
बिशाल चौतारी समाचार
काठमाडौं, २०८३ भाद्र ४ बिहिवार। हास्यव्यङ्ग्यात्मक चलचित्र ‘तिरिमिरी झ्याइँ’को छायांकन यतिबेला पूर्वी नेपालका पर्यटकीय स्थलहरूमा भइरहेको छ। यसै क्रममा, चलचित्रमार्फत स्थानीय कला, संस्कृति र पर्यटन प्रवर्द्धनमा विशेष टेवा पुर्याएको भन्दै सुनसरीको रामधुनी नगरपालिकाले चलचित्रको सम्पूर्ण निर्माण टोलीलाई विशेष सम्मान गरेको छ। रामधुनी नगरपालिकामा आयोजित एक विशेष समारोहका बीच नगर प्रमुख (मेयर) शंकर लाल चौधरी, उप-मेयर तारा थापा तथा सबै वडाका वडाध्यक्षहरूको उपस्थितिमा चलचित्र टिमलाई सम्मान पत्रसहित मायाको चिनो प्रदान गरिएको हो।
सम्मान कार्यक्रममा बोल्दै रामधुनी नगरपालिकाका नगर प्रमुख शंकर लाल चौधरीले आफ्नो नगरमा चलचित्रको छायांकन भएकोमा खुसी व्यक्त गरे। उनले भने, “हाम्रो नगरपालिकामा छायांकन भइरहेको खबर सुन्ने बित्तिकै एकदमै खुसी लाग्यो। भगवान रामले धुनी बालेर आगो तापेको ऐतिहासिक र धार्मिक ठाउँ हो रामधुनी, जहाँ अहिले पनि निरन्तर आगो बलिरहेको छ। यहाँ भारतबाट समेत ठूलो संख्यामा सन्त महन्त र भक्तजनहरू आउने गर्दछन्। ‘तिरिमिरी झ्याइँ’ टिम सुटिङका लागि यहाँ आउनुभएकोमा हार्दिक धन्यवाद छ। यस चलचित्रले रामधुनीको धार्मिक र पर्यटकीय पहिचानलाई अझ व्यापक रूपमा चिनाउनेछ भन्ने पूर्ण आशा छ। यहाँ थुप्रै पर्यटकीय क्षेत्र र थारु संस्कृति झल्कने पहिचानहरू रहेका छन्।”
नगरपालिकाको तर्फबाट पाएको यो सम्मानप्रति चलचित्रका निर्माता प्रद्युम्न बोगटी (प्रबिन) ले सम्पूर्ण टिमको तर्फबाट आभार एवं धन्यवाद व्यक्त गरे। बोगटीले भने, “छायांकनकै क्रममा हाम्रो सम्पूर्ण टिमलाई स्थानीय पर्यटन प्रवर्द्धनमा टेवा पुर्याएको भन्दै रामधुनी नगरपालिकाद्वारा विशेष सम्मान गरिएको छ। कला र संस्कृतिको माध्यमबाट पर्यटन प्रवर्द्धनमा हाम्रो प्रयासलाई उच्च मूल्यांकन गर्दै सम्मान गर्नुभएकोमा रामधुनी नगरपालिका तथा आदरणीय नगर प्रमुखप्रति ‘तिरिमिरी झ्याइँ’ टिम हार्दिक आभार एवं धन्यवाद व्यक्त गर्दछ।”
आभास अधिकारीको कथा तथा अवधारणा र समीरको निर्देशनमा बनिरहेको यो चलचित्र विशुद्ध पारिवारिक, मनोरञ्जनात्मक र सामाजिक कथामा आधारित छ। चलचित्रले समकालीन समाजका विविध रमाइला र ठट्यौली पक्षहरूलाई रोचक शैलीमा प्रस्तुत गर्नेछ। होराइजन मोसन पिक्चर्स प्रालिको ब्यानरमा निर्माण भइरहेको यसै चलचित्रमार्फत ‘दले दाई’ उपनामले चर्चित कमेडियन सुमन कोइरालाले ठूलो पर्दामा डेब्यु गर्दैछन् भने चलचित्रमा वरिष्ठ अभिनेता धिरेन शाक्य, आभास अधिकारी, सरोज अर्याल, रियर राई, सुमन कोइराला, सुरज चौलागाईं, राज न्यौपाने, जय राम ढकाल, राजश्री थापा, घनश्याम जोशीलगायतका कलाकारहरूको मुख्य अभिनय रहनेछ। यसै गरी सह-निर्माताको रूपमा भूपेन्द्र सिटौला (नीरज), शम्भु कार्की, विनोद बुढाथोकी, पुष्कर खतिवडा, दिनेश श्रेष्ठ र अनिल शर्मा जोडिएका छन्।
यसमा विशाल कक्षपतिको छायाङ्कन रहनेछ भने अभिषेक कार्की सङ्गीतकार हुन्। गणेश उपाध्याय, प्रेमबहादुर थापा र सुमन कोइरालाले संयुक्त रूपमा पटकथा तथा संवाद तयार पारेका हुन्। यसमा करणबहादुर साउद मुख्य सहायक निर्देशक, निर्मल न्यौपाने प्रोडक्सन म्यानेजर र रबिन काजी शाक्य प्रोडक्सन डिजाइनरका रूपमा रहेका छन्। त्यसै गरी चलचित्रमा सियोन श्रेष्ठको कोरियोग्राफी, रोयल भीमसेन (ट्राइडेन्ट कन्सेप्ट)को पोस्टर तथा पब्लिसिटी डिजाइन, दिलमाया रोकाको मेकअप, अप्सरा कुँवरको हेयर स्टायल र रीजुन प्रधानको कस्ट्युम डिजाइन रहनेछ।
प्रतिक्रिया