Bisal Chautari Logo

नेपाली सिनेमा ‘एलिफेन्ट्स् इन द फग्‌’ कान्स सिनेमा महोत्सवमा छनोट

- २७ चैत्र २०८२, शुक्रबार २२:०८ मा प्रकाशित


बिशाल चौतारी समाचार
काठमाडौं, २०८२ चैत्र २७ शुक्रवार।
विश्वप्रसिद्ध ७९औं कान्स सिनेमा महोत्सवको ‘अन सर्टेन रिगार्ड’ विधामा नेपाली कथानक सिनेमा ‘एलिफेन्ट्स् इन द फग्‌’ छनोट भएको छ । यससँगै नेपाली सिनेमाले अन्तर्राष्ट्रिय स्तरमा ऐतिहासिक उपस्थिति जनाउन सफल भएको निर्माण पक्षले जनाएको छ ।

अविनाश विक्रम शाहद्वारा लिखित तथा निर्देशित यो सिनेमा अण्डरग्राउण्ड टकिज नेपाल र जयन्ती कृएसन्सको सहकार्यमा निर्माण भएको हो । यसमा फ्रान्स, जर्मनी, ब्राजिल र नर्वेका निर्माण कम्पनीहरूको समेत सहकार्य छ । सिनेमाले जंगली हात्तीको आतंकबाट प्रभावित बस्तीमा बसोबास गर्ने अल्पसंख्यक समुदायका एक परिवारको कथा प्रस्तुत गरेको छ ।

ग्रामीण यथार्थ र सामाजिक संवेदनालाई समेटिएको कथामा नयाँ अनुहारका कलाकारसहित गौरी मल्ल, माओत्से गुरुङ, शान्ति गिरी, संजय गुप्ता दुरा, महिमा नवबाग, आशान्त शर्मा लगायतका कलाकारको अभिनय देख्न सकिनेछ ।

अण्डरग्राउण्ड टकिज नेपालको तर्फबाट अनुप पौडेल निर्माता छन् भने जयन्ती कृएसन्सको तर्फबाट कुमुदिनी गुरुङ श्रेष्ठ, सोहम ढकाल र प्रचण्डमान श्रेष्ठ निर्माताको रूपमा जोडिएका छन् । मीनबहादुर भाम, प्रवेश गुरुङ, केकी अधिकारी, प्रतीक सुवेदी लगायतका सिनेमाकर्मीले समेत निर्माणमा साथ दिएका छन् ।

निर्देशक शाहले यसअघि आफ्नो लघु सिनेमा ‘लोरी’बाट कान्समा पुरस्कार जित्दै नेपाली सिनेमा क्षेत्रमै पहिचान बनाइसकेका छन् । ‘कालो पोथी’ र ‘शाम्बाला’ जस्ता चर्चित सिनेमाका पटकथाकार रहेका शाहको यो पहिलो निर्देशकिय डेव्यु फिचर सिनेमा हो ।

यो सिनेमाको छायांकन नोए बाक र सिरिलले गरेका छन् भने सम्पादन एन्ड्र्यू बर्ड र पेरिस बर्जनको छ । ध्वनि, संगीत, कला निर्देशन र अन्य प्राविधिक पक्षमा अन्तर्राष्ट्रिय टिमको संलग्नता रहेको निर्माण पक्षले जनाएको छ ।

यसवर्षको कान्स मे १२ देखि सुरु हुनेछ । उद्घाटन सत्रमा पियरे साल्भाडोरी निर्देशित सन् १९२० को परिवेशमा आधारित कमेडी सिनेमा ‘द इलेक्ट्रिक किस’ प्रदर्शन गरिने कार्यक्रम छ । महोत्सवको निर्णायक मण्डलको नेतृत्व दक्षिण कोरियाली चर्चित सिनेमामेकर पार्क चान–वूकले गर्नेछन् । यस वर्ष बार्बरा स्ट्राइस्यान्ड र पिटर ज्याक्सनलाई मानार्थ पाल्मे डओरबाट सम्मान गरिने घोषणा गरिएको छ ।

नेपाली सिनेमाको करिब ६ दशक लामो इतिहासमा कान्स फेस्टिभलमा आधिकारिक रूपमा छनोट हुने यो पहिलो सिनेमा बनेको बताइएको छ । निर्माण टिमले यस उपलब्धिलाई नेपाली सिनेमा क्षेत्र र दर्शकसँग साझा गर्दै आगामी दिनमा अझै सशक्त नेपाली कथाहरू प्रस्तुत गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

प्रतिक्रिया