tara thapa and suk gurung Remedial Help and honor America
विशाल चौतारी समाचार / तस्बिर : विशाल राई
काठमाडौ, २०७१, चैत ८, आइतबार । चर्चित गायिका तारा थापा र चर्चित संगीतकार सुक गुरुङलाई अमेरिकामा बसोबास गर्दै आएको नेपाली कलाकारहरुको संगठन नेपाली अमेरिकन कलाकार संघले ५ लाख ९५ हजार नेपाली रुपैयाँ सहयोग नगद प्रदान गरेको छ । राजधानीमा आज एक पत्रकार सम्मेलनको आयोजना गरी संघको संस्थापक अध्यक्ष गौरी मल्ल एवं कार्यक्रमका विशिष्ट अतिथि मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको हातबाट उक्त रकम प्रदान गरिएको हो । साथमा दुई स्रष्ठा नै सम्मानपनि भएका छन् ।
केही समयअघि अमेरिकाको न्यूयोर्कमा आयोजना गरिएको थापा र गुरुङको सहयोगार्थ सांस्कृतिक कार्यक्रमबाट उठेको रकमबाट खर्च कटौती गरी थापा र गुरुङको उपचार खर्चका लागि उक्त सहयोग रकम पठाइएको हो ।
कलाकार संघबाट पठाइएको रकमबाट ४० प्रतिशत रकम (२३८००० रुपैयाँ) गायिका तारा थापालाई प्रदान गरियो भने ६० प्रतिशत रकम (३५७००० रुपैयाँ) संगीतकार एवं गीतकार सुक गुरुङलाई प्रदान गरिएको थियो । स्रष्ठा थापा र गुरुङलाई नगद रुपैयाँको साथमा सम्मान पनि गरिएको थियो ।
कार्यक्रमको सुरुवातमा अमेरिकन कलाकार संघका तर्फबाट अध्यक्ष गम्बू शेर्पाले थापा र गुरुङको सहयोगार्थ आफूहरुले गरेको कार्यक्रमबाट सहयोग पठाइएको बारे बोलेको अडियो प्रसारण गरिएको थियो ।
चर्चित गायिका तारा थापाको फुल झरेपनि काडा झदैन, म मरेपनि मेरो माया मदैन, कटर कटरमा, सयौ थरी बाजा एउटै चाल, जस्ता मर्मस्पर्शी एवं सदाबहार गीतहरु रहेका छन् । गायिका थापा क्यान्सर रोगबाट पीडित छिन् । सम्मान तथा सहयोग हस्तान्तरण कार्यक्रममलाई सम्बोधन गर्दै गायिका थापाले साङगीतिक क्षेत्रमा स्रष्ठा पिडित हुदा सरकारले नहेरेपनि विभिन्न संघ सस्थाले सहयोग गरिरहेको बताइन् ।
त्यस्तै चर्चित गीतकार तथा संगीतकार सुक गुरुङको छेक्यो छेक्यो, आँखैमा झलझली, भाइटिकामा भेट्न आउँला लगायत दर्जनौं गीतहरु सदाबहार रहेका छन् । सफल शब्द तथा संगीतकार सुक गुरुङ अहिले मृगौला रोगबाट पीडित रहेका छन् । उनी मधुमेह र सुगरका कारण दुवै आँखा नदेख्ने बनेका छने भने दुबै मृगौलाले काम गर्न छाडेको छ । कार्यक्रममा बोल्दै गुरुङले सम्मान तथा सहयोगका लागी धन्यवाद सहित आफ्नो भनाई राखेका थिए ।
कार्यक्रममा प्रमुख अतिथी मह जोडी मध्येका मदनकृष्ण श्रेष्ठले आफ्नो घरमा श्रीमतीको रोगका बारेमा सुनाउँदै थापा र गुरुङको शीघ्र स्वास्थ्य लाभको कामना गरे । त्यस्तै गीतकार संघ नेपालका अध्यक्ष योगेन्द्रमणि दाहाल, सांगीतिक संघकी संस्थापक अध्यक्ष मिरा राणा, चलचित्र कलाकार संघका अध्यक्ष नवल खड्का लगायतले पनि कार्यक्रममा आफ्नो कुरा राख्दै सरकारी क्षेत्रबाट पनि सहयोगको अपेक्षा गर्दै आफूहरुले सक्दो सहयोग गर्ने प्रतिबद्धताका साथै शीघ्र स्वास्थ्यलाभको कामना गरे ।
आरजे, भिजे तथा कलाकार समेत रहेका सरोज केसीले संचालन गरेका कार्यक्रममा गायन संघका उपाध्यक्ष राई नविन, प्रस्तोता समाजका अध्यक्ष हेमन्त शर्मा, संगीतकार संघ नेपालका अध्यक्ष लक्ष्मण शेष, लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका अध्यक्ष चन्द्र शर्मा लगायतका अतिथिहरुको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया