Bisal Chautari Logo

‘रमिताको पिरती’को ‘तिमी भए काफी’ गीतमा समीर र आनाको रोमान्स

- ३० मंसिर २०८२, सोमबार २३:११ मा प्रकाशित


बिशाल चौतारी समाचार
काठमाडौं, २०८२ मंसिर २९ सोमवार।
 माघको २३ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘रमिताको पिरती’ फरक बिषयवस्तु र प्रस्तुतिका कारण चर्चामा छ । यसको पोष्टर र टिजर सार्वजनिक भइसकेको छ । फिल्मले एक युवतीको जीवन, संघर्ष, प्रेम र आरोह–अवरोहलाई प्रस्तुत गरेको छ । नायिका आना शर्माको फरक शैली र गेटअप, फिल्मको टिजरमा देखाइएको फरक किसिमको प्रस्तुतिले युवापुस्तामाझ यसका बिषयवस्तुहरु लोकप्रिय बनिरहेका छन् ।
यसैक्रममा, यो फिल्मको ‘तिमी भए काफी’ बोलको गीत आज ललितपुरको लाबिम मलमा आयोजित एक कार्यक्रममा सार्वजनिक गरियो ।
सार्वजनिक गीतमा फिल्मकी मुख्य नायिका आना शर्मा र नव–नायक तथा गायक समीर श्रेष्ठको रोमान्स हेर्न सकिन्छ । थाइल्याण्डको रमणीय लोकेशनमा आना र समीर रोमान्टिक देखिएका छन् । आना थाइल्याण्डमा खुलेकी छिन् । फिल्मको कोरियोग्राफी, सिनेमाटोग्राफी लोभलाग्दो छ । यो गीतको भिडियोमा आना र समीरको सामिप्यतालाई बलियो रुपमा देखाइएको छ ।
समीरकै स्वरमा समावेश यो गीतमा सास्वतको संगीत छ । झोलेको डीओपी रहेको यो गीतको भिडियोले दर्शकको मन जित्ने विश्वास गरिएको छ ।
सुदिप्ताले निर्देशन गरेको  यो फिल्मका  निर्माता सागर लम्साल हुन् । यो फिल्ममा आना शर्मा, धिरज मगर, समीर श्रेष्ठ, विनय श्रेष्ठ, गौमाया गुरुङ, पशुपति राई, रेनु योगीत, गियना, थिन्ले लामो लगायतका कलाकारहरुको अभिनय छ ।
सुदिप्ताकै लेखनमा तयार भएको यो फिल्ममा शिशिर विशाङ्खेको डीओपी, सुनिल सिवाकोटीको सम्पादन, कृतिका बरालको कोरियोग्राफी छ । आना शर्मा र सन्तोष लम्साल कार्यकारी निर्माता रहेको फिल्ममा आरपी प्रोडक्सन, गणेश पाण्डे, सुभाष कोइराला र प्रवेश लामिछाने एसोसिएट निर्माताको रुपमा छन् । फिल्ममा सुशान्त केसी, समीर श्रेष्ठ, महेश काफ्ले, अस्मिता अधिकारी र कुशल पोखरेलको संगीत छ ।

प्रतिक्रिया