
बिशाल चौतारी समाचार
काठमाडौं, २०८२ फागुन ३० शनिवार। फिल्म ‘हामी तीन भाइ’ का लागि तयार गरिएको नयाँ गीत ‘झम्के फुली नाकको फुली, कानमा झुम्का लाउ है ठुली…’ को छायांकन अहिले भक्तपुरको गुण्डु क्षेत्रमा भइरहेको छ।प्रसिद्धी सिने आर्ट्स प्रा.लि. को ब्यानरमा निर्माण भइरहेको यस फिल्मको उक्त गीतमा साप शक्ति र अस्मिता अधिकारीको स्वर रहेको छ। गीतका शब्द सुवल मणि सापकोटाले लेखेका हुन् भने संगीत पनि साप शक्तिकै रहेको छ। गीतको रेकर्डिङ अनामनगरस्थित ए प्लस स्टुडियोमा गरिएको हो। यस गीतको संगीत संयोजन (एरेन्ज) महाराज थापाले गरेका छन्।
ग्रामीण परिवेश र स्थानीय स्वाद झल्काउने शैलीमा तयार गरिएको यो गीतलाई रंगीन र जीवन्त बनाउन अहिले गुण्डुमा छायांकन भइरहेको निर्माण पक्षले जनाएको छ।
निर्देशक मधुसुधन भट्टराईको निर्देशनमा तयार भइरहेको फिल्म ‘हामी तीन भाइ’ कमेडी तथा सामाजिक कथामा आधारित छ। फिल्ममा विनोद न्यौपाने, कुशल बिष्ट र फलित राई मुख्य भूमिकामा छन्। उनीहरूले गाउँका मिल्ने तीन साथीको चरित्र निभाएका छन्।
त्यस्तै फिल्ममा लक्ष्मी बर्देवा, राजाराम पौडेल, रवीन्द्र झा लगायतका कलाकारको पनि अभिनय रहनेछ। फिल्म प्रसिद्धी सिने आर्ट्स प्रा.लि.को ब्यानरमा निर्माण भइरहेको हो भने निर्मातामा त्रिरत्न श्रेष्ठ र मनोज श्रेष्ठ रहेका छन्। यो फिल्म यही चैत्र १३ गतेबाट देशव्यापी रुपमा प्रदर्शनमा आउँदैछ।
प्रतिक्रिया