Bisal Chautari Logo

‘साम्राज्य’मा सौगात र दयाहाङपछि नाजिर अनुबन्ध

- ३१ श्रावण २०८३, आईतवार २२:०४ मा प्रकाशित


बिशाल चौतारी समाचार
काठमाडौं, २०८३ श्रावण ३१ आइतवार।
 निर्देशक सौरभ चौधरीले नयाँ चलचित्र ‘द राइज अफ साम्राज्य’मा भर्सटाइल अभिनेता नाजिर हुसेनलाई अनुबन्ध गराएका छन् । अभिनेता सौगात मल्ल र दयाहाङ राईपछि मुख्य भूमिकामा नाजिरले यो सिनेमामा प्रवेश गरेका हुन् ।

नाजिरसँग सौरभले यसअघि पनि सहकार्य गरिसकेका छन् । सौगातको ‘अगस्त्य’मा नाजिरले काम गरेका थिए ।

“नाजिर आफैँमा भर्सटाइल अभिनेता हुन् । हामीले अब्बल कलाकार लिने क्रममा नाजिरसँग पनि यो चलचित्रमा सहकार्य गर्ने भएका छौँ,” निर्देशक सौरभ भन्छन्, “सौगात र दयाहाङ जस्तै नाजिरलाई पनि यो चलचित्रमा एक मुख्य कलाकारका रूपमा देख्न सकिनेछ ।”

सौगात, दयाहाङ र नाजिरपछि यस्तै अब्बल कलाकार अझै पनि सिनेमामा जोडिनेक्रम जारी नै रहने सौरभले बताएका छन् ।

डार्क हर्स इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुन लागेको यो चलचित्र मल्टिस्टार बन्ने यो लाइनअपल देखाइरहेको छ ।

यो चलचित्रमा उपन्यासकार बुद्धिसागरले कथा र पटकथा लेखेका छन् । यो चलचित्र ‘एपिक एक्सन ड्रामा’ हुने निर्देशक चौधरीको भनाइ छ ।

सौरभ चौधरी यसपटक पहिलेको तुलनामा अझ ठूलो क्यानभासमा फिल्म बनाउने योजनामा छन् । यो नेपाली सिनेमाकै ठूलो स्केलको एक्सन चलचित्र हुने निर्माण पक्षको दाबी छ ।

चलचित्रको छायांकन आगामी भदौ पहिलो साताबाट सुरु हुनेछ । निर्माण टिमले ७० दिनको छायांकन तालिका तयार पारेको छ, जसको अधिकांश हिस्सा पूर्वी नेपालमा खिचिनेछ ।

यो चलचित्रको निर्मातामा प्रवेश चौधरी र निला देव रहेका छन् । को–प्रोडुसरमा विश्वास बस्नेत (बेन) र कार्यकारी निर्मातामा शंकर पाण्डे छन् ।

मानकृष्ण महर्जनको डीओपी रहने यो चलचित्रको एक्सन डिरेक्टरमा श्री श्रेष्ठ छन् । डिजिटल पाटर्नरमा ओएसआर डिजिटल रहेको छ भने पब्लिसिटी पार्टनरमा टौवा स्टुडियो छ । यो चलचित्रको वितरकमा डिसीएन रहेको छ ।

प्रतिक्रिया