Bisal Chautari Logo

सुशिल भए ११ औ संस्करणको मस्टर हङकङ २०१३

- १० आश्विन २०७०, बिहीबार १६:०० मा प्रकाशित


मिस्टर हङकङ नेपाल प्रतियोगितामा पहिलो पटक सहभागी भएका सुसील नेवाले उपाधि जितेका छन् । बुधबार राती हङकङमा भएको प्रतियोगितामा ४१ वर्षीय नेवाले मिस्टर हङकङ नेपाल २०१३ को उपाधीसँगै १४ हजार हङकङ डलर हात पारेका छन् । मैतीदेवी काठमाडौंका ७२ किलोका नेवाले ‘वेष्ट पोज’ मा पनि कब्जा जमाएका छन् ।प्रतियोगितामा दोस्रो भएका सजिव राईले आठ हजार र तेस्रो स्थानमा आएका रोशन थापामगरले ६ हजार डलर पाए । खुल्ला तौल समूहमा शत्ति लामा, दिपेन पोमु र उत्तम पुन क्रमश: चौथो, पाचौँ र छैठौँ स्थान भएका थिए । शत्ति लामाले जितेको नोभोइस समूहमा उत्तम पुन दोस्रो, दिपेन पोमु तेस्रो र रेशम रानामगर चौथो स्थानमा आए । चाइना बडी बिल्डिङ एसोसियसनका तामकोक वाई, लाउवाई मिङ र क्वान चुन वाहको समूहले यो निर्णय दिएको हो । आयोजक हङकङ नेपाल बडी बिल्डिङ एसोसिएसनले यस पटक पनि प्रशिक्षणका लागि धर्मश्री विजेता सानु गुरुङ र पूर्व मिष्टर हङकङ नेपाल शम्भु तामाङलाई निम्त्याएको थियो । १९९८ मा शुरु भएको प्रतियोगिताको यो ११ औँ संस्करण हो । आइतबारका लागि तय गरिएको प्रतियोगिता समुद्री आँधीका कारण बुधबार सारिएको थियो ।
विजेता खेलाडीलाई नेपाल चेम्बर अफ कमर्श हङकङका अध्यक्ष डाशुराम पराजुली, हङकङ नेपाली महासंघका अध्यक्ष प्रदीप थापामगर, एनआरएन हङकङका अध्यक्ष दुर्गा गुरुङ लगायतले उपाधी र पुरस्कार प्रदान गरे । नेपालको राष्ट्रिय गानबाट शुरु भएको प्रतियोगितामा काठमाडौँबाट निम्त्याइएका अभिनेत्री सुष्मा कार्की, गायिका ज्योति थापामगर, स्थानीय गायकद्धय राज तामाङ र श्याम गुरुङ लगायतले प्रस्तुती दिएका थिए ।

प्रतिक्रिया