
बिशाल चौतारी समाचार
काठमाडौं ,२०८३ आषाढ १२ शुक्रवार। जीवन सिंहको लेखन तथा निर्देशन रहेको चलचित्र ‘हन्टर’ को प्रदर्शन मिति घोषणा गरिएको छ । निर्माण पक्षले एक प्रभावशाली ‘फेस-अफ’ पोस्टर सार्वजनिक गर्दै चलचित्र आगामी असोज ९ गते ‘सेप्टेम्बर २५’ बाट देशभरका सिनेमाघरमा प्रदर्शन हुने जानकारी दिएको हो ।
यस चलचित्रबाट निर्देशक सिंहले निर्देशनमा डेब्यु गर्दै छन् ।
प्रदर्शन मितिसँगै सार्वजनिक गरिएको पोस्टरले चलचित्रको कथावस्तुबारे धेरै रोचक संकेतहरू दिएको छ । ट्राइडेन्ट कन्सेप्टले तयार पारेको पोस्टरमा दुई मुख्य पात्रहरू अरुण क्षेत्री र प्रकाश शाहलाई आमनेसामने देखाइएको छ ।
प्रकाश शाहको आँखामा देखिने तीखो आक्रोश र अरुण क्षेत्रीको अनुहारमा झल्कने प्रतिशोधको भावले चलचित्रमा यी दुई पात्रबीच भीषण टक्कर हुने संकेत गर्छ ।
पोस्टरमा यो केवल सामान्य झगडा नभई एक-अर्कालाई सिध्याउने खेल अर्थात् ‘हन्टर’ र ‘सिकार’ बीचको लडाइँ भएको प्रस्ट्याउँछ ।
पोस्टरको तल्लो भागमा भने माथिल्लो भागको उग्रताभन्दा बिल्कुलै फरक दृश्य छ । जहाँ अभिनेता अरुण क्षेत्री र अभिनेत्री सुप्रज्ञा शर्मालाई शान्त र रोमान्टिक मुडमा देखाइएको छ । यसले के बुझाउँछ भने चलचित्रमा जति कडा एक्सन छ, त्यति नै गहिरो प्रेम कथा पनि बुनिएको छ । सायद, यही प्रेम नै पछि गएर ठूलो द्वन्द्वको कारण बन्ने देखिन्छ ।
चलचित्रका लेखन तनिर्देशक सिंहका अनुसार ‘हन्टर’ को कथा कुनै काल्पनिक संसारको नभई समाजकै वास्तविक पात्रहरूबाट प्रभावित भएर तयार पारिएको हो ।
‘हन्टर’ को निर्माणमा ट्राइडेन्ट कन्सेप्टको सहकार्य छ । ममता सिंह, गोविन्द राज र राज ए भट्ट निर्माता रहेको सिनेमाका सह-निर्माता मनिष चन्द, युना शाही, सन्तोष आस्ना पाल छन् । यो चलचित्रका कार्यकारी निर्माता रोयल भीमसेन (भीमसेन शाही) हुन् ।
चलचित्रमा अरुण, प्रकाश र सुप्रज्ञाका अलावा गरिमा शर्मा, सरोज खनाल, रमेश बुढाथोकी, रुजा राउत, रोशनी दाहाल, गीता अधिकारी, सुरज भण्डारी, टेकराज शर्माल, लालबहादुर थापागायतको अभिनय रहेको छ ।
निर्देशक सिंहकै सम्पादन रहेको चलचित्रमा कृष्ण थापाको डीओपी, शुक्रराज शाहको द्वन्द्व निर्देशन, विक्रम स्वाँर र सञ्जय खिमजिमको कोरियोग्राफी, बाबुल गिरी, चक्र बम र महेश ताम्राकारको संगीत छ ।
दसैंको पूर्वसन्ध्यामा प्रदर्शन हुन लागेको यो चलचित्रले ‘मास अडियन्स’ लाई हलसम्म तान्ने अपेक्षा गरिएको छ । एक्सन, इमोसन र ड्रामाको समिश्रण रहेको ‘हन्टर’ ले पोस्टरमार्फत जुन खालको ‘हाइप’ सिर्जना गरेको छ, त्यसले फिल्म क्षेत्रमा सकारात्मक चर्चा सुरु गराएको छ ।
यो चलचित्रलाई रोहित कट्टेल र रत्न श्रेष्ठको आरआर फिल्मस्ले देशव्यापी वितरण गर्ने भएको छ ।
प्रतिक्रिया