
बिशाल चौतारी समाचार
काठमाडौं, २०८३ असोज ८ बिहिवार। प्रदर्शनको सम्मुखमा रहेको फिल्म ‘जदौ’ को सोमबार सार्वजनीक ‘एक्सटेन्डेड ट्रेलर’ ले अहिले चर्चा पाइरहेको छ । अन्तरजातीय प्रेमसम्बन्धले परिवार,समाजमा परेको असर,पात्रहरुले प्रेमप्राप्तिका लागि गर्नु परेको संघर्ष र द्वन्द्वको चित्रण देखिने साढे दुई लामो ट्रेलरलाई दर्शकले उत्कृष्ट प्रतिकृया दिएका छन् ।
यही शुक्रबार अर्थात ९ असोजबाट देशब्यापी प्रदर्शनमा आउन लागेको ‘जदौ’ लाई अन्जन शर्मा र काजी लिम्बूले निर्देशन गरेका हुन् । मुकुन भुसाल,ऋचा शर्मा,नीति शाह,प्रभातपल ठकुरी,बिनोद न्यौपाने,खड्गबहादुर पुन लगायतका कलाकारले अभिनय गरेको फिल्मको ट्रेलरमा प्रस्तुत गरिएका संवादहरुले अहिले सामाजीक संजालमा चर्चा पाएका छन् ।
ड्रेस सिलाउन आएकी नीतिलाई मुकुनले ‘म बमबहादुर,थर बर्देवा,गोत्र काश्यप..यहाँको नि ?’ भनेर सोध्दा नीतिले–‘लुगा सिलाउनलाई जात र थर पनि चाहिन्छ र..?’ भनेको संवादले फिल्मको अन्तरबस्तुको झल्को दिएको छ । त्यसैगरी, प्रभात पलले नीतिलाई,–‘म बिना एक्लै बाँच्न सक्छौ ?’ भनेर दर्शाएको प्रेममा नीतिले आफ्नो आमा र दाईको अगाडि पोखेको पीडा,–‘बाँच्न सिक्नुपर्छ,जातको कारणले हाम्रो बिहे हुन सक्दैन रे..’ होस् या प्रभातले आक्रोशयुक्त पीडामा बोलेको,–‘हो हो हो म दमइ हो..’ भन्ने संवाद ले अहिले नेपाली समाजमा यद्यपी ब्याप्त रहेको जातीय उचनिचको बिदेभ प्रष्ट्याएको छ । जसले गर्दा ‘जदौ’ को बिषयबस्तुको गहनता र गहिराइप्रति दर्शकमा ब्याग्रता बढाएको छ ।
नेपाली फिल्म केवल मनोरञ्जनका लागि मात्र होइन, समाजका लागि केही सकारात्मक सन्देशसमेत प्रदान गरुन भन्ने मनसाय लेखक समेत रहेका निर्देशक लिम्बूको छ । उनले आफूले नेपाली समाजमा देखि,भोगीरहेको जातीय भेदभाव,कुरितको बिरुद्ध यो फिल्ममार्फत आवाज बुलन्द गर्न खोजेको बताएका छन् भने अर्का निर्देशक अन्जनले ‘जदौ’ हेर्ने मात्र नभइ महसुस र मनन गर्ने चलचित्र बनेको बताउदै आएका छन् । फिल्मको शीर्ष गीत–जदौ हजुर पछि रोमान्टिक गीत–तिमीसँग नबोली..हिट भइरहेको बेलामा प्रिति कौरले लेखेको ट्रेलरमा समाबेश–‘रागले पोल्यो जातको,चलेन पानी यी हातको..’ गीतले समेत दर्शकको ध्यान तानेको छ । दर्शक,स्रोताले उक्त गीत पूरा सुन्न चाहेको प्रतिक्रिया ब्यक्त गरेका छन् ।
प्रदर्शनको सम्मुख आउदा प्रचारप्रचारमा निकै तातेको ‘जदौ’ ले एकैप्रकारका फिल्म हेरिरहेका दर्शकलाई नौले संसारमा बिचरण गराउने आँकलन गर्न सकिन्छ । शान्ति पुडासैनीको कार्यकारी निर्माता रहेको फिल्मको निर्मातामा सृजना शर्मा,मनिष शर्मा र डिल्लीराज पोखरेल छन् । राजाराम सुवेदी,दीपक पोखरेल,नारायण शास्त्री र सुमीत्रा देवकोटा सहनिर्माता अनि बिमला भण्डारी कन्सेप्ट डिजाइनर रहेको फिल्मलाई एनसिजीएनले बितरण गर्दैछ ।
प्रतिक्रिया