Bisal Chautari Logo

राजनको ‘दमिनी भीर’लाई मदन पुरस्कार

- ५ आश्विन २०७०, शनिबार १७:५९ मा प्रकाशित


    सीमान्तकृत वर्गको आवाज सार्थक भएको लेखकको महसुस       

ब्रेकर :–‘सीमान्तकृत वर्गको आवाजलाई मैले साहित्यिक आन्दोलनको क्रममा उठाएको सार्थक भएको मैले महसुस गरेको छु ।’५ आश्विन, काठमाडौ । साहित्यकार राजन मुकारुङको ‘दमिनी भीर’ले २०६९ सालको मदन पुरस्कार प्राप्त गरेको छ । ३८ वर्षीय मुकारुङले पुरस्कारबाट आफ्नो १५ वर्षदेखिको सिर्जनशील अराजकता’ आन्दोलनले मान्यता पाएको अनुभूति आफूले गरेको प्रतिक्रिया दिए । यो पुरस्कार आफुले नभएर, दमिनी भीर उपन्यासका रियल पात्रहरुले पाएकाको बताए । उनले भने, ‘सीमान्तकृत वर्गको आवाजलाई मैले साहित्यिक आन्दोलनको क्रममा उठाएको सार्थक भएको मैले महसुस गरेको छु ।’

यो उपन्यास फिनिक्स प्रकाशनले छापेको हो । पुरस्कार प्राप्त गरेको आफूले पत्याउनै नसकेको प्रतिक्रिया उपन्यासकार मुकारुङले दिए । मुकारुङले भने–‘मेरो पुरानो नम्बर पनि फेरिएको छ, एकैचोटि साथीभाइले ट्रयाक गरेर पुरस्कार पाइस् भन्दै बधाई दिँदा मैले पत्याउनै सकिरहेको थिईन ।’ सेतो पाटिसंग मदन पुरस्कार पाएपछि बोल्दै आफू कहिल्यै पुरस्कारका लागि नहिँडेको उल्लेख गर्दै मुकारुङले आफूलाई मदन पुरस्कार एकदमै आश्चर्यका रुपमा प्राप्त भएको बताए । भोजपुर दिल्पामा जन्मेका मुकारुङको यसअघि ‘हेत्छाकुप्पा’ उपन्यास प्रकाशित भएको थियो । कलेज पढ्दै गरेका चार जना युवकले खोलेको फिनिक्स प्रकाशनको पहिलो उपन्यासले नै मदन पुरस्कार प्राप्त गरेपछि प्रकाशक टोलीको भुइँमा खुट्टा छैन । प्रकाशन गृह खोलेको छोटो समयमै हाम्रो उपन्यासले मदन पुरस्कार पाउँदा हामी एकदमै उत्साहित छौं,” फिनिक्सका जगदीश अधिकारीले भने । मदन पुरस्कार पुस्तकालयका अनुसार मुकारुङको ‘दमिनी भीर’लाई गत वर्ष प्रकाशित भएका पुस्तकहरमध्ये उत्कृष्ट भएको निर्णय गर्दै मदन पुरस्कार दिने घोषणा शनिबार भएको हो । पुरस्कारको राषि २ लाख रहेको छ । 

प्रतिक्रिया