Bisal Chautari Logo

आयुष भन्छन्–‘राम नाम सत्यपछि निरन्तर फिल्ममा काम गर्छु’

- २३ चैत्र २०८२, सोमबार २२:०७ मा प्रकाशित


बिशाल चौतारी समाचार
काठमाडौं, २०८२ चैत्र २३ सोमवार।
 टिकटकमा लोकप्रिय फलोअर्स र दर्शकको माया कमाएका टिकटकर आयुष सिंह ठकुरी अब नेपाली फिल्मको पर्दामा पनि देखिदैछन् । माइकल चन्दको लेखन तथा  निर्देशनमा तयार भएको फिल्म ‘राम नाम सत्य’बाट आयुषले डेब्यू गर्दैछन् । यो फिल्म चैत्रको २७ गते अर्थात शुक्रबारबाट देशभरका हलमा रिलिजमा आउँदैछ ।
फिल्मको रिलिजको एक केही दिन अगाडि आयुष मिडियासँगको अन्तरक्रियामा उपस्थित भए ।
आयुष यो फिल्मलाई लिएर निकै उत्साहित सुनिए । उनले भने–‘यो फिल्मको कथावस्तु मन परेका कारण नै मैले काम गरेको हुँ । मलाई धेरै फिल्मको अफर नआएको होइन । तर, राम नाम सत्यको कथाले तान्यो र काम गर्न तयार भएँ ।’
फिल्म भित्र आफ्नो भूमिका दर्शकका लागि सरप्राइज हुने आयुषको तर्क छ । आयुष भन्छन्–‘मैले बोलेका एउटा संवाद ट्रेलरमा समावेश छ । यो ट्रेलर आउँदा मेरो परिवार र आफन्तले नै मेरो बोली चिन्नु भएन । पछि मैले नै यो संवाद मेरो हो भनेर भन्दा धेरै छक्क पर्नु भएको थियो । फिल्मका लागि निकै मिहिनेत गरेको छु ।’
आयुषले अहिले नै आफूले फिल्मको व्यापारबारे नसोचेको तर्क गर्छन् । उनले, दर्शकले सुरुवातमा आफ्नो काम मन पराउन आवश्यक रहेको बताए । टिकटकमा लाखौ फलोअर्स कमाएका आयुषलाई ती दर्शक हलसम्म तान्ने चुनौती छ । यो बिषयमा आयुष भन्छन्–‘विदेशमा बस्ने धेरै नेपालीहरुले पनि नेपालमा रहेका आफन्त र साथीभाइका लागि टिकट खरिद गरिदिने, हल बुक गरिदिने भन्नुभएको छ । दर्शक फिल्मप्रति नै उत्साहित रहेको पाएको छु ।’
आयुषले फिल्मको सिक्वेल बन्ने जानकारी दिए । भने–‘राम नाम सत्य’को सिक्वेल पनि बन्दैछ । सिक्वेलमा मेरो भूमिका के हुन्छ भन्ने वुझ्नका लागि पनि दर्शकले राम नाम सत्यको पहिलो भाग छुटाउन हुँदैन ।’
आयुषले यो फिल्मका लागि आफूले शतप्रतिशत मिहिनेत गरेको सुनाए । फिल्ममा कथावस्तु बलियो रहेको, सस्पेन्स–थ्रिलर कथा रोचक रहेको सुनाउँदै आयुषले हरेक कोणबाट फिल्मले दर्शकलाई मनोरञ्जन दिने तर्क गरे ।
आयुषले अब निरन्तर फिल्म क्षेत्रमा काम गर्ने संकेत गरे । उनले भने–‘मैले अझै मिहिनेत गर्नुछ । आफूलाई तयार गर्नुछ । यसैले, हतार गरेर काम गरिहाल्छु भन्दिनँ । तर, अब निरन्तर यही क्षेत्रमा अगाडि भने बढ्छु ।’
उपेन्द्र शाही र स्वेता विमलीको निर्माणमा तयार भएको यो फिल्ममा विराज भट्ट, सुशील श्रेष्ठ, आयुष सिंह ठकुरी, सुपुष्पा भट्ट, दिव्या रायमाझी, सुनील थापा, प्रशान्त ताम्राकार, खुशी कार्की लगायतका कलाकारहरुको अभिनय छ । नयाँ वर्षमा सोलो रिलिज हुन लागेको फिल्मले बम्पर ओपनिङ गर्ने विश्लेषण वितरकको छ । 

प्रतिक्रिया