Bisal Chautari Logo

सकियो किम्फ फिल्म फेष्टिभल

- १ पुष २०७०, सोमबार १०:३६ मा प्रकाशित


‘नो प्लेस इज फार अवे’ले प्रथम हुदै १५ सय अमेरिकी डलर पायो
विशाल चौतारी समाचार
काठमाडौ, ३० मंसिर ।
संसारका उत्कृष्ट चलचित्रहरुलाई पुरस्कृत गर्दै ११ औं काठमाडौं अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सव (किम्फ) आइतबार सकिएको छ । मिसेल इबाभानद्वारा निर्देशित मेक्सिकन फिल्म ‘नो प्लेस इज फार अवे’ले अन्तर्राष्ट्रिय प्रतिस्पर्धातर्फ १५ सय अमेरिकी डलरको प्रथम पुरस्कार जितेको छ । आधुनिक भौतिक संरचनाको निर्माणले गर्दा मेक्सिकोको ताराहुमारा पर्वत क्षेत्रमा बसोबास गर्ने रैथाने समुदाय बिस्थापित हुनसक्ने कथा यो डकुमेन्ट्रीमा समेटिएको छ ।
त्यस्तै स्विजरल्यान्डको फिल्म ‘ब्रेथिङ दि स्मेल अफ दि स्काई’ले एक हजार डलरको दोस्रो उत्कृष्ट अवार्ड हात पारेको छ । बेनाइट आइमनद्वारा निर्देशित यो डकुमेन्ट्री आठ हजार मिटरभन्दा अग्ला सबै पर्वत आरोहण गरेका संसारकै तेस्रा आरोही इर्हाड लोरेटनप्रति समर्पित छ । ५२ वर्षकै उमेरमा एल्पस् पर्वतशृंखलामा काम गर्ने बेला हुने उनको आसमयिक निधनको प्रसंग डकुमेन्ट्रीले उठाएको छ । किम्फको तेस्रो अवार्ड चाहि नेपाल र स्विजरल्यान्डको संयुक्त प्रस्तुति रहेको ‘हेलिकप्टर रेस्क्युएर इन दि हिमालय’ले जित्यो । पाच सय डलरको पुरस्कार जितेको हरि थापा र फ्रान्स सेनद्वारा निर्देशित यस फिल्ममा जोखिमपूर्ण पर्वतहरुमा फसेका आरोहीहरुलाई हेलिकप्टरमार्फत् गरिने उद्धार कार्यको कथा भनिएको छ । नेपाली पाइलट सबिन बस्नेत र उद्धारकर्मी पूर्ण अवालेको दु:खपूर्ण निधनलाई पनि यसमा समेटिएको छ । नेपाली फिल्महरुको छुट्टै प्रतिस्पर्धा नेपाल प्यानोरमातर्फ सहारा शर्माको फिल्म ‘चेजिङ रेन्बोज’ले फिक्सन विधामा उत्कृष्ट पुरस्कार जितेको छ । काठमाडौंमा तीन दाजुबहिनीले सपना पूरा गर्न गरेका संघर्षको कथा रहेको फिल्मले २५ हजार रुपैयाा हात पारेको छ । त्यस्तै जापानको रेस्टुरेन्टमा मजदुरी गर्ने नेपालीको कथाव्यथा समेटिएको डकुमेन्ट्री ‘प्लेइङ विथ नान’ले नेपाल प्यानोरमाकै ननफिक्सनतर्फ उत्कृष्ट नेपाली फिल्मको अवार्ड जित्यो । दीपेश खरेल र आसामीद्वारा निर्देशित फिल्मले पनि २५ हजार रुपैया पाएको छ ।
इसिमोडको प्रायोजन रहेको ‘बेस्ट फिल्म अन माउन्टेन डेभलोपमेन्ट’ अवार्ड भुटानी डकुमेन्ट्री ‘एटी सिक्स सेन्टिमिटरर्स’ले पायो । छिरिङ ग्येल्सथेन र पिटर बर्गद्वारा निर्देशित फिल्ममा भुटानका हिमनदीको बाटो खुलाउन मजदुरहरुले गर्ने कष्टप्रद श्रमको कथा रहेको छ । यसले एक हजार अमेरिकी डलर जित्यो । दर्शकको भोटका आधारमा प्रदान गरिने अडियन्स च्वाइस अवार्ड ‘कम्लहरी: नेपाल्स स्टोलन चाइल्डहुड’ले पाएको छ । क्रिस्टोफ स्वेगरको निर्देशनमा बनेको डकुमेन्ट्री फ्रान्स र नेपालको संयुक्त प्रस्तुति हो । हिमाल एसोसियनको आयोजनामा पाच दिन चलेको महोत्सवका निर्णायक मण्डलमा नेपालकी समाजशास्त्री द्युती बराल, बेलायतका पत्रकार स्टेफन गुडविन र स्विजरल्यान्डका आरोही रोजर ब्रुनर थिए । महोत्सवमा २० देशका ४७ फिल्म देखाइयो । महोत्सवको समापन क्याप्टेन जोन नोयलद्वारा निर्देशित बेलायती डकुमेन्ट्री ‘द इपिक अफ एभरेस्ट’को प्रदर्शनीबाट गरियो । महोत्सवमा विगतका भन्दा दर्शकको उपस्थिति वृद्धि भएको अध्यक्ष वसन्त थापाले बताए ।
watch this bisal chautari youtube video

प्रतिक्रिया