Bisal Chautari Logo

‘माया भनेकै यस्तो होला’मा प्रेम’ र ‘विवाह’बीचको अन्तर र द्वन्द्व

- २९ श्रावण २०८३, शुक्रबार १९:२८ मा प्रकाशित


बिशाल चौतारी समाचार
काठमाडौं, २०८३ श्रावण २९ शुक्रवार।
लामो समयपछि निर्देशनमा फर्किएकी रेखा थापाको चलचित्र ‘माया भनेकै यस्तो होला’को टिजरले पूर्ण प्रेमकथाको संकेत गरेको छ । सार्वजनिक टिजरले चलचित्रको कथा प्रेम’ र ‘विवाह’ बीचको अन्तर र द्वन्द्वलाई केन्द्रमा राखेको छ ।

विपरीतलिंगीप्रतिको आकर्षण, प्रेम, विश्वास, विवाह, बाध्यता र धोकालाई टिजरले प्राथमिकता दिएको छ । भावनात्मक अन्तरद्वन्द्व र सिनेमाको मुख्य ‘ट्विस्ट’ रहेको टिजरले संकेत गरेको छ ।

कवितात्मक लयबाट सुरु हुने टिजरमा संवाद छ, ‘जुन केटीसँग म विवाह गर्न आएँ, उनी त्यो थिइनन्, जसलाई मैले माया गरेको थिएँ ।’ यसले बाध्यता र विवशताको पनि संकेत गर्छ, जुन कुरा टिजरमा देखिने महिला पात्रहरू र मुख्य पुरुष पात्रको दृश्य, संवाद र अभिनयले पनि प्रस्ट पार्छ ।

टिजर अनुसार अभिनेता दिल श्रेष्ठको जीवनमा दुई युवतीको प्रवेश हुन्छ, नीति शाह र सृष्टि श्रेष्ठ । सुरुवातमा दील र नीतिको प्रेमलाई रोमान्टिक शैलीमा देखाइएको छ । उनीहरू सँगै हाँसेका, रमाएका र भविष्यको सपना बुनेका दृश्यहरू छन् । तर, कथामा यस्तो मोड आउँछ जहाँ दिल श्रेष्ठ विवाहको मण्डपमा त पुग्छन्, तर उनको अगाडि उनले चाहेकी प्रेमिका हुन्नन् ।

टिजरले दर्शकलाई एउटा प्रश्न छाडेको छ, के नीतिको ठाउँमा अचानक सृष्टिको प्रवेश भएको हो ? वा सृष्टि र नीति दिदी–बहिनी हुन् ? टिजरमा कलाकारहरू रोएको, मदनकृष्ण श्रेष्ठ गम्भीर मुद्रामा देखिएको र पारिवारिक तनावका दृश्यहरूले ‘बाध्यता’ वा ‘धोका’बीच विवाह भएको त होइन भन्ने आशंका गर्ने ठाउँ छोडेको छ ।

टिजरमा नीतिलाई चञ्चल र प्रेमिल अवतारमा देखाइएको छ । सृष्टि श्रेष्ठको भूमिका केही गम्भीर र रहस्यमय देखिएको छ । अर्की अभिनेत्री नम्रता श्रेष्ठको उपस्थितिले पनि कथामा नयाँ आयाम थपेको छ ।

टिजरले सिनेमाको कथा सरल रेखामा नबगेर प्रशस्त ट्विस्ट रहेको देखाएको छ, जसले दर्शकलाई बाँधेर राख्ने क्षमता राखोस् ।

निर्देशक रेखा थापाले यसअघिका चलचित्रमा ‘एक्सन’ र ‘नारी शक्ति’लाई बढी प्राथमिकता दिने गरे पनि यस पटक उनले ‘इमोसनल ड्रामा’लाई रोजेकी छिन् । टिजरमा प्रयोग गरिएका संवादहरू, ‘खुसी मेरो आँखामा देखियोस्, पीडा तिम्रो मनमा भए आँसु मेरै आँखाले बगाओस्’ ले चलचित्रमा इमोस्नल इलिमेन्ट रहेको दर्शाउँछ ।

दिल श्रेष्ठले आफ्नो साँचो प्रेम पाउलान् वा उनले आफ्नो प्रेमको बलिदानी दिनेछन् ? यसको उत्तरका लागि भने फिल्म नै कुर्नुपर्नेछ ।

सुदीप बरालको सिनेमाटोग्राफीले हरेक दृश्यलाई जीवन्त बनाउने प्रयास गरेको छ । भदौ २६ गते रिलिज हुने यो चलचित्रले प्रेममा परेकाहरू मात्र होइन, परिवारका सदस्यहरूलाई पनि हलसम्म तान्ने निर्माणपक्षको दाबी छ ।

चलचित्रमा वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ, दिल श्रेष्ठ, पूर्व मिस नेपालहरू सृष्टि श्रेष्ठ, नम्रता श्रेष्ठ र पूर्वमिस नेपाल इन्टरनेसनल नीति शाहको मुख्य भूमिकामा छन् । लक्ष्मी गिरी, राजाराम पौडेल, विशाल पहाडी, संगम भण्डारी, सुजाता श्रेष्ठ र बिनोद पौडेललगायतको पनि अभिनय रहेको छ ।

‘दिया एण्ड अमु फिल्मस्’को ब्यानरमा निर्माण भएको चलचित्रमा हरि नारायण श्रेष्ठ, माया देवी श्रेष्ठ, नवराज श्रेष्ठ, जस्मिन श्रेष्ठ र प्रकाश श्रेष्ठ निर्माता छन् ।

यस चलचित्रले सुमधुर प्रेम कथाका माध्यमबाट सामाजिक भावना र परिवेशलाई उठान गर्नेछ । ध्रुव लम्सालको पटकथा लेखन रहेको छ ।

सुदीप बरालको छायांकन रहेको चलचित्रमा अनिरुद्ध आत्रेय प्रमुख सहायक निर्देशक, राजन घिमिरे फिल्म संयोजक, संगीत प्रशान्त सिवाकोटी, ड्रेस डिजाइनर सुजेनी मल्ल, मेकअप प्रिया कार्की, प्रोडक्सन चुडामणी (सीएम) छन् ।

यो चलचित्रलाई देशभरका प्रमुख वितरक कम्पनीहरू रीच इन्टरटेन्मेन्ट, एप्पल इन्टरटेन्मेन्ट र एफडी कम्पनीले वितरणको जिम्मा लिएका छन् ।

प्रतिक्रिया