Bisal Chautari Logo

खोटाङको खानीडाँडा विमानस्थलमा बल्ल कालोपत्र सुरु

- १० आश्विन २०७०, बिहीबार १०:०० मा प्रकाशित


EXCLUSIVE  NEWS 
१० असोज, खोटाङ । खोटाङको सदरमुकाम दिक्तेल नजिक रहेको मनमायाँ राई खानीडाँडा विमानस्थलमा कालोपत्रेको काम बल्ल शुरु भएको छ । हिलाम्मे र धुलाम्मे अवस्थामा सञ्चालन हुँदै आएको विमानस्थल नेपाल नागरिक उड्यन प्राधिकरणको ६ करोड ८० लाखको लगानीमा कालोपत्रेको काम शुरु भएको हो ।khanidanda airport khotangशेर्पा पिल्लर कन्ट्रक्सन प्रालिले जिम्मा लिएको कालोपत्रेको काम आगामी चैत मसान्त सम्ममा निर्माण कार्य सम्पन्न गरिने निर्माण उपभोक्ता समितिका अध्यक्ष दुर्गा घिमिरेले जानकारी दिए । अध्यक्ष घिमिरेका अनुसार उक्त विमानस्थलमा हाल गिटी फुटाउने, गाह्रो लगाउने, भित्ता खार्ने र बालुवा आसार्ने काम भइरहेको छ । जिल्लाका तीन विमानस्थलहरुमध्ये सदरमुकाम दिक्तेलबाट सबैभन्दा नजिक पर्ने खानीडाँडा विमानस्थल कालोपत्रेपछि प्रभावकारी बन्ने अपेक्षा गरिएको छ । खोटाङबासीको आफ्नै पहलमा निर्माण गरिएको खानीडाँडा विमानस्थलमा नेपाल एयरलाईन्स, अग्नी र तारा एयरलाईन्सले उडान भर्दै आएको थियो । कच्ची अवस्थामा रहेको उक्त विमानस्थलमा वर्षामा पसेको भलबाढीले धावनमार्ग अवरुद्ध बनाएपछि गत असार–१५ गतेदेखि उडान बन्द भएको छ । बन्द रहेको उक्त विमानस्थलमा कालोपत्रेको कामसँगै केही दिनमा नै उडान शुरु गरिने अध्यक्ष घिमिरेले जानकारी दिए । 
जिल्ला अस्पतालबाट रेफर गरिएका विरामीहरु बढी मारमा परेकाले कालोपत्रेका कामसँगै उडान पनि शुचारु गरिने अध्यक्ष घिमिरेको भनाइ छ । उनका अनुसार अस्पतालबाट रेफर गरिएका विरामीका लागि चर्को मुल्य तिरेर हेलिकोप्टर चार्टर गर्नुपर्ने बाध्यता रहेकाले उडान शुचारु गर्ने तयारी गरिएको हो । जिल्लाका लामीडाँडा र थामखर्क विमानस्थल सदरमुकाम दिक्तेलदेखि टाढा भएपछि सबैको पायक पर्ने खानीडाँडा विमानस्थलमा कालोपत्रेको काम थालिएको जनाइएको छ । विशेषगरि जिल्ला अस्पतालबाट रेफर गरिएका बिरामीलाई मध्यनजर गर्दै उक्त विमानस्थलमा कालोपत्रेका काम थालिएको हो । खोटाङ भौगोलिक बिकटता भएको जिल्ला भएकाले सर्वसाधारणको समस्यालाई मध्यनजर गर्दै कोलोपत्रेको कामलाई अवरोध नपुग्नेगरि उडानलाई निरन्तरता दिन निर्माण उपभोक्ता समितिलाई निर्देशन दिएको प्रमुख जिल्ला अधिकारी दिनपकराज नेपालले बताए । उनले भने, ‘ठूलो मात्रामा हेलिकोपटर चार्टर गर्नुपर्ने बाध्यता भएकाले धावन मार्ग बाहेकका ठाउँमा काम हुँदै गर्दा उडान भर्ने वातावरण मिलाउन भनेको छु ।’ स्रोता : हाम्रो खोटाङ 

प्रतिक्रिया