Bisal Chautari Logo

नेपाली कलाकारहरुको आस्था एकातिर प्रचार अर्कै दलतिर

- १ मंसिर २०७०, शनिबार ०८:१७ मा प्रकाशित


विमल योगी
काठमाडौं, २९ कात्तिक । चुनावी प्रचार सामग्रीमा भोट माग्ने कलाकारहरु व्यक्तिगत स्वार्थका लागि बिभिन्न राजनीतिक दलमा आबद्ध हुनु अनौठो होइन । तर, आस्था राख्ने पार्टीभन्दा पल्लो राजनीतिक दल र तिनका उम्मेदवारलाई खुलेर मत माग्ने गरेको बाक्लै देखिने गरेको छ ।
राम्रा कलाकारमा गनिने सुरवीर पण्डित एमाओवादी कार्यकर्ता भएका छन् । उनी कलाकारको झुण्डसहित एमाओवादीमा प्रवेश गरेको धैरै भएको छैन । पण्डितले एमाओवादीका पक्षमा भोट माग्ने गरेका छन् । रेडियो नाटक, चलचित्रका साथै टेलिभिजन कार्यक्रममा देखिएका कलाकार पण्डितले चुनावी प्रचार सामग्रीमा एमालेलाई भोट मागेका छन् । तर, उनी एमाओवादीमा आस्था राख्छन् । प्रचार सामाग्रीमा अभिनय गरे वापत रकम पाए पछि आफ्नो आस्था भूलेर एमालेलाई भोट मागेका हुन् । उनको सो कार्यले एमाले कार्यकर्तालाई ठेस पुगेको गुनासो पनि आउन थालेको छन् । उनी हालै एमाओवादीको सदस्यता लिन सोही पार्टीको टीका लगाएका छन् । दृश्य प्रचार सामाग्रीमा एमालेको गुणगाउँदै भोट मागे पनि कलाकार पण्डितको भोट एमालेमा जाने छैन ।
हुन त कलाकार पण्डित मात्रै यस्तो ‘दुई चरित्रका कलाकार’ होइनन् । उदित नारायण झापनि एमाओवादीलाई भोट माग्ने गायकमा पर्छन् । उनले एमाओवादीका लागि गीत मार्फत भोट मागेका छन् । त्यसवापत उनले रकम लिएका छन् । मुम्बईमा बसोवास गर्ने गायक झाले संगीतकार चेतन सापकोटाको संगीतमा स्वर दिएर एमाओवादीलाई भोट मागेका हुन् । नायक भुवन केसीपनि एमालेका समानुपातिकका उम्मेदवार हुन् । यद्यपि उनले केही समय अघि राप्रपा नेपालका काठमाडौं क्षेत्र नम्बर चारका उम्मेदवार उद्धव पौडेलको पक्षमा मत माग्दै हिडेका थिए । फिल्मकर्मी पौडेल गोपीकृष्ण हलका पुर्व मालिक हुन् । टिभी फिल्मी र गोपीकृष्ण एफ.एम. र जेके फिल्मि अनलाईन उनकै थियो । जव पौडेल  राप्रमा प्रवेश गर्ने भएपछि उनले आफ्नी छोरीलाई यि सबै हक प्रदान गरेका थिए ।
चलचित्रकर्मी पौडेलले आफ्नो प्रभावमा पारेर नायक/नायिकालाई भोट माग्नका लागि साथ हिडाउने गरेको आरोप पनि लागेको छ । उनलाई साथ दिन कलाकार आफै पुग्ने गरेपछि पौडेलले किन सहयोग लिन पछि हट्थे । एमाले भित्रै आलोचना भए पछि नायक केसी अहिले एमालेकै पक्षमा भोट माग्दै हिडेका छन् । ‘तीतो सत्य’की हास्य अभिनेत्री दीपाश्री निरौलापनि उद्धव पौडेलको प्रचार प्रसारमा हिड्ने गरेकी छन् । उनी कांग्रेस निकट कलाकार हुन् । अभिनेत्री शर्मिला मल्ल, सुमिना घिमिरे, गरिमा पन्त, कलाकार कृष्ण मल्ललगायतका कलाकारले पनि पौडेलका लागि राप्रपा नेपाललाई भोट मागी सकेका छन् । उनीहरु कांग्रेसमा आस्था राख्ने गरेको कलाकारहरुको दाबी छ । आफूले आस्था राख्ने पार्टीमा उनीहरुले भोट माग्न डराउँछन् । तर राप्रपा नेपाल, एमाओवादी, एमाले वा तिनका प्रचार सामाग्रीमा रकम लिएर काम गर्न भने पछि पर्दैनन् । उनीहरुको यस्तो कार्यको कलाकारहरुका बीचमै बिरोध पनि भईसकेका छन् । 
‘तीतो सत्य’का निर्माता, निर्देशक तथा हास्य अभिनेता दीपकराज गिरीले कलाकारहरुको ‘दुई चरित्र व्यवहार’को खुलेरै बिरोध गर्छन् । ललितपुरबाट प्रसारण हुने एक एफ.एम. रेडियोको चलचित्र सम्बन्धी कार्यक्रममा कलाकार गिरीले कलाकारहरुले व्यवहारबाट आफू दिक्क भएको गुनासो गरेका छन् । उनले एउटा दलमा रहेर अर्कै दललाई मत माग्ने कलाकारको आलोचना समेत गरेका छन् । ‘दिनभरि अर्को दलमा,’ उनले भने, ‘रात परे पछि फेरि अर्को दलमा ।’

प्रतिक्रिया