
बिशाल चौतारी समाचार
काठमाडौं, २०८२ माघ ९ शुक्रवार। चलचित्र ‘फ्रेन्च किस’ ( French Kiss) निर्माण हुने भएको छ । ए.टी.एफ. प्रोडक्सन प्रा.लि.को ब्यानरमा निर्माण हुन लागेको चलचित्रको शुक्रबार सरस्वतीको पूजा (वसन्तपञ्चमी)को अवसर पारेर काठमाडौंको कमलादीस्थित गणेश मन्दिरमा घोषणासँगै शुभमुहूर्त गरिएको छ ।
नेपाली चलचित्र क्षेत्रमा फरक शैली र धारका चलचित्र निर्देशनका लागि चिनिने अभिनेता अर्पण थापाले आफ्नो नयाँ प्रोजेक्ट ‘फ्रेन्च किस’को औपचारिक रुपमा घोषणा गरेका हुन् । यस चलचित्रलाई थापा स्वयंले निर्देशन गर्दैछन् ।
सोमबारबाट चितवनका विभिन्न स्थानमा छायांकन सुरु हुनेछ । चलचित्रमा अर्पण थापा मुख्य भूमिकामा देखिनेछन् । उनीसँगै अन्तर्राष्ट्रियस्तरमा चर्चा कमाएको चलचित्र ‘शाम्बाला’बाट चर्चामा आएकी अभिनेत्री थिन्ले ल्हामो मुख्य भूमिकामा रहनेछिन् ।
अभिनेत्री थिन्लेले यसअघि स्वीट्जरल्यान्डको विश्वप्रसिद्ध ७७औँ लोकार्नो फिल्म फेस्टिभलमा उत्कृष्ट अभिनयका लागि प्रतिष्ठित ‘बोक्कालिनो डिओर’ अवार्ड जितेकी थिइन् ।
यो चलचित्रमा अन्तर्राष्ट्रिय मञ्चमा नेपालको नाम चम्काएकी थिन्ले र भर्सटायल अभिनेता अर्पण थापाको अनस्क्रिन जोडी देखिनेछ । चलचित्रको मुख्य भूमिकामा अभिनेत्री गौरी मल्ल र आयशा तामाङ पनि रहनेछन् ।
चलचित्रको कार्यकारी निर्मातामा सौगात बस्नेत र सह–निर्मातामा सुभाष बी. शाही छन् । चलचित्रलाई अनुभवी सिनेमेटोग्राफर सुदीप बरालले खिच्नेछन् ।
चलचित्रमा संगीत चर्चित गायक तथा संगीतकार दीपक बज्राचार्यको रहनेछ ।
रोयल भीमसेन (ट्राइडेन्ट कन्सेप्ट)ले पब्लिसिटी डिजाइनको जिम्मा लिएको यो चलचित्र सन् २०२६ भित्रमा प्रदर्शनमा ल्याउने लक्ष्य राखिएको छ ।
शीर्षकले नै युवा पुस्ता र प्रेमकथामा आधारित हुनसक्ने अनुमान लगाउन सकिन्छ । अभिनय र निर्देशनमा आफ्नै बेग्लै छाप छाड्न सफल अर्पण थापाको यो नयाँ चलचित्रले केही फरक टेस्ट नेपाली दर्शकलाई दिने अपेक्षा गर्न सकिन्छ ।
प्रतिक्रिया