Bisal Chautari Logo

बिहेका एक महिना स्वर्णिम

- ११ माघ २०७०, शनिबार ०२:५३ मा प्रकाशित


पुस्तक अंश
–रामकुमार एलन
रात झमक्कै पर्‍यो । सारौँका हुल कराउँदै नजिकैको नर्कटघारीमा बास बस्न गए । कर्किनी बज्यै खाना पकाउन थालिन् । धुवाँ निस्कन थाल्यो घरबाट । गाउँका घर । भित्र आगो फुकेपछि जताततैबाट धुवाँ निस्कन थाल्छ । सहकारी नानी पनि हातमुख धोएर फ्रेस हुन बाहिर निस्की । कस्तो छ त गाउँ ? साथीहरूलाई सोधिन् । कर्किनी बज्यैले स्टिलका ठूला गिलासमा दूध ल्याइन् ।
‘नानीबाबुलाई भोक लाग्यो होला । हतारले चिया पनि पकाइन,’ उनी बोलिन्, ‘लौ तातो दूध खानुहोस् ।’ पिँढीका खाटमा बसेर सबै दूध घुट्क्याउन लागे । कर्किनी भात र दाल छड्काउँदै बाख्रा खोरमा हुल्न थालिन् । गाईवस्तुलाई घाँसपराल हाल्न लागिन् । टुकी बल्यो । लालटिन पनि बल्यो । बत्तीको उज्यालोमा घर चहकिलो भयो ।
‘लौ खाना पाक्यो । आउनुस् बाबुनानी ।’
तामाका घल्चामा पानी दिँदै कर्किनी बोलिन् । सहकारीका नानीबाबु रेडियो नेपाल सुन्दै थिए । साँझ ७ बजेको समाचार र त्यसपछिको घटना र विचार सुनेपछि देश–विदेशको खबर थाहा हुन्थ्यो । हात धोएर खाना खान भित्र छिरे । साँझ रातमा बदलियो । ८ बजेको अङ्ग्रेजी समाचार रेडियोमा आइसकेको थियो । गुन्द्री ओच्छ्याएर पाहुनाको स्वागत थियो । चरेसका थालमा भात । चार–पाँचवटा कचौरा । दुइटा गिलास । तरकारी, दाल, दही कचौरामा । गिलासमा दूध र पानी । कर्किनी बोलिन्, ‘अरू अचार भएन । घ्यू खानुहुन्छ कि ?’ सहकारीका नानीबाबु अचम्मैका मेजमानीमा परे ।
‘गुन्द्रुकको अचार त दिइन । सहरका मान्छेहरू नखानु होला भनेर,’ बज्यैले भनिन् ।
‘खान्छौँ नि किन नखानु,’ उनीहरूले थपे, ‘हामी पनि गाउँकै हौँ नि !’ दुई–चार दिन सहरमा डेरा जमाएका त हौँ । उनीहरू पनि बोले, ‘थाहा छैन, भोलि कहाँ पुगिन्छ ?’
कर्किनीले सोधिन्, ‘मैले घर पनि सोधिन । बिहाबारी के भयो ? बाबुहरूले पनि अचम्म मान्नुभयो कि ?’
खानासँगै गफ सुरू भयो ।
‘हाम्रो विवाह भा’छैन आमा । दुवैको घर चितवन हो । उहाँ दिदी चैँ मकवानपुरकै हाँडिखोलाको,’ उनीरुले जवाफ फर्काए ।
कर्किनीलै एक पन्यु भात थपिदिइन्, अनि उनीहरूले कुरामा कुरा थपे, ‘अहिले सबै हेटौँडामै बस्छौँ । अफिसले क्वार्टर दिएको छ ।’
उनीहरू सुस्ताए, ‘अब जागिर पनि सकिन लाग्यो । कहाँ पुगिन्छ ?’
‘आज आमाले नै भात खुवाएकोजस्तो लाग्यो । दशैँँमा घर जाँदा सबै जम्मा भएर पलेँटी मारेर, भुँडी फर्काएर खाइन्थ्यो,’ पेट भरिएपछि गफिने पालो उनीहरूको थियो ।
‘आज तपाईंले आमा बिर्साउनु भो ।’
कर्किनी हाँसिन्, ‘आमालाई कहाँ बिर्सनुहुन्छ ? आमा भगवान् हुन् । लौ आज पनि बुबा नआउने हुनुभयो । यतिखेरसम्म आउनुभएन । गाउँतिरै बस्नुभयो क्यारे ।’ उनीले फेरि सोधिन्, ‘बाबुनानीलाई भात थपौँ ? मागेर खानुस् है लाज नमानी ।’ उनी पनि गफिइन्, ‘आफ्नै घर ठाने हुन्छ ।’
खाना खाएर सहकारीका नानीबाबु रेडियो सुन्न थाले । बाहिर पिँढीमा खाटमा बसेर रेडियो नेपाल सुन्दै थिए । साढे आठ बजेतिर रेडियो नेपालले लोकभाकाका कार्यक्रमहरू दिन्छ । कहिले सामुदायिक कुराहरूको कार्यक्रम दिन्छ । कर्किनी बज्यै भान्छामा एक्लै भइन् । स्टिलका थालमा अलिकता भात हालेर दाल थप्दै मुछ्न थालिन् । एक गाँस भात चपाउनै लाग्दा बुढाको याद आयो, ‘कहाँ बस्नुभयो ? खानुभयो कि भएन ? सुताइ कस्तो छ ?‘ मनमनै सोचिन् । अनि सम्झिइन्, दुई महिनादेखि हराइरहेकी छोरी कहाँ छे । कहाँ पुगी होली ? कस्तो छ ? सन्चै त होलिस् ? बिर्सिस् क्यारे आमालाई । आमाको कोमल मन । छाती चर्चरायो । थपक्क थालमै चुठेर कर्किनी भाँडा बाहिर निकाल्न थालिन् ।
गोबर लिएर मझेरी छिर्नै लाग्दा कर्किनीले भनिन्, ‘निद्रा लागे सुत्नुभए हुन्छ । म त लोटाएर भाँडा माझ्छु, अनि सुतौँला । धन्दा भ्याउनैप¥यो । पिँढीका डिलमा बसेर कर्किनी खरानीले भाँडा मस्काउन थालिन् । सहकारीकी नानी म पनि सघाउँ आमा भन्दै छेउमा आइन् ।
‘पर्दैन, पर्दैन । नङमा कालो पस्छ । हात फुट्छ । त्यस्ता नरम हातमा गोबर र अँगार सुहाउन्न ।’
‘म पानी हालिदिन्छु नि त,’ सहकारी नानीले अम्खोराले पानी हालिदिइन् । भाँडा चाँडै माझेर सकियो । कर्किनी बज्यैले फेरि बूढालाई सम्झिइन्, ‘लौ अब ढोका लगाउनुप¥यो । यतिखेरसम्म नआएपछि पक्कै आउनुहुन्न ।’
खासमा कार्की गाउँघरका सामान्य व्यापारी हुन् । कार्की भीमे भनेपछि गाउँमा सबैले चिन्छन् । छलछाम जान्दैनन् । सोझा छन् कार्की । गाउँमा कुखुराबाख्राको व्यापार गर्छन् । गाउँगाउँमा पुग्छन् । कुखुराबाख्रा बटुल्छन् र मनहरी लगेर बेच्छन् । यसरी नै उनको परिवारको रोजीरोटी चलेको छ । गाउँमा टाढाटाढा पुग्ने हुँदा कहिलेकाहीँ दुई–तीन दिनसम्म हराउँछन् उनी । आउँदा बाख्राको हुल धपाउँदै आउँछन् । एउटी छोरी छे परिवारमा । १४ पुगेर १५ लागिन् । गाउँकै स्कुलमा पढ्दै छे । गीत पनि गाउँछे, नाच्छे । भाषण पनि दिन्छे अलिअलि । नाचगानमा उत्ताउली छैन, अक्सर रीता कार्कीले गाउने गीत हुन्छ– ‘कोही त भने जहाजमा हरर, कोही त भने पसिना तरर हाम्रो नेपालमा ।’
यही रफ्तारमा दौडिएको थियो कार्की परिवार । कर्किनी घर धान्थी । व्यापार ठीकै थियो । घरमा दुई–चार पैसाको मुख हेर्न पाइएकै थियो । छोरा नहुनेलाई धन प्यारो । गाउँघरमा सबैले भन्थे । तर, कार्की भीमेमा यो लागू हुन्थेन । उनी गाउँमा दुःख परेकालाई दुई–चार पैसा दिन्थे । माग्थेनन् । छट्टुहरूले पनि केही पैसा छड्काएका थिए । तर, कार्की भीमे वास्ता गर्दैनथे । मोराहरूलाई मागेर पुग्दैन, म दिएर गरिब हुन्न भन्थे । घिचुन् नकच्चराहरू । कार्की भीमेले नै हरेक वर्ष धारा, मन्दिर बनाउन पैसा सहयोग गर्थे । बाटोको गौँडाको भ¥याङ, धाराको नयाँ टुटी, मन्दिरको नयाँ घन्टासँग कार्कीको नाम जोडिन्थ्यो । अरूको पाप नचिताउने कार्की छोरी रीता हराएपछि अलि विचलित भए । अँगालो हालेर स्वास्नीले डाँको छोड्दा त विक्षिप्त नै हुन्छन् । छोरीको खोजीमा भौँतारिएका छन् । काम पनि छाडेका चैँ छैनन् ।
दैलो लगाएर सुत्ने तरखर भयो । दुई ठिटाहरू बाहिर सुते । रेडियो सुन्दै उनीहरू बसे ।
‘रेडियो चैँ राति बन्द गर्नुहोला,’ कर्किनीले भनिन्, ‘बिहान चैँ चाँडै खोल्नुहोला ।’ बिहानको शङ्खध्वनि सुन्नुपर्छ भनिन् । कर्किनी र सहकारी नानी दैलोमा ठूलो आग्लो हालेर चोटातिर लागे । चोटामा लालटिन बालेर सहकारी नानीकै खाटमा बसिन् कर्किनी र भन्न लागिन्, ‘नानीको पनि घरबार भा’छैन ?’
सहकारी नानी मुसुक्क हाँसिन् र भनिन्, ‘घरबार गरेर पनि के गर्ने आमा ?’ तपाईंको जस्तै दुःख । कुखुरा–बाख्रा । घरधन्दा । बूढाको याद । एकैपटक थला पार्ने गरी नानीले जवाफ दिइन् ।
‘के गर्ने त आइमाईको जात’ भन्दै कर्किनी घोरिन थालिन् । आइमाईका जात सानोमा बाबुआमाको काख, उमेर हुँदा बूढाको काख, बूढेसकालमा बच्चा खेलाएर नै जाने रहेछ । हुँदा पनि सास्ती, नहुँदा पनि सास्ती ।
‘बिहा गरेको चार वर्षसम्म कोख बसेन भन्दै घरकाले अर्को बिहा गर भनेर बूढालाई उचाले । घरमा मलाई हेप्थे । अरू बुहारीलाई भान्छा र मलाई भकारोमा पठाउँथे । सासू, आमाजू, नन्द त शत्रु भए नै । जेठानी र देउरानी पनि उस्तै थिए नानी,’ कर्किनीका कुरा सकिएकै थिएन, ‘तीर्थ घुम्यौँ । ब्रत बस्यौँ । तीन महिना सँगै बस्यौँ । बूढाले घर छोड्छु, अर्को बिहा गर्दिन भनेर अड्डी कसे । त्यही वर्ष छोरी जन्मिइन्,’ कर्किनीले लामो सास फेरिन् ।
‘फेरि पनि हेला रोकिएन,’ उनले थपिन्, ‘अरूका छोरा भए घुतुमुने । मेरी छोरी ।’ निमोनियाले झन्डै मरिन । दुःख गरेर हुर्काएँ । छोरीलाई पढाएकोमा रिस गरे । धन्न बूढा देउताजस्ता । समय बुझेका । कर्किनीले बूढाको बखान लामै गरिन् । छोरीलाई पढाए । दुःखका दिन सकियो भनेको । फेरि छोरी हराई ।
‘राँडीले पनि दुःख दिई,’ कर्किनीका गला अवरूद्व भए । तेस्रोपटक उनी दुखित भइसकेकी थिइन् । सहकारी नानी पनि थचक्कै भुइँमा बसिन् । फतक्कै गलिन् र सुँक्क गर्दै भनिन्, ‘आमा रूनु हुन्न ।’
यसपटक सहकारी नानीका नाके र रून्चे स्वरले कर्किनीका शिर ठाडा भए ।
ब्यागबाट सहकारी नानीले कपी र कलम निकालिन् अनि एउटा फोटो पनि निकाली लालटिननजिक तानेर कर्किनीलाई सोधिन्, ‘यो तस्बिर राम्ररी देख्नु भा’छ ?’
कर्किनीले आँखा नजिक लगेर फोटो हेरिन्, ‘म त चिन्दिन ।’ सहकारी नानीले रिसको पारामा भनिन्, ‘यही मुर्दार हो, मेरो जीवन खरानी बनाउने ।’
‘पातकी, अपराधी हो यो र लोग्ने पनि ।’
कर्किनीले प्रश्न गरिन्, ‘के भनेको नानी त्यस्तो । लोग्नेको नाम काट्न त हुन्न भनेका बेला, अपराधी भन्ने ?’
‘के गरे र यिनले तिम्लाई ?’ अबोध भएर कर्किनीले प्रश्न तेस्र्याइन् ।
सहकारी नानी फेरि रून थालिन् । रात छिप्पिँदै जाँदा सन्नाटा पनि छायो । सुँक्कसुँक्क गर्दै सहकारी नानीले आँसु पुछिन् । तस्बिरमा हेरेर एकपटक थुइक्क मुर्दार भनिन् र झोलामा हालिन् । कर्किनी हेरेको हेरेकै भइन् ।
नजिकैको बाँसघारीमा चराहरू कराए । डाँडाका रूखहरू हल्लिए । ठूलै स्वरमा हुरी चल्यो । स्याँठ आएर हुइँय गर्दै माख्लो कान्लातिर लाग्यो । बार्दलीका कपडाहरू हल्लिए । रात ढल्दै गएपछिको स्याँठले गुँडका चराहरू बिथोलिन्छन् । तल्लो गाउँमा एकनास कुकुर भुकिरहेको छ । नजिकै बगर पनि चकमन्न छ । हुटिट्याउँ कराउँदै गाउँतिर छिरे । कर्किनी कराउन थालिन्, ‘मर्न नसकेका डाम्ना ।’
गाउँमा हुटिट्याउँ कराएको राम्रो मानिँदैन । कुकुर एकोहोरो रोयो भने र हुटिट्याउँ कराउँदै घरमाथिबाट बगरतिर उडे गाउँमा मान्छे मर्छ भन्छन् । भोलिपल्टै या केही दिनमै गाउँका कोही कुनै कारण मर्छन् । त्यसैले पनि हुटिट्याउँका स्वर मन पराउँदैनन् गाउँमा । तर, हुुटिट्याउँका फुल बगरमा फेला परे घुँडामा फुटाउँछन् र भन्छन् मान्छेहरू, ‘१२ वर्षलाई ओखती भयो ।’
थाहा छैन किन स्वर सुन्दा डराउनेहरू फुल फुटाएर ओखती भन्छन् ? सायद बचेरा जन्मिँदैन र कराउँदै घरमाथि उड्दैन भनेर पो हो कि ?
‘तपाईंकै छोरीजस्ती चुलबुले थिएँ म पनि आमा,’ सहकारी नानी बोल्न लागिन्, ‘चढ्दो उमेर । रहरको खहरे । आमाबाबुले सुखमा पालेका थिए ।’
‘एक दिन डिल्लीपुरमा लिङ्गे पिङमा मच्चिँदै गर्दा आयो यो मान्छे,’ उनीले थपिन्, ‘मेरा पनि आँखा जुधे ।’
‘उसले पनि पिछा ग¥यो ।’
‘नौनीजस्तो मेरो मन उसको नजरको तापले पगाल्यो ।‘
उनी एक्लै फतफताउन थालिन्, ‘लुकिछिपी भेटँे । ऊ गाउँमा करिब १५ दिन बस्यो ।’
कर्किनी सहकारी नानीका कुरा सुनिरहिन् । त्यतिखेरसम्ममा उसले मलाई बाहुपासमा पारिसकेको थियो । म ऊविना बाँच्न नसक्ने भइसकेकी थिएँ ।
‘हेर्दा राम्रो, नरम बोल्ने, खाइलाग्दो । देखावटी माया’नि ग¥यो । साँच्चै कुरकुरे बैँसमा म पागल भएँ र अहिले होस आएपछि रोएकी छु आमा ।’
सहकारी नानी फेरि रून थालिन् ।
हाँडीखोलामा ऊ काठको काममा आएको थियो । उसले मलाई हेटौँडा लग्यो । आफ्नो कोठा देखायो । फिल्म देखायो । घुमायो । उसले घर चैँ धादिङतिर भन्यो । बिहे गरेपछि घरमा लैजान्छु । जता मन लाग्छ, उतै बस रानी भन्यो ।
उनी आफ्नो अतीत एकनिमेषमै निफन्न लागिन् । कर्किनी सुनेको सुन्यै भइन् ।
‘मलाई लटिपटी बनायो आमा ।’
उनले भनिन्, ‘म ऊविना बाँच्न नसक्ने भएँ ।’
आमाबाबुको लाडे प्यारमा हुर्किएकीलाई उसले फस्लाङफुस्लुङ पा¥यो । मेरो जीवनका खुसीहरूमा उसले नुहायो । मैले पनि झरना बनेर उसलाई शीतल दिएँ । के थाहा यसरी जीवनभर भत्भति पोल्छ भनेर ? उनले सुस्केरा हालिन् र निधारमा हात राखेर घोरिन थालिन् ।
१६ वर्षको मेरो फूलजस्तो जीवन र जवानी उसैको भयो । एक महिना हेटौँडामा बस्यौँ । आमाबुबा पनि ज्वाइँ राम्रै परे भनेर खुसी थिए । खासमा कमाइ भएको ज्वाइँलाई बढ्ता मान्ने चलन छ । उसले मलाई चुरियामाई लगेर सिउँदोमा सिन्दुर हाल्यो ।
भुटनदेवीमा पनि ल्यायो र एकजोर परेवा उडायो । काठमाडौं घुमायो । भनेजस्तो लोग्ने पाएँ भनेर मेरो खुसी छचल्किएका थिए । मेरा खुसीका बाछिटाले सखीहरू मुर्मुरिन्थे ।
‘राँडीलाई भनेजस्तो पोइ प¥यो भन्थे ।’
‘हाम्लाई कस्तो मुर्कुट्टो पर्ने हो’ भन्थे ।
मलाई दार्जिलिङ घुमाउने सुनायो । उनले सुनाइन्, ‘खुसीले गद्गद् भएँ । उसले कपडा किन्न रक्सौल जाने सुनायो ।’
‘नयाँ कपडा किनेर दार्जिलिङ घुम्न जाने लालसामा उसले मलाई अचम्मकै माया ग¥यो । ‘बिहेको एक महिना स्वर्णिम र यादगार रहे आमा ।’
सहकारी नानी एकोहोरो स्वस्थानीका अध्याय वाचेझैँ आफ्ना कथा भन्न थालिन् । बत्तीनजिकै बसेर कर्किनी बज्यै सुनिरहिन् ।
‘भर्भराउँदो जवानीमा खुसीका डुङ्गा तर्न पाउँदा को खुसी हुन्न र ?’ उनीले थपिन्, ‘आमाको दूध चुसेर आँगनमा उफ्रिएका पाठाजस्तै खुसी हुँदै जीवन बिताउन पाउने सपनामा थिएँ ।’
कपडा सस्तो र रोजिछाडी पाइन्थे रक्सौलमा । देश भारत भए पनि नजिकको बजार । हेटौँडा जाँदा गल्ली र भित्तामा सस्तो साडीका बजार भनेर इनामेल पोतिएका हुन्थे । कहाँ होला त्यो भनेर सोच्थँे । लोग्नेले लैजान्छु भन्दा के चाहियो र ? बस चढेर रक्सौल जान वीरगन्ज पुग्यौँ । बाटोमा चुरियामाईलाई पैसा हु¥याएँ, जहाँ आफ्नो सिउँदो रङ्गिएको थियो । वीरगन्जबाट रिक्सा चढेर हामी रक्सौल गयौँ ।
कुनै तोतामैनाका प्यारका कथाजस्तै सहकारी नानी मध्यराति आफ्नो फरिया पछार्दै थिइन् र कर्किनी बूढी उत्सुक भएर सुन्दै थिइन् ।
‘गर्मी लागेर चिसो खायौँ । त्यसपछि म एकैपटक वेश्यालयमा थिएँ आमा ।’
कर्किनी झस्याङ्ग भइन् ।
‘के भनेको ?’ उनले प्रश्न गरिन् ।
सहकारी नानीले सुस्केरा हाल्दै भनिन्, ‘के गर्ने त ? भाग्य बलियो रहेछ । फर्केर आउँछु जस्तो लागेकै थिएन ।’
रात ढल्दै गइरहेको थियो । दुःखका भारी झन् गहु्रँगो भएर आएका थिए दुवैका । सहकारी नानीले लालटिन निभाउनुस् भनिन् । कर्किनीले आ आज बलिरहोस् भनिन् ।
‘अनि त्यो असती कहाँ म¥यो त ?’ आवेशले कर्किनी पनि झर्किइन् । सहकारी नानी फिस्स हाँसिन् ।
‘अघि मलाई गाली गर्नुहुन्थ्यो । अब त तपाईं झोक्किनुभयो नि ?’
कर्किनी कराइन्, ‘त्यस्तो असती रहेछ त, के थाहा मलाई ।’
‘च्वाट्टै मार हान्नुपर्ने माफिका रहेछन्,’ कर्किनीले थपिन्, ‘अर्काकी छोरीलाई त्यस्तो गर्नेलाई कसरी राम्रो भन्ने ?’
कर्किनी पनि संवेदित भइन् ।
‘जीवनका यस्ता स्वर्णिम पल कोठीमा ब्युँझँदा चकनाचुर भइसकेको थियो ।’
सहकारी नानीले आफ्नो कुरा सुनाइरहिन् । फेरि एक झमट स्याँठ हुइयँ गर्दै छानामुनि हुँदै मास्तिर हुँइकियो । बाँसघारीमा चराहरू कल्याङकुलुङ कराए ।
सहकारी नानीका आँखा रसाएकै थिए । स्वर नाके भएको थियो । छेउमा रहेको अम्खोराको पानी घुट्क्याउँदै एकतारो क्यासेट बजेझैँ उनी कराइरहिन्, ‘मलाई थाहै थिएन, त्यो वेश्यालय पो रहेछ ।’
‘एउटा कोठाको ओच्छ्यानमा लडिरहेकी थिएँ । फलामे रडका बार भएका झ्याल थिए । ढोका बन्द थियो । कोठामा चुरोटको गन्ध, रक्सीको गन्ध, फोहोर, पसिनाको गन्ध । तातो हावा । ओच्छ्यानका तन्ना पनि चिलाउने खालका, उपियाँ, उडुस मरेका छन्, मान्छेका रगतका टाटा । घिनलाग्दो कोठामा थोत्रा सोफा । भित्तामा झुन्डिरहेको एउटा ऐना । थोत्रो पङ्खा । म दङ्ग परेँ । होटल पनि होइन । म कहाँ छु ?’
सहकारी नानीले लामो सासमा भनिन्, ‘हो, आमा । मलाई थाहै थिएन । चिसो खुवाएर बेहोस बनाइएछ ।’
उनीले भनिन्, ‘त्यसपछि रेल हुँदै मलाई मुम्बई पु¥याइएछ । कोठीमा बेचिएछ । म होसमा आउँदा लुटिइसकेछु । खाटबाट उठ्दा मेरा केश फस्ल्याङफुस्लुङ थिए । स्तन दुखिरहेका थिए । मेरा कपडाहरू ठाउँमा थिएनन् । पापीहरूले मलाई बेहोसमै पनि बाँकी राखेनछन् ।’
‘लोग्ने भनौँदो आउँछ कि भनेर धेरैबेर म घोप्टो परेर रोइरहँे ।‘
‘यस्तो विलखबन्दमा परिएला भनेर मैले सोचेकै थिइन ।’
‘जिन्दगी झ¥याम्म फुटेको ऐना होला भनेर कल्पना कहाँ थियो र ?’
‘त्यो नरकबाट फर्केर आएकी हुँ आमा,’ सहकारी नानीका गला अवरूद्व भए । ‘तपाईंलाई निद्रा लाग्यो कि आमा ?’ सहकारी नानी बोलिन् ।
‘असतीहरूले त्यस्तो गर्छन् । कोठीमा थुप्रै छोरी बेचिएका छन् भन्ने सुनेकी थिएँ । आज तिमीले सुनायौ ।’ कर्किनी बोलिन्, ‘आँत हरहर भयो नानी । तिम्रो दुःखले मेरो त मन छियाछिया भयो । तिमीले कसरी मन थाम्यौ ? म भए त्यहीँ झुन्डेर कि फाल हालेर मर्थें होला ।’
‘गाउँका सोझा मुनाहरूको जीवन भाँच्ने त्यो कोठीमा आगो लगाउँदैनन् कोही ?’ कर्किनी बोलिन्, ‘कसले चलाए त्यस्ता कोठी ? तिनका आमा, दिदीबहिनी छैनन् कि ?’ कर्किनीका आवेग शान्त भएनन् । मध्यरातका स्याँठझैँ मच्चिएर आए ।
रातसँगै सहकारी नानीका दुःख पनि छिप्पिरहेका छन् । सुरू नगरौँ, गरिहालियो । सकाऊँ कुरा सुरू मात्र भएको छ । स्वर सुक्न लागिसक्यो । गला अवरूद्व भएका छन् । थकाइले ज्यान फतक्क गले पनि आँखामा निद्र्रा आएको छैन । त्यसमाथि धेरै दिनपछि मनका दुःखका भारी बेसाउन पाउँदा मन हलुको पनि भएर आएको छ । आखिर दोस्रो जुनीका कुरा अघि पहिलो जुनीका कुरा सकाउनु नै छ । सहकारी नानीले दुःखका भारी बिसाउँदै गइन् । घरि टाउका कन्याउँदै, घरि गुन्द्रीका त्यान्द्रा तानेर दाँत कोट्याउँदै कर्किनी आमा सुनिरहिन् ।
‘नानीलाई पिसाब लाग्यो कि,’ सोधिन् आमाले ।
‘जाऊँ न त एकपटक बाहिर,’ नानीले भनिन् ।
‘यहीँ गर्ने कि ? कोपारा छ,’ आमाले भनिन् ।
‘भो आमा बाहिरै जाऊँ,’ सहकारी नानीले भनिन् । दैलो उघारेर दुवै घरपछाडि गएर फर्के । फेरि दैलो बन्द गरेर चोटामा गएपछि नसुतेर गन्थन सुरू भयो । भर्खर बिहे गरेर रातभरि गफमा लठ्ठिएका दुलाहादुलहीझैँ ।
सिरानी भित्तामा अडेस लगाएर नानी आड लागिन् । खाँबोमा सिरानी ठड्याएर कर्किनी आड लागिन् । फेरि चिसो पानी घुट्क्याइन् नानीले अम्खोराबाट । कर्किनी बोलिन्, ‘धेरै चिसोपानी भो ।’
‘बेसार, अदुवा, मरिच हालेको पानी तताइदिऊँ,’ कर्किनी बोलिन् ।
‘पर्दैन,’ नानी बोलिन् ।
रात छिप्पिसकेको थियो । तर, दुवैका दुःखसुखका गफ सकिएको थिएन । फेरि सुरू भयो दुःखको भारी बिसाउन । कोठीमा मालिक्नीले ४० हजार भारूमा किनेको सुनाइन् । म त छाँगोबाट खसेर बेहोस नभएको अवस्थाको पीडामा परँे । लोग्ने भनौँदो पैसा लिएर नेपाल फर्के रे ।
‘यसअघि ५–६ जना मजस्तै ल्याएर बेचेको रे ।’
अब तीन महिनामा अर्की लिएर आउँछु भन्दै १० हजार भारू पेस्की लिएको रे ।’ ‘लौ सुन्नुहोस्, लोग्नेको करामत । कस्तोे भूमरीमा फसँे म ।’
कर्किनी हेरेको हे¥यै भइन् । नानीका कुराले आँखा राता भए पनि मध्यराति के गर्नु ? भोलि उज्यालोमा पनि के गर्नु ? कहाँको हो त्यो असती ? जिउँदै छ कि म¥यो । नानीका गन्थन छँदै छ । घाँटी बस्न लागेका छन् । आँखा सुन्निएका छन् । ‘मैले तिम्रो ४० हजार भारू फर्काउँछु । एउटा मान्छे पठाऊ । मलाई घर फर्काऊ भनँे ।’
‘मालिक्नी मानिन । उसले धन्दामा जान बाध्य पारी । म फेरि दास भएर नारकीय जीवनमा फसँे ।’
सहकारी नानी अवरूद्व गलामा बोलिन्, ‘चिन्दै नचिनेका, देख्दै घिन लाग्नेहरूले आएर मलाई सेलरोटी पकाउन मुछेको पीठोझैँ मुछे । रगतमासु लुछे ।’
‘पाकेका कटहरका केस्रा लुछेझैँ लुछे । कोहीले काँचो आँप टोकेझैँ टोके । कोहीले मह चाटेझैँ चाटे । म लाचार भएँ । मर्न पनि सकिन ।’
सबै कुरा भनिन् नानीले ।
(बिएन पुस्तक संसारबाट माघको तेस्रो साता बजारमा आउन लागेको उपन्यास ‘स्याउली सिम्फोनी’ को अंश ।)

प्रतिक्रिया