शनीबारे प्रस्तुतकर्ता अर्जुन पोखरेलले एउटा स्तरीय र दर्शकले रुचाउने कथावस्तुमा चलचित्र बनाएको कारण दर्शकको रोजाइमा परेको बताएका छन् । यस्तै चलचित्रका वितरक गोविन्द शाहीले शनिबार बिदाको दिन भएकाले हलहरूमा दर्शकको ओइरो नै लागेको बताए । उनले भने, “चलचित्र ‘बेहुली’ले प्रदर्शनको पहिलो दिन शुक्रबार निकै सुखद व्यापार गरेको थियो । शनिबार बिदाको दिन भएकाले हलहरूमा दर्शकको ओइरो नै लागेको छ । हामीले देशभर करिब १०० शोबाट चलचित्रको प्रदर्शन सुरु गरेका थियौँ, तर दर्शकको उच्च माग र चापलाई मध्यनजर गर्दै हल सञ्चालकहरूसँगको समन्वयमा प्रदर्शनीकै दिन थप शोहरू उपलब्ध गराएका छौँ ।”
यो चलचित्रले हाम्रो समाजभित्रको यथार्थ भावना, युवा-युवतीको मनोभाव र परिवारको मार्मिक कथालाई पर्दामा उतारेको छ। यस चलचित्रलाई माधव शर्माले लेखन तथा शशान कँडेलले निर्देशन गरेका हुन्ग । चलचित्रका प्रस्तुतकर्ता अर्जुन पोखरेल र निर्माता प्रताप शमशेर राणा हुन् । कार्यकारी निर्मातामा शङ्कर कोइराला र रमेश सिलवाल, सह-निर्माता दुर्गा खरेल र शिशिर श्रेष्ठ हुन् ।
प्रतिक्रिया