
बिशाल चौतारी समाचार
काठमाडौं, २०८३ श्रावण ३१ आइतवार। इन्फा इभेन्ट्स यूके तथा इन्फा इन्फा इभेन्ट्स नेपालको संयुक्त आयोजनामा तेस्रो अन्तर्राष्ट्रिय नेपाली फिल्म अवार्ड ९इन्फा अवार्ड्स नेपाल–२०२६० शनिवार काठमाडौंमा भव्य रूपमा सम्पन्न भएको छ । नेपाली फिल्म क्षेत्रका कलाकार, निर्देशक, निर्माता, संगीतकर्मी तथा प्राविधिकहरूको सहभागितामा सम्पन्न अवार्ड समारोहमा ‘ऊनको स्विटर’ ले सर्वाधिक नौ अवार्ड जित्दै आफ्नो दबदबा कायम गरेको छ ।
इन्फा इभेन्ट्स यूकेका अध्यक्ष उमेश राज मोक्तानलाई जुरी प्यानल ९हरिहर शर्मा, गौरी मल्ल, रमेश बुढाथोकी तथा करुण थापा० लाई इन्फा अवार्ड–२०२६ को शिलबन्दी नतिजा हस्तान्तरणपछि औपचारिका पाएको समारोहमा नेपाली फिल्म क्षेत्रका अधिकांश लोकप्रिय अनुहारहरुको उपस्थिति रहेको थियो ।

राष्ट्रिय गानको सामुहित प्रस्तुतिपछि दिवंगत अभिनेता सुनिल थापाप्रति समर्पित श्रव्य–दृष्य सामग्री प्रदर्शन पश्चात मनोरञ्जनात्मक कार्यक्रमसहित अवार्ड वितरण समारोह अगाडि बढेको थियो ।
अघिल्ला दुई संस्करणका अवार्ड बेलायतमा भव्यता पूर्वक आयोजना गरेर तेस्रो संस्करण काठमाडौंमा आयोजित गरिएको यो वर्षको अवार्डमा नविन चौहानद्वारा निर्देशित फिल्म ‘ऊनको स्विटर’ ले उत्कृष्ट फिल्म, उत्कृष्ट निर्देशक, उत्कृष्ट अभिनेता, उत्कृष्ट अभिनेत्री, उत्कृष्ट पार्श्व गायिका, उत्कृष्ट पार्श्व गायक, उत्कृष्ट गीतकार, उत्कृष्ट संगीतकार र उत्कृष्ट पटकथा गरी महत्वपूर्ण नौ विधामा अवार्ड जितेको छ ।
यस वर्षको इन्फा अवार्ड्सको परिणाम हेर्दा ‘ऊनको स्विटर’ स्पष्ट रूपमा सबैभन्दा सफल फिल्म बनेको छ । उत्कृष्ट फिल्म र उत्कृष्ट निर्देशकसहित अभिनय, गायन, संगीत तथा लेखनका महत्वपूर्ण विधामा अवार्ड जित्दै फिल्मले आफ्नो प्रभाव स्थापित गरेको छ । विशेषगरी विपिन कार्की र मिरुना मगरको उत्कृष्ट अभिनय, नवीन चौहानको निर्देशन, झुमा लिम्बु र सुजन चापागाईंको गायन तथा हर्क साउदको गीत लेखनले फिल्मलाई अवार्ड समारोहमा बलियो बनाएको देखिन्छ ।
यस्तै ‘जेरीः अन टप’ले छायांकन, सम्पादन र सह–अभिनेत्री विधामा सफलता हासिल गरेको छ भने ‘द ब्लू लाइट’ ले पार्श्व संगीत र खलपात्र विधामा अवार्ड जितेको छ ।
समारोहमा ‘ऊनको स्विटर’ ले उत्कृष्ट फिल्मको अवार्ड जित्दा निर्देशकतर्फ पनि नवीन चौहान नै उत्कृष्ट घोषित भए । यो फिल्मबाट मिरुना मगर उत्कृष्ट अभिनेत्री घोषित भइन् । त्यस्तै ‘ऊनको स्विटर’ को ‘काफ्ले’ गीतका लागि झुमा लिम्बु उत्कृष्ट पार्श्व गायिका र ‘फूलहरू’ का लागि सुजन चापागाईं उत्कृष्ट पार्श्व गायक घोषित भए । ‘फूलहरू’ गीतकै लागि हर्क साउदले उत्कृष्ट गीतकारको अवार्ड हात पारे । पटकथातर्फ पनि ‘ऊनको स्विटर’ कै नवीन चौहान र सुरज उत्कृष्ट घोषित भए ।

उत्कृष्ट अभिनेतामा नीर शाह र विपिन कार्की
इन्फा अवार्ड्स २०२६ मा उत्कृष्ट अभिनेता विधामा नीर शाह र विपिन कार्की संयुक्त विजेता बनेका छन् । फिल्म ‘परान’ बाट नीर शाह र ‘ऊनको स्विटर’ बाट विपिन कार्कीले उत्कृष्ट अभिनेताको अवार्ड प्राप्त गरेका हुन् । दुवै कलाकारले आ–आफ्नो फिल्ममा गरेको प्रभावशाली अभिनयका लागि यो सम्मान प्राप्त गरेका हुन् । यससँगै ‘ऊनको स्विटर’ ले अभिनयतर्फ पनि आफ्नो बलियो उपस्थिति कायम राखेको छ।
मिरुना मगर उत्कृष्ट अभिनेत्री
‘ऊनको स्विटर’ बाट मिरुना मगर उत्कृष्ट अभिनेत्री घोषित भएकी छिन् । यो फिल्ममा उनको अभिनयलाई दर्शक तथा समीक्षकले समेत रुचाएका थिए । यस अवार्डसँगै ‘ऊनको स्विटर’ले उत्कृष्ट फिल्म, निर्देशक, अभिनेता र अभिनेत्रीमध्ये अधिकांश प्रमुख विधामा प्रभाव जमाएको छ ।
चरित्र अभिनयमा लक्ष्मी गिरी र सन्तोष पन्त
चरित्र अभिनेत्रीको अवार्ड लक्ष्मी गिरीले फिल्म ‘श्री बुकुरो’बाट प्राप्त गरिन् । त्यस्तै सन्तोष पन्त फिल्म ‘हर्ष’ बाट उत्कृष्ट चरित्र अभिनेता घोषित भए । अनुभवी कलाकारद्वय गिरी र पन्तले नेपाली फिल्ममा चरित्र भूमिकामार्फत पुर्याएको योगदान र उनीहरूको प्रभावशाली अभिनयका लागि अवार्ड प्राप्त गरेका हुन् ।
द्वन्द निर्देशनमा श्री श्रेष्ठ
‘राम नाम सत्य’ बाट श्री श्रेष्ठले उत्कृष्ट द्वन्द्व निर्देशकको अवार्ड जितेका छन् । यो फिल्मको द्वन्द तथा एक्सन दृश्यलाई प्रभावकारी रूपमा प्रस्तुत गरेबापत श्रेष्ठलाई उक्त विधामा सम्मान गरिएको हो ।
उत्कृष्ट खलपात्रमा श्रृष्टि श्रेष्ठ
इन्फा अवार्ड्समा यस वर्षको उत्कृष्ट खलपात्रको अवार्ड भने श्रृष्टि श्रेष्ठले फिल्म ‘द ब्लू लाइट’ बाट प्राप्त गरेकी छिन् । खलपात्रको भूमिकामा उनको प्रस्तुतिलाई अवार्ड निर्णायकहरूले उत्कृष्ट ठहर गरेका हुन् ।
छायांकन र सम्पादनमा ‘जेरीः अन टप’को सफलता
प्राविधक विधामा ‘जेरीः अन टप’ ले उल्लेखनीय सफलता हासिल गरेको छ । यो फिल्मबाट निमेष रेग्मी उत्कृष्ट छायांकार घोषित भए भने निमेष श्रेष्ठले उत्कृष्ट सम्पादनको अवार्ड जितेका छन् । त्यस्तै ‘जेरीः अन टप’ बाटै आँचल शर्मा उत्कृष्ट सह–अभिनेत्री घोषित भएकी छन्।
सह–अभिनेतामा प्रकाश दाहाल
‘अभिमन्यू’ बाट प्रकाश दाहालले उत्कृष्ट सह–अभिनेताको अवार्ड जितेका छन् । यो फिल्ममा उनले निर्वाह गरेको भूमिकाका लागि दाहाललाई यो सम्मान प्रदान गरिएको हो ।
नव–अभिनेतामा विमोचन दवाडी, नव–अभिनेत्रीमा श्यामश्री शेर्पा
इन्फा अवार्ड्स २०२६ मा नयाँ पुस्ताका कलाकारलाई पनि पुरस्कृत गरिएको छ । ‘माइतीघर’ बाट श्यामश्री शेर्पा उत्कृष्ट नव–अभिनेत्री घोषित भएकी छिन् । त्यस्तै ‘झरीपछिको इन्द्रेणी’ बाट विमोचन दवाडी उत्कृष्ट नव–अभिनेता घोषित भएका छन् । नयाँ पुस्ताका कलाकारको अभिनय यात्रालाई प्रोत्साहन गर्ने उद्देश्यले प्रदान गरिने यी विधाका अवार्डलाई नेपाली चलचित्र क्षेत्रमा महत्वपूर्ण मानिन्छ।
पार्श्व संगीतमा ‘द ब्लू लाइट’
‘द ब्लू लाइट’ बाट मोह श्रेष्ठले उत्कृष्ट पार्श्व संगीतको अवार्ड जितेका छन् । यो फिल्मको कथालाई भावनात्मक रूपमा थप प्रभावकारी बनाउन पार्श्व संगीतले खेलेको भूमिकाको मूल्यांकन गर्दै श्रेष्ठलाई उक्त अवार्ड प्रदान गरिएको हो ।
नृत्य निर्देशनमा रामजी लामिछाने
‘मोहर’ फिल्मको ‘चाहिँदैन मोहर’ गीतका लागि रामजी लामिछाने उत्कृष्ट नृत्य निर्देशक घोषित भएका छन् । गीतको कोरियोग्राफी तथा नृत्य प्रस्तुतिका लागि लामिछानेले इन्फा अवार्ड हात पारेका हुन् ।
इन्फा अवार्ड्स नेपाल–२०२६: सम्पूर्ण विजेता सूची
१. उत्कृष्ट चलचित्र
ऊनको स्विटर- आर्टमाण्डु नेपाल
२. उत्कृष्ट निर्देशक
नवीन चौहान- ‘ऊनको स्विटर’
३. उत्कृष्ट अभिनेता
नीर शाह- ‘परान’
विपिन कार्की- ‘ऊनको स्विटर’
४. उत्कृष्ट अभिनेत्री
मिरुना मगर- ‘ऊनको स्विटर’
५. उत्कृष्ट चरित्र अभिनेत्री
लक्ष्मी गिरी- ‘श्री बुकुरो’
६. उत्कृष्ट चरित्र अभिनेता
सन्तोष पन्त- ‘हर्ष’
७. उत्कृष्ट द्वन्द्व निर्देशक
श्री श्रेष्ठ- ‘राम नाम सत्य’
८. उत्कृष्ट खलपात्र
श्रृष्टि श्रेष्ठ- ‘द ब्लू लाइट’
९. उत्कृष्ट छायांकार
निमेष रेग्मी- ‘जेरीः अन टप’
१०. उत्कृष्ट सह–अभिनेता
प्रकाश दाहाल- ‘अभिमन्यू’
११. उत्कृष्ट सह–अभिनेत्री
आँचल शर्मा- ‘जेरीः अन टप’
१२. उत्कृष्ट पार्श्व संगीत
मोहक श्रेष्ठ- ‘द ब्लू लाइट’
१३. उत्कृष्ट नव–अभिनेत्री
श्यामश्री शेर्पा- ‘माइतीघर’
१४. उत्कृष्ट नव–अभिनेता
विमोचन दवाडी- ‘झरीपछिको इन्द्रेणी’
१५. उत्कृष्ट पार्श्व गायिका
झुमा लिम्बु- ‘ऊनको स्विटर’ (काफ्ले)
१६. उत्कृष्ट पार्श्व गायक
सुजन चापागाईं- ‘ऊनको स्विटर’(९फूलहरू)
१७. उत्कृष्ट गीतकार
हर्क साउद- ‘ऊनको स्विटर’ (फूलहरू)
१८. उत्कृष्ट पटकथा
नवीन चौहान र सुरज- ‘ऊनको स्विटर’
१९. उत्कृष्ट सम्पादन
निमेष श्रेष्ठ- ‘जेरीः अन टप’
२०. उत्कृष्ट नृत्य निर्देशक
रामजी लामिछाने- ‘मोहर’ (चाहिँदैन मोहर)
जुरी अवार्ड
जुरी अवार्ड अभिनेता
सौगात मल्ल, सिटामोल
जुरी अवार्ड निर्देशक
सुदीप्ता अधिकारी, रमिताको पिरती
जुरी अवार्ड चलचित्र
समुद्र भट्ट, गुन्यु चोलो
मदनकृष्ण श्रेष्ठलाई लाइफ टाइम एचिभमेन्ट अवार्ड
समारोहको विशेष आकर्षणका रूपमा लोकप्रिय कलाकार मदनकृष्ण श्रेष्ठलाई १ लाख ११ हजार १ सय ११ रुपैयाँ नगद राशिसहित लाइफ टाइम एचिभमेन्ट अवार्ड प्रदान गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि काठमाडौं महानगरपालिकाका कार्यवाहक मेयर सुनिता डंगोल, इन्फा इभेन्ट्स यूकेका बोर्ड निर्देशक निर्देशक टंक भट्टराईसहितका व्यक्तित्वहरूले कलाकार श्रेष्ठलाई दोसल्ला ओढाएर ताम्रपत्रसहित उक्त सम्मान अर्पण गरेका थिए । लाइफ टाइम एचिभ्मेन्ट्स अवार्डलाई ओमेगा इनकर्पोरेशन्सले प्रायोजना गरेको छ ।
कविता नेपाललाई पर्फमर अफ द इयर
समारोहमा अभिनेत्री कविता नेपाललाई ‘पर्फमर अफ द इयर’ अवार्ड प्रदान गरिएको थियो। त्यस्तै अभिनेत्री उषा उप्रेतीले ‘इन्करेजमेन्ट अवार्ड’ प्राप्त गरिन् । अभिनेत्री जस्सिता गुरुङले ‘जेरीः अन टप’बाट लोकप्रिय अभिनेत्रीको अवार्ड जितिन् भने अभिनेता पल शाह लोकप्रिय अभिनेता घोषित भए।
तीन चलचित्रकर्मीलाई जुरी अवार्ड
जुरी अवार्डतर्फ ‘रमिताको पिरती’ की निर्देशक सुदिप्ता अधिकारी, ‘सिटामोल’का सौगात मल्ल तथा ‘गुन्हचोली’की निर्देशक समुद्र भट्ट पुरस्कृत भए ।
यसैगरी कान्स अवार्डमा उत्कृष्ट सफलता हासिल गरेको नेपाली फिल्म ‘एलिफेन्टस इन द फग’लाई विशेष सम्मान गरिएको थियो ।
सांगीतिक तथा मनोरञ्जनात्मक प्रस्तुतिले जम्यो समारोह
सन्दिप क्षेत्री तथा ओशिन सिटौलाले रमाइलो शैलीमा सञ्चालन गरेको समारोहमा सांगीतिक प्रस्तुति, नृत्य तथा हास्यव्यङ्ग्य प्रस्तुतिले दर्शकको मन जितेको थियो ।
विशेषगरी कार्यक्रम प्रस्तोता सन्दिप क्षेत्रीले वरिष्ठ अभिनेता नीर शाहकै अगाडि उनकै भेषभूषामा प्रस्तुत गरेको प्रस्तुति दर्शकका लागि आकर्षणको केन्द्र बनेको थियो । त्यस्तै ‘कमेडी दरबार’का कलाकारहरूको प्रस्तुति पनि आकर्षक रहेको थियो।
समारोहमा दीया मास्के, पल शाह, कविता नेपाल, उषा उप्रेती, तेरिया मगर, एलिशा शर्मा, समर्पण लगायतका कलाकारले विभिन्न प्रस्तुति दिएका थिए । संगीतकर्मी बाबुल गिरी तथा रिहानको सांगीतिक प्रस्तुतिले पनि दर्शकको मन जितेको थियो ।
इन्फा अवार्ड्सले नेपाली फिल्म क्षेत्रका कलाकार तथा प्राविधिकहरूको सिर्जनात्मक योगदानलाई सम्मान गर्दै नेपाली चलचित्रको अन्तर्राष्ट्रिय पहिचान र बजार विस्तारमा समेत जोड दिँदै आएको छ ।
यस वर्षको समारोहले स्थापित कलाकारदेखि नयाँ पुस्ताका प्रतिभासम्मलाई एउटै मञ्चमा सम्मान गर्दै नेपाली चलचित्र क्षेत्रको विविधता, सिर्जनशीलता र सम्भावनालाई पुनः उजागर गरेको छ ।
समारोहमा इन्फा इभेन्ट्स यूकेका बोर्ड निर्देशक आशिष पन्तले कार्यक्रमको आन्तरिक व्यवस्थापनदेखि कार्यक्रमको प्रारम्भदेखि स्क्रिप्ट लेखनसम्मको जिम्मेवारी पूरा गरेका थिए ।
बोर्ड निर्देशक पाल्देन लामाले दिए धन्यवाद
कार्यक्रमको अन्त्यमा आयोजक संस्था इन्फा इभेन्ट्स यूकेका बोर्ड निर्देशक पाल्देन लामाले समारोहमा उपस्थित सम्पूर्ण कलाकार तथा दर्शकलाई हार्दिक धन्यवाद ज्ञापन गरे । नेपालमा पहिलो पटक आयोजना गरिएको अवार्डलाई भव्य रूपमा सम्पन्न गर्न पाएकोमा उनले आयोजकका तर्फबाट सबैप्रति आभार व्यक्त गरेका थिए ।
प्रतिक्रिया