Bisal Chautari Logo

बेलायतमा ‘सुम्निमा साँझ’ हुँदै, कोच र कन्टेस्टेन्ट मेलिना राई र रोशन राई एउटै मञ्चमा गुञ्जिदै

- ९ आश्विन २०८३, शुक्रबार १८:२३ मा प्रकाशित


बिशाल चौतारी समाचार
काठमाडौं, २०८३ असोज ९ शुक्रवार ।
बेलायतमा नेपाली संगीतप्रेमीलाई लक्षित गर्दै आगामी अक्टोबर ९ तारिख ‘सुम्निमा साँझ’ विशेष सांगीतिक कार्यक्रम आयोजना हुने भएको छ। एल्डर्सस्थित एम्पायर हलमा हुने कार्यक्रममा नेपाली सांगीतिक क्षेत्रका चर्चित कलाकारहरूले विशेष प्रस्तुति दिने आयोजकले जनाएको छ।
लुङ्टो क्रिएसन, सुम्निमा इभेन्ट, ईफ्लेक्स इन्टरटेनमेन्ट र इनाश यूकेको संयुक्त आयोजनामा हुन लागेको कार्यक्रममा द भ्वाइस अफ नेपाल सिजन ६की कोच तथा चर्चित गायिका मेलिना राई र सोही सिजनका फाइनलिस्ट तथा उपविजेता रोशन राई लगायत अन्य कलाकारहरूको प्रस्तुति रहनेछ।

विशेषगरी कोच र कन्टेस्टेन्टका रूपमा चर्चित मेलिना राई र रोशन राई एउटै मञ्चमा प्रस्तुत हुने भएकाले कार्यक्रम थप आकर्षणको केन्द्र बन्ने अपेक्षा गरिएको छ।
कार्यक्रमलाई सुशील नेपालले सञ्चालन गर्नेछन् भने नेपालबाट कलाकारहरूको समन्वय ईफ्लेक्स इन्टरटेनमेन्टका प्रोप्राइटर अजेेश पौडेलले गरिरहेका छन्। बेलायतमा रहेर व्यवसाय गर्दै आएका सचिन बुढाथोकी र रमेश श्रेष्ठको समेत कार्यक्रम व्यवस्थापनमा सहकार्य रहेको आयोजकले जनाएको छ।
यस सांगीतिक कार्यक्रमलाई मनोरञ्जनसँगै सामाजिक उत्तरदायित्वसँग पनि जोडिएको छ। आयोजकहरूले कार्यक्रमबाट प्राप्त आम्दानीको ५ प्रतिशत रकम भोटेकोशी बाढीपीडित परिवारलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
नेपाली संगीत, कला र संस्कृतिलाई बेलायतमा प्रवर्द्धन गर्ने उद्देश्यसहित आयोजना हुन लागेको ‘सुम्निमा साँझ’ले बेलायतमा रहेका नेपाली दर्शक–श्रोतामाझ विशेष सांगीतिक माहोल सिर्जना गर्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया