Bisal Chautari Logo

नाङ्गो गाउँ’को बम्पर व्यापार, दया भन्छन्–‘रेकर्डको दबाब लिनु हुँदैन’

- ३१ भाद्र २०८०, आईतवार १७:२२ मा प्रकाशित


विशाल चौतारी समाचार
काठमाडौं,
  २०८० भाद्र ३१ आइतवार । शुक्रबारदेखि रिलिजमा आएको चलचित्र ‘नाङ्गो गाउँ’ले २ दिन बम्पर ओपनिङ गरेको छ । चलचित्र  ‘जारी’पछि दर्शकको ठूलो संख्यालाई यो चलचित्रले हलमा फर्काउन सफल भएको हो । ‘जवान र एक भागवत् र एक गीता’सँग स्क्रिन शेयर गर्नु परेपनि दीपेन्द्र लामाको लेखन तथा निर्देशनमा तयार भएको चलचित्रले बक्स अफिसमा उछाल कायम गर्यो । चलचित्र हेर्न शुक्रबार र शनिबार देशैभर दर्शकको उच्च चाप हलमा देखिएको थियो ।

चलचित्रले दर्शकको ठूलो संख्यालाई हलसम्म आकर्षित गरेपछि कलाकार दयाहाङ राई खुशी सुनिए । तर, उनले आफूलाई कहिले पनि बक्स अफिसको दबाब नरहने पनि बताए । उनले भने–‘यो फिल्मको कथाले मलाई छोएको थियो । निर्देशक लामाले पनि फिल्मलाई राम्रो तरिकाले तयार पारेका छन् । यसैले, दर्शकलाई मन पर्यो होला जस्तो लाग्छ ।

दयाले आफूलाई आफ्नै अघिल्ला फिल्मको रेकर्ड ब्रेक गर्ने लोभ भने नभएको बताए । उनले भने–‘एउटा कलाकारलाई दर्शकले दिने माया र साथ नै ठूलो कुरा हो । यो फिल्मले अरु फिल्मसँग स्क्रिन शेयर गर्नुपरेकाले पनि सुरुवाती दिनमै रेकर्ड ब्रेक गर्न सक्दैन होला । तर, बुकिङ रातो देख्दा खुशी लागेको छ ।

निर्माता हिमाल कडरियाले फिल्मबाट पाएको प्रतिक्रिया र दर्शकको साथले उत्साहित बनाएको बताए । उनले कलेक्शन अहिले नै भन्न नसकिने भन्दै आफू नेपाल र ओभरसिजबाट सुरक्षित भैसकेको सुनाए । निर्देशक दीपेन्द्र लामाले फिल्मको कथा लेख्दा नै आफूलाई दर्शकले मन पराउनुहुन्छ भन्ने लागेको बताए । उनले भने–‘मलाई यो फिल्म चल्दैन भन्ने त कतै पनि लागेको थिएन । दर्शकले प्रतिक्रिया पनि उत्कृष्ट दिनु भएको छ ।’

जय श्रेष्ठ निर्माता, रामहरि श्रेष्ठ कार्यकारी निर्माता रहेको यो फिल्मको आज मल्टिप्लेक्समा शोज समेत वृद्धि भएको छ । भोलीबाट हलमा अझै शोज बढेको देखिन्छ । वितरक रोहितले फिल्मको व्यापार बम्पर भएको भन्दै यसले नेपालबाट निर्मातालाई राम्रो मुनाफा दिने बताए ।

तीज र संविधान दिवसको बिदामा फिल्मको व्यापार अझै बढ्ने आशा निर्माताको छ । प्रस्तुतकर्ता हिमाल शर्माले चाडै नै नयाँ फिल्मको घोषणा गर्ने समेत सुनाए । दयाहाङ राई, मिरुना मगर, शिशिर वाङ्देल, कर्मा, साम्राज्ञी राज्यलक्ष्मी शाह, वुद्दि तामाङ, रविन्द्र झा लगायतका कलाकारको अभिनय रहेको यो फिल्ममा आलोक शुक्लाको छायांकन छ ।

प्रतिक्रिया