Bisal Chautari Logo

चलचित्र ‘जेरी अन टप’ले १० दिनमा १२ करोडमाथीको कलेक्सन

- १० कार्तिक २०८२, आईतवार २०:५७ मा प्रकाशित


बिशाल चौतारी समाचार
काठमाडौं, २०८२ कार्तिक ९ आइतवार।
गत असोज ३१ गतेबाट सार्वजनिक प्रदर्शनमा आएको चलचित्र ‘जेरी अन टप’ ले आक्रामक अकुपेन्सीलाई निरन्तरता दिएको छ । रिलिजको पहिलो दिनबाट हाउसफूल विजनेससहित हलमा भित्रिएको चलचित्रले प्रदर्शनको नवौं दिनमा १ करोड माथिको ग्रस विजनेस गरेर नयाँ किर्तिमान कायम गरेको छ ।

दोस्रो साताको विजनेसमा एकै दिन करोड माथिको कलेक्सन नेपाली चलचित्र उधोगको लागि दुर्लभ जस्तै बनिरहँदा युवा स्टार अनमोल केसी अभिनित फिल्मले यो सफलता प्राप्त गरेको हो । ‘जेरी अन टप’ले हालसम्म यो वर्षकै सर्वाधिक कलेक्सन गर्ने चलचित्रको रूपमा आफुलाई अग्र पङ्ग्तिमा उभ्याएको छ ।

निर्माता सरोज न्यौपानेका अनुसार चलचित्रले शनिबार मात्रै १ करोड १ लाख ३२ हजार ८ सय १३ रुपैयाँ ३३ पैसा कलेक्सन गरेको छ । चलचित्र विकास बोर्डले उपलब्ध गराएको रियल टाइम बक्सअफिस रिपोर्ट सार्वजनिक गर्दै न्यौपानेले आफ्नो चलचित्रले प्रदर्शनको नवौं दिनमा एकै दिन १ करोडको माइलस्टोन क्रस गरेको जानकारी गराएका हुन् ।

एकपछि अर्को दिन आक्रामक विजनेसलाई निरन्तरता दिएको चलचित्रप्रति दर्शक क्रेज आइतबार पनि उस्तै देखिँदा यो क्रमले निरन्तरता पाउने संकेत अग्रिम बुकिङले देखाएको छ । अग्रिम अनलाईन बुकिङमा फिल्मले अफ डे मानिने आइतबार (आज) पनि सोहि प्रकृतिको विजनेस गर्ने देखिएको छ, आइतबारको शोज पाएका देशभरका अधिकांश हल शोज सुरू हुनु अगावै हाउसफूल भइसकेका छन् । राजधानी काठमाडौंसँगै मोफसलमा प्रमुख शहरदेखि ग्रामिण भेगमा हलहरूमा समेत फिल्मप्रति दर्शक आकर्षण उच्च देखिएको छ ।

चलचित्रमा जोडिएको कलाकारहरूको अभिनय, हिमाली दृश्य, निर्देशन कला, छायांकन, व्याकग्राउण्ड स्कोर, सम्पादन लगायतका पक्षले उत्कृष्ट तारिफ भेटेका छन् । दर्शकले फिल्मका मुख्य कलाकार अनमोल केसी, आँचल शर्मा र जसीता गुरुङबीचको त्रिकोणात्मक प्रेमको केमेस्ट्रिलाई उत्कृष्ट भनेका छन् । साथमा लामो समयदेखि पर्दामा पुनरागमन गरेका अभिनेता भुवन केसी, चर्चित हाँस्य कलाकार केदार घिमिरे, उषा खड्गी, सुरक्षा पन्तको अभिनयले पनि दर्शकबाट प्रशंसा पाएको छ ।

सुयोग गुरुङको निर्देशनमा बनेको फिल्मलाई दुलिप रेग्मीले दृश्यांकन गरेका हुन् । अनन्या फिल्मस् को प्रस्तुतिमा बनेको फिल्मले पहिलो साता मात्रै ५ करोडमाथिको कलेक्सन र १० दिनमा १२ करोडमाथी कलेक्सन गरिसकेको छ ।

प्रतिक्रिया