Bisal Chautari Logo

राष्ट्रपति बचाउँन खोज्दा प्रधानमन्त्री पद जोखिममा

- २४ माघ २०७०, शुक्रबार १५:५१ मा प्रकाशित


विशाल चौतारी समाचार ।
काठमाडौं २४, माघ ।

कांग्रेस पृष्ठभूमी भएकैले राष्ट्रपति रामवरण यादवलाई बचाउँन खोज्दा बुढेसकालमा प्राप्त हुन लागेको प्रधानमन्त्री पद सुशील कोइरालाले गुमाउँने अवस्था सृजना भएको छ । दोस्रो संविधानसभाको चुनाव सकिएलगत्तै सरकार गठन गर्न औपचारिक आग्रह गरेको एमालेले राष्ट्रपतिको चुनाव नगर्ने कांग्रेस अडानपछि सरकारमा नजान सक्ने संकेत गरेपछि सुशीलको सपना साकार नहुने अवस्था आएको हो ।

कांग्रेस नेताहरुले ‘राष्ट्रपतिलाई महाअभियोग लगाएर हटाऊँ’ भनेपछि कांग्रेस भन्दा पनि एमाओवादीसँग एमाले नजिकिएको छ । अन्तरिम संविधानले विषेश अवस्थामा उल्लेख गरेको अक्षरमै कांग्रेस अडिएकाले एमाओवादी र एमालेसहितका दलहरू एक भएका छन् ।

कांग्रेसले राष्ट्रपति चुनावको अडान नछोडेपछि २१ सीटले दोस्रो भएको दल एमालेलाई सरकार गठन गर्न बहुमत देखिएको छ । तेस्रो दल एमाओवादी, चौथो दल राप्रपा नेपाललगायतको दलहरुले राष्ट्रपति अजेण्डालाई लिएर सहयोग गर्नेभएपछि कांग्रेसले बहुमतको सरकार गठन गर्न समेत सक्ने देखिदैन ।

नेपाली राजनीतिका खेलाडीका केपी ओली अर्काे खेलाडी बामदेव गौतमको सहयोगमा एमाले संसदीय दलको नेता चुनिएकाले पनि कांग्रेसको सरकार गठन गर्ने सपना पूरा नहुने देखिएको छ । कांग्रेसले अडान नछोडे एमालेले सरकार गठन गर्ने संकेत एमाओवादी सरकारमा गृहमन्त्री बनेको एमाले नेता गौतमले संकेत गरिसकेका छन् । ओलीले पनि संसदीय दलको नेता चुनिएको भोलिपल्टै कांग्रेसले सरकार गठन गर्न नसके एमालेले सरकार बनाउँने घोषणा गरिसकेका छन् ।
  
बहुमत एमालेको पक्षमा देखिएकाले बेला सरकार गठन गर्न चुनौति दिएपछि कांग्रेस नेतृत्व सरकार निर्माणमा आधार कमजोर देखिएको छ । सदावहार प्रतिद्वन्द्वी शेरबहादुर देउवालाई पार्टीमा कुनै भूमिका नदिई सुशीलले संसदीय दलको चुनाव जितेकाले पनि सरकारको नेतृत्व फुत्कन बलियो आधार मिल्दै गएको स्रोतको भनाई छ । काम चलाऊ संविधानलाई आधार मानेर बर्षाैसम्म राष्ट्रपति टिकाउँन खोज्दा सुनौलो अवसर कांग्रेसले गुमाउँन लागेको कतिपय विश्लेषकहरुको आकलन छ ।

प्रतिक्रिया