Bisal Chautari Logo

हाम्रो समाज :– दाइजोको निहुमा गर्भवतिलाई जिउँदै आगो लगाइयो

- २२ बैशाख २०७१, सोमबार १९:२८ मा प्रकाशित


nepali society
नेपालगन्ज, २०७१ बैशाख, २२, सोमबार । 
लक्ष्मणपुर–८ की २२ वर्षीया रिहाना बानोलाई उनका श्रीमान् फरिद शेषले दाइजोको निहुँदमा शरीरमा मट्टितेल छर्केर आगो लगाएको खुलेको छ । चैत ३ गते घरमा दाइजोको विवाद झिकेर श्रीमाणले कम्मरभन्दा तलको भागमा मट्टिेतेल छर्केर आगो लगाएको बानोले सुनाइन् । जब कि उनी त्यस बेला गर्भवती थिइन् ।
रिहानाको कम्मरभन्दा तलतिरको ३३ प्रतिशत भाग जलेको नेपालगन्जस्थित भेरी अञ्चल अस्पतालले जनाएको छ । करिब दुई सातासम्म उत्त अस्पतालमा उपचार गरिए पनि निको नभएपछि थप उपचारका लागि रिहानालाई सोमबार राजधानीको वीर अस्पताल पठाइएको छ । उनको उपचारका लागि आथिर्क सहयोग जुटाउन माइती पक्षले अधिकारकर्मीसँग हारगुहार गरेपछि सोमबार मात्र उक्त घटना सार्वजनिक भएको हो । 
रिहाना आफ्नो उपचार भइरहेका बेला सुत्केरी भएकी थिइन् । उनको बच्चाको भने एक साताअघि मृत्यु भइसकेको छ । ‘मोटरसाइकल र भैंसी दाइजो दिनुपर्छ भन्दै धेरै पहिलाबाट दु:ख दिँदै आएका थिए,’ उपचारका लागि काठमाडौं लैजानुअघि नेपालगन्जमा पीडित रिहानाले भनिन्, ‘चैत ३ गते त मट्टितेल छर्केर आगो नै लगाए । पछाडि हात बाँधेर आगो लगाएका थिए ।’

रिहाना भन्छिन् – ‘मोटरसाइकल र भैंसी दाइजो दिनुपर्छ भन्दै धेरै पहिलाबाट दु:ख दिँदै आएका थिए । चैत ३ गते त मट्टितेल छर्केर आगो नै लगाए । पछाडि हात बाँधेर आगो लगाएका थिए ।’


आगो लगाएपछि श्रीमाणले नै उपचारका लागि भारतको बहराइच पुर्‍याएका थिए । घटनालाई लुकाउनका लागि नेपालगन्जमा राम्रो अस्पताल हुँदाहुँदै बहराइच लगिएको रिहानाकी आमा नसिद शेष बानोले बताइन् । भनिन्, ‘बहराइचमा १५ दिनजति राखेर उपचारका नाममा मलमपट्टी लगाएर घर फर्काए ।’ राम्रो उपचार नपाउँदा छोरीको स्वास्थ्य खराब भएपछि आफूले भेरी अञ्चल अस्पतालमा ल्याएको उनले जानकारी दिइन् ।
माइती पक्षले फरिदविरुद्ध उजुरी दर्ता गरेपछि कारबाही प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय बाँकेका डीएसपी प्रेम बस्नेतले जानकारी दिएका छन् । उनले घटनाको अनुसन्धान भइरहेको र आरोपित व्यक्ति पक्राउ परिनसकेकाले अहिले नै केही बताउन नसकिने उल्लेख गरे । प्रहरी दैनिक फरिदको घरमा पुगे पनि उनलाई भेट्टाउन सकेका छैनन् । 
माइती पक्षले फरिदका परिवारले केही राजनीतिक दलका नेताहरुको आडमा घटनालाई लुकाउन खोजेको आरोप लगाएका छन् । रिहानाकी आमा नसिदले भनिन्, ‘टुक्कीबाट सल्किएर आगो लागेको हो भन्न बनाउन खोजिरहेका छन् ।’ उनले दोषीलाई कडा कारवाही गर्न माग गरेकी छन् । 
भेरी अञ्चल अस्पतालका प्रमुख डाक्टर पीताम्बर सुवेदीले रिहानाको समस्या जटिल भएकाले थप उपचारका लागि काठमाडौं रिफर गरिएको जानकारी दिएका छन् । जिल्ला प्रशासन कार्यालय बाँके, महिला तथा बालबालिका कार्यालय, इन्सेक, साथी संस्था, फातिमा फाउन्डेसन, एकल महिला सञ्जाललगायत संघसंस्थाले सहयोग गरेपछि उनलाई काठमाडौं पठाइएको हो । (पुलेसो डटकम साभार)

ad

प्रतिक्रिया