Bisal Chautari Logo

असोज ९ बाट प्रदर्शनमा आउँदै ‘बाः एक योद्धा’

- २७ भाद्र २०८३, शनिबार २२:०३ मा प्रकाशित


बिशाल चौतारी समाचार
काठमाडौं, २०८३ भाद्र २७ शनिवार ।
 चलचित्र ‘बा : एक योद्धा’को प्रदर्शन मिति परिवर्तन भएको छ । भोटेकोशी बाढीका कारण पूर्वनिर्धारित समयमा प्रदर्शनमा आउन नसकेको यो चलचित्र अब असोज ९ गतेबाट प्रदर्शनमा आउने भएको छ ।

आज कुशे औंसी अर्थात् बुबाको मुख हेर्ने दिनको अवसर पारेर नयाँ प्रदर्शन मिति घोषणा गरेको हो । यसअघि निर्माण टिमले बाढी पीडितलाई दुई लाख रुपैयाँ सहयोग गर्दै यो चलचित्र मंसीर २४ गतेलाई प्रदर्शन गरिने भएको थियो ।

अब निर्माण टिमले सल्लाह गरेर नै नयाँ प्रदर्शन मिति घोषणा गरिएको बताएको छ ।

“हामी वितरक तथा प्रदर्शकसँग सल्लाह गरेर ‘बा : एक योद्धा’लाई असोज ९ गते प्रदर्शनमा आउने निष्कर्षमा पुगेका छौँ,” निर्माता वसन्त लम्सालले भने, “यो मितिमा हामीलाई दर्शकसँगै सबै पक्षको साथ मिल्नेमा हामी विश्वस्थ छौँ ।”

नेपाली समाजमा परिवारमा सन्तानको भविष्यका लागि बुवाले गर्ने त्याग, संघर्ष र जीवनभर झेल्ने चुनौतीहरू ‘बा : एक योद्धा’को मुख्य कथा रहेको छ । हरि लम्सालको लेखन तथा निर्देशन रहेको चलचित्र ‘बाः एक योद्धा’मा दिव्यदेव, झरना थापा, सुहाना थापा, माओत्से गुरुङ, अनिल बुढाथोकी, सागर खनाल, शिशिर सिवाकोटी, सुप्रज्ञा शर्मा र शवि थापा मुख्य भूमिकामा छन् ।

नेपाली संगीत क्षेत्रमा दर्जनौँ कालजयी गीत दिएका संगीतकार हरि लम्साल रचनाकार र गायक पनि हुन् । फिचर सिनेमामा भने ‘बाः एक योद्धा’ उनको पहिलो निर्देशन हो । आर्टिस्टिक इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको यो चलचित्रको कथासँगै पटकथा पनि लम्साल आफैँले लेखेका छन् ।

चलचित्र ‘बाः एक योद्धा’का निर्माता वसन्त लम्साल हुन् । अनिल बुढाथोकी कार्यकारी निर्माता रहेको चलचित्रका लाइन प्रोड्युसर अर्जुन पौडेल हुने भने सह–निर्माता कृष्ण काफ्ले रहेका छन् ।

शिवराम श्रेष्ठको छायाकंन रहेको चलचित्रको मुख्य सहायक निर्देशकमा तारानाथ न्यौपाने छन् । ‘बा : एक योद्धा’ आशिष एच तामाङ र प्रदीप धामीको कुवेर सिने डिस्ट्रिब्युसनले वितरण गर्नेछ ।

प्रतिक्रिया