Bisal Chautari Logo

‘कार्की साइँला’को प्रचार छाडेर राहतमा जुटिन् अभिनेत्री प्रियना

- १९ भाद्र २०८३, शुक्रबार १८:२२ मा प्रकाशित


बिशाल चौतारी समाचार
काठमाडौं, २०८३ भाद्र १९ शुक्रवार।
रसुवास्थित भोटेकोशी नदीमा आएको भिषण बाढीका कारण हजारौँ मानिसको जनधनको क्षति हुनुका साथै धेरैजसोको गाँस, बास र कपास नै खोसिएको छ। यस्तो विपद्को घडीमा फिल्म ‘कार्की साइँला’की अभिनेत्री प्रियना आचार्य राहत सामाग्री बोकेर प्रभावित क्षेत्र नुवाकोट तथा रसुवा पुगेकी छन्।

बाढीपीडितको सहयोगका लागि प्रियनाले आफ्नै व्यक्तिगत पहलमा ५ गाडी राहत सामग्री त्यसतर्फ पठाएकी हुन्। पीडितहरूका लागि आवश्यक पर्ने खाद्यान्न तथा अन्य सामग्री जुटाएर पठाइएको अभिनेत्री आचार्यले जानकारी दिइन्। उनले भनिन्, “अहिले फिल्मको प्रचारप्रसारभन्दा पनि बाढीका कारण बिचल्लीमा परेका मानिसहरूलाई राहतको खाँचो छ। त्यसैले अहिले म पूर्ण रूपमा यसै अभियानमा सक्रिय भएर लागेकी छु।”

उनी अभिनित फिल्म ‘कार्की साइँला’ आगामी असोज २ गतेदेखि देशभरका सिनेमाघरमा प्रदर्शन हुँदैछ। फिल्म हलमा लाग्न दुई साता पनि बाँकी नरहेको अवस्थामा प्रचारमा जुट्नुपर्ने भए पनि उनले यतिबेला मानवीय सहायतालाई प्राथमिकता दिएकी हुन्।

भारी बोकेर जीविकोपार्जन गर्ने कार्की साइँलाको कथामा आधारित यस फिल्ममा जितु नेपाल र प्रियना आचार्यको मुख्य भूमिका रहेको छ। फिल्मको पहिले नै रिलिज भइसकेको गीत ‘लग्यौ परान’लाई दर्शकले निकै रुचाएका छन् भने गीतसँगै जितु र प्रियनाको जोडीको पनि व्यापक चर्चा भइरहेको छ।

फिल्ममा सुशील पोखरेल, बीरेन्द्र सिंह कुशवाहा, मान्शी शर्मा, मनिल तामाङ, दिप्सन लिम्बू, कमल देवकोटा, रोदा राई, मेनुका आचार्य र गणेश राजभण्डारी लगायतका कलाकारको समेत अभिनय रहेको छ।

डम्बर राईको कथामा बनेको यस फिल्मलाई राजेन्द्र बस्नेतले निर्देशन गरेका हुन्। शंकर धिताल र सबिन अधिकारीले संयुक्त रूपमा पटकथा तथा संवाद तयार पारेको फिल्मका निर्माता बाल कुमार राई र निर्भिक बञ्जारा हुन् भने कार्यकारी निर्माता अनन्त राई हुन्।

डम्बर राई र नारायण गुरुङको छायाङ्कन रहेको फिल्मलाई सन्देश शाहले सम्पादन तथा सन्दीप डाङ्गीले सह(सम्पादन गरेका छन्। ग्लोबल रिल मोशन पिक्चर्सले पोस्ट प्रोडक्सनको काम गरेको यस फिल्मको डिजिटल पार्टनर मुभिज डिजिटेनमेन्ट रहेको छ भने वितरण कुबेर फिल्मस्ले गर्दैछ।

प्रतिक्रिया