Bisal Chautari Logo

‘छड्के २’ फ्लप भएपछि अनमोलले लेखे ‘म चुक्न पुगें’ || ‘छक्का पञ्जा ४’लाई बधाई

- २६ फाल्गुन २०७९, शुक्रबार १५:५० मा प्रकाशित


विशाल चौतारी समाचार
काठमाडौं, २०७९ फागुन २६, शुक्रबार ।
फिल्म ‘छड्के २’ बक्स अफिसमा फ्लप भएपछि अभिनेता अनमोल केसीले पहिलोपटक आफ्नो धारणा सार्वजनिक गरेका छन् । सामाजिक सञ्जाल फेसबुक मार्फत शुक्रबार वक्तव्य जारी गर्दै उनले उक्त फिल्म मार्फत आफूले दर्शकलाई निराश बनाएकोमा दुःखी भएको बताएका छन् ।

अनमोलको नवौं फिल्म ‘छड्के २’ बक्स अफिसमा पूर्णतः असफल रह्यो र मुख्य मल्टिप्लेक्स चेन क्यूएफएक्सले यसलाई प्रदर्शनको ६ दिनमै हटाइदिएको थियो । नवौं फिल्मसम्म आइपुग्दा आफू थप परिपक्व हुनुपर्नेमा आफू चुक्न पुगेको भन्दै गल्ती स्वीकारेका छन् ।

अनमोलले लेखेका छन् :-
‘मलाई थाहा छ मैंले २.० छड्के मार्फत मलाई माया गर्ने दर्शकहरुलाई निराश बनाएँ । जुन दर्शकहरुको साथको कारण म यहाँ आइपुगें । उहाँहरुलाई नै निराश बनाउँदा म झनै दुःखी भएको छु । २.० छड्के मेरो नवौं सिनेमा थियो । नवौं सिनेमामा आइपुग्दा म झनै परिपक्व हुन पर्थ्यो । यहाँनेर म चुक्न पुगें । विश्वस्त हुनुस्, यो समयपनि बितेर जान्छ । घाम डुबेपछि फेरी नयाँ बिहानी हुन्छ । म भोलिको सुनौलो बिहानी मेरा दर्शकसँग साट्नेछु । दुखेका घाउहरुमा मल्हम लगाउनेछु । अब नवौंपछिको दशौं सिनेमा दशपछिको शून्य हटेपछि बन्ने एक अर्थात् आज म शून्यमा छु । र, मेरो करिअरको पहिलो सिनेमा मेरो दशौं सिनेमा हुनेछ । अर्थात् मेरो करिअरको दोश्रो सत्रको सुरुवात मेरो अबको सिनेमाबाट हुनेछ । जबसम्म शुभचिन्तक र दर्शकहरुको साथ र सहयोग रहि रहनेछ, मेरो कोशिस निरञ्तर जारी रहनेछ । पशुपति नाथले हामी सबैको कल्याण गर्नु हुनेछ ।’

यस्तै अंग्रेजीमा लेखेको अर्को नोटमा अनमोलले ‘छड्के २’ सँगै प्रदर्शनमा आएको ‘छक्का पञ्जा ४’को टिमलाई बधाई समेत दिएका छन् ।

प्रतिक्रिया