Bisal Chautari Logo

‘भाईरल गोर्खे’ भारतका विभिन्न सहरमा रिलिज हुँदै

- ९ माघ २०८२, बिहीबार २१:५६ मा प्रकाशित


बिशाल चौतारी समाचार
काठमाडौं, २०८२ माघ ८ बिहिवार।
 गत माघ १ गतेबाट नेपाली हलमा प्रदर्शनरता सिनेमा ‘भाईरल गोर्खे’ अब भारतका विभिन्न सहरमा रिलिज हुने भएको छ । भोदी शुक्रबारबाट दोस्रो सातामा प्रवेश गर्ने सिनेमा भारतका विभिन्न सहरमा चाँडै प्रदर्शन हुन लागेको हो ।

भारतमा नेपाली सिनेमा रिलिज गर्दै आएको एक कम्पनिसँग सिनेमा रिलिजको मौखिक सहमती भैसकेको निर्माता अमित श्रेष्ठले बताए । भारतमा सिनेमा रिलिजको जिम्मा लिएका ती व्याक्ति केही दिनमा नेपाल आएर लिखित सम्झौताको तयारी रहेको निर्माता श्रेष्ठको दाबी छ ।

भारतको राजधानी दिल्लीसहित नेपाली भाषीको उल्लेख्य बसोबास रहेको दार्जिलिङ, सिलिगुडी, गान्तोक, कस्र्याङ, कालिम्पोङ, आसामसहितका सहरमा सिनेमा प्रदर्शन हुने निर्माता अमित श्रेष्ठले बताए । ‘भाईरल गोर्खे’ले नेपालमा दर्शकको उत्कृष्ट प्रतिक्रिया पाएपछि ती वितरक भारतमा रिलिज गर्न आफ्नो टिमको सम्पर्कमा आएका निर्माण टिमको भनाई छ ।

भारत रिलिजको लागि सम्पुर्ण तयारी पुरा भैसकेकाले लिखित सम्झौतासँग प्रक्रिया अगाडी बढ्ने निर्माता श्रेष्ठ बताउँछन् । यो सिनेमाले नेपालमा विस्तार हलमा दर्शकको चाप बढाउँदै लगेको पनि निर्माण टिमको दाबी छ । विभिन्न हलमा टिकट बुकिङ वेव साइट हेर्दा त्यो सत्य पनि देखिन्छ ।

सामाजिक सञ्जालमा भाईरल बन्न मुख्य पात्र सौगात मल्ल (गोर्खे)ले गर्ने संघर्ष र अनौठा हर्कतको कथा सिनेमाभित्र समेटिएका छन् । यो सिनेमामा सौगातले अभिनेत्री सृष्टि श्रेष्ठसँग जोडी बाँधिएको छ । ‘भाइरल गोर्खे’को रोचक ट्रेलरले दर्शकमाझ सिनेमाप्रति उत्साह पैदा गर्न सफल हुने देखिन्छ ।

यसअघि ‘छड्के’, ‘लालपूर्जा’ र ‘छड्के २’ जस्ता सिनेमा निर्देशन गरिसकेका निगम श्रेष्ठले ‘भाइरल गोर्खे’ निर्देशन गरेका हुन् । यो सिनेमाले आफ्नो निर्देशकिय क्षमतालाई पूर्ण प्रस्तुत गर्नुका साथै दर्शकलाई एउटा सुन्दर सिनेमा देखाउने चाहाना पुरा गर्ने विश्वास व्यक्त गर्छन् । समसामयिक र घर-घरको विषय भएकाले सिनेमालाई दर्शकले मन पराउनेमा ढुक्क रहेको निर्देशक श्रेष्ठले बताउँछन् ।

एके ब्रदर कम्पनी, द जिएमआई एकेडेमी र निर्भाना फिल्म स्कुलको व्यानरमा निर्माण भएको सिनेमामा सौगात र सृष्टिसँगै बुद्धि तामाङ, लक्ष्मी गिरी, राजाराम पौडेल, ऋषि धमला रवि भुजेल र मिस पवीको अभिनय रहेको छ ।

अमित श्रेष्ठ, विशाल ताम्राकार, महेश लामिछाने र केवल जंग कुँवर निर्माता रहेको सिनेमाका सह-निर्माता निर्भाना फिल्म स्कुल, भुवन अधिकारी र निखिल पौडेल हुन् ।

अमर महर्जनको सिनेमाटोग्राफी रहेको सिनेमालाई लम्जुङको भुजुङ गाउँ, गोरखा र चितवनमा खिचिएको हो । ‘भाइरल गोर्खे’को वितरक सुनिल मानन्धर, द्वन्द निर्देशक श्री श्रेष्ठ, एडिटर बन्दे प्रसाद, रवि चौधरी, भीम विश्वकर्मा हुन ।

प्रतिक्रिया