aaryan sigdel and namrata shrestha movie classic
विशाल चौतारी समाचार
काडमाडौ, २०७२ बैशाख २, बुधबार । अभिनेता आर्यन सिग्देलले निर्माता सुवास गिरीसँग सहकार्य गर्दै निर्माण गर्न लागेको दोश्रो फिल्म ‘क्लासिक’को घोषणा गरिएको छ । सोमबार काठमाण्डौमा आयोजित कार्यक्रममा निर्माता गिरीका बुबाले पानसमा दिप प्रज्वल गर्दै फिल्म घोषणा कार्यक्रमको उद्घाटन गरेका थिए ।
फिल्म क्लासिकलाई दिनेश राउतले निर्देशन गर्दैछन् । उनले यसअघि यही टिमसँग मिलेर नोभेम्बर रेन निर्देशन गरेका थिए । आँखा देख्न नसक्नेहरुको सांगीतिक प्रेम कथामा तयार हुन लागेको फिल्ममा छेतन गुरुङले कथा लेखेका छन् । फिल्ममा ताराप्रकाश लिम्बुको संगीत, राजेश श्रेष्ठको छायांकन, हिमाल केसीको द्धन्द्ध, नितिन चन्दको नृत्य निर्देशन, सुरेन्द्र पौडेलको सम्पादन रहनेछ । कमल गिरी कार्यकारी निर्माता रहेको फिल्ममा जिवन भाई लाइन निर्माता छन् ।
फिल्ममा आर्यन सिग्देल, नम्रता श्रेष्ठ, समुना केसी, प्रज्वल गिरी, सुशिल काफ्ले, सुनिल रावल, पल शाह, शिशिर रानाको मुख्य भूमिका रहेनछ । वैशाख १५ गतेबाट छायांकन प्रारम्भ हुने फिल्मको प्रदर्शन माघ २९ गते गरिने निर्माता गिरीले जानकारी दिएका छन् ।
आशिष पौडेलको पहिरन डिजाइन, विजय सुवेदी ‘आवाज’को मिडिया संयोजन रहने चलचित्रमा अतुल मैनाली ब्रान्ड म्यानेजर, सूर्य बुढोथोकी प्रोडक्शन म्यानेजर, शान थापाको सह निर्देशन, दिनेश रावतको मुख्य सहायक निर्देशन रहनेछ । चलचित्रको कार्यकारी निर्माता कमल गिरी हुन् ।
कार्यक्रममा बोल्दै निर्देशक दिनेश राउतले क्लासिकलाई सांगीतिक प्रेम कथामा निर्माण गर्ने बताए । नायक तथा निर्माता आर्यन सिग्देलले दर्शकले नोभेम्बर रेनमा दर्शाएको भरोसालाई यो फिल्ममा पनि पूर्ती गर्ने बताए । अभिनेत्री नम्रता श्रेष्ठले क्लासिकमा काम गर्दा आफू उत्साहित भएको बताइन् । निर्माता सुवास गिरीले फिल्म क्लासिकको तर्फबाट आँखा देख्न नसक्ने विद्यार्थीको शिक्षामा सहयोग गर्ने बताए । उनले सुवास इन्टरटेन्मेन्टले हरेक बर्ष शिक्षामा लगानी गर्ने बताए ।
कार्यक्रममा सुवास इन्टरटेन्मेन्टले फिल्म नोभेम्बर रेनको तर्फबाट सिन्धुलीको कमला बहुमुखी क्याम्पसलाई नगद १ लाख रुपैयाँसहयोग गरेको थियो ।
प्रतिक्रिया