Bisal Chautari Logo

सरोज पौडेललाई प्रश्न– ‘सिन्दुरे जात्रा’को कथा के हो ?

- ३० मंसिर २०८२, सोमबार २३:०३ मा प्रकाशित


बिशाल चौतारी समाचार
काठमाडौं, २०८२ मंसिर २९ सोमवार।
 निर्देशक सरोज पौडेलले नयाँ चलचित्र निर्माणको घोषणा गरिसकेका छन् । ब्लकबस्टर सिनेमा ‘पूर्ण बहादुरको सारङ्गी’ फेम्ड निर्देशक पौडेलले चलचित्र ‘सिन्दुरे जात्रा’ निर्माणको घोषणा गरे पनि यसको विषयबारे भने हालसम्म केही जानकारी दिएका छैनन् ।

चलचित्र घोषणा गरे पनि उनले हालसम्म विषय मात्रै पनि होइन, कलाकारबारे पनि जानकारी दिएका छैनन् ।

जेठमा छायांकनमा जाने तयारी रहेको भनिएको सिनेमाको टाइटलले संकेत गरेअनुसार अनुमान लगाइए के हुन्छ भन्ने प्रश्नमा निर्देशक सरोज भन्छन्, “करिब–करिब गलत हुन्छ । तपाईंको दिमागमा के छ त्यो त मैले जान्ने कुरा भएन । तर, नुवाकोटमा हुँदै आएको सिन्दुरे जात्रा नै सिनेमाको विषय हो भनेर बुझ्नु भएको हो भने त्यो चाहिँ पूर्णतया गल्ती नै हो ।”

टाइटल अनाउन्समेन्ट टिजरमा ‘सिन्दुरे जात्रा’कै विषय सिनेमाको मुख्य कथानक छ जस्तो देखिन्छ नि ? भन्ने प्रश्नमा निर्देशक पौडेल भन्छन्, “सत्य हो, छनक त्यही देखिन्छ । सिन्दुरे जात्रासँग कहीँ कतै सिनेमा जोडिएला पनि, तर मैले नढाँटी भन्दा यो सिन्दुरे जात्राको कथा भन्ने सिनेमा होइन ।” निर्देशक पौडेलले कथा र कलाकारबारे केही समयपछि जानकारी दिने बताए ।

सबिन अधिकारी र बसन्त न्यौपानेको लेखन रहेको चलचित्रमा कथा पनि निर्देशक पौडेल स्वयंको छ । सारंगी फिल्म्सको प्रस्तुति रहेको सिनेमाको निर्मातामा प्रभाकार श्रेष्ठ छन् ।

आरआर फिल्मसले वितरण गर्ने चलचित्रको डिजिटल पार्टनरमा ओएसआर डिजिटल रहेको छ । चलचित्रको रिलिज मितिबारे निर्देशक पौडेलले अहिले तय भइनसकेको बताए ।

केही महिनाअगाडि निर्देशक पौडेलको लेखन तथा निर्देशन रहेको चलचित्र ‘कोशेढुङ्गा’ प्रदर्शनमा आएको थियो ।

प्रतिक्रिया