Bisal Chautari Logo

एमाले सभासद भन्छन् – पार्टीले भनेको मान्दैनौं

- २६ पुष २०७०, शुक्रबार ०४:५३ मा प्रकाशित


चुनाव सकिएको दुई महिनासम्म बैठक नबस्दा भूमिका विहिन भएर गाउँ फर्के

विशाल चौतारी समाचार ।
काठमाडौं, २६ पुस । अघिल्लो संविधानसभामा सभासदहरु ताली बजाउँनमै सीमित रहेपछि संविधान बन्न सकेन । तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराईले संविधानसभा विघठन गराएको समेत माओवादीकै कतिपय सभासदले थाहा पाएका थिएनन् । उनीहरु संविधानसभा भवनमा मध्यरातसम्म पनि आफ्ना शीर्ष नेताहरुलाई पर्खिरहेका थिए ।
ती सभासदहरुलाई ‘ताली सभासद’का रुपले सर्वसाधरणमा चित्रण गरिएको थियो । यो भनाईमा दोस्रो संविधानसभाको निर्वाचनबाट निर्वाचित कतिपय सभासदहरु सहमत छन् । त्यसमध्येका एक हुन्, खोटाङ क्षेत्र नम्बर एकबाट निर्वाचित सभासद पाँचकर्ण (पिके) राई । सभासद राई यो पटक जसरी भएपनि संविधान बनाउँने पक्षमा छन् ।
विशालचौतारीसँगको अन्तर्वार्तामा उनले भने ‘पार्टीले देश बन्धक राख्ने र संविधान नबन्ने अवस्था आयोभने त्यसभन्दा माथि उठेर कामा गर्छु । एमालेमा धेरै युवाहरु छौं । जो जनतालाई संविधान दिन जस्तोसुकै त्याग गर्न तयार छौं ।’ उनले पार्टी राजनीतिले चुनाव जितेको भन्दै पार्टीलाई मानेर जाने भएपनि संविधान निर्माणमा सवालमा त्यसलाई क्रस गर्न सकिने उनले जनाए ।
यो पटक पनि संविधान बनाउँन नसके सम्पूर्ण दलहरु र तिनका नेता कार्यकर्ता नै अयोग्य सावित हुने भएकाले त्यसतर्फ आफु सचेत रहेको उनले जनाए । उनले अहिले भइरहेको ढिलाईले जनतामा निराशा उत्पन्न हुँदै गएकाले चाँडो संविधानसभाको बैठक आह्वान गर्न पार्टी नेताहरुलाई आग्रह गरिरहेको जनाए । चुनाव सकिएको दुई महिना हुन लाग्यो अहिलेसम्म बैठक बस्न नसक्दा भूमिकाविहिन भएको छु । उनले भने ‘काठमाडौंबाट फेरि जिल्ला फर्किसके, गाउँ घुमिरहेको छु । 

प्रतिक्रिया