Bisal Chautari Logo

आदिवासी जनजाति अधिकार सुनिश्चित गर्न सञ्चार अभियान शुरु

- २६ जेष्ठ २०७१, सोमबार १६:१४ मा प्रकाशित


 FONIJ Center
विशाल चौतारी समाचार
काठमाडौं, २०७१ जेठ २६ सोमबार । नयाँ संविधानमा आदिवासी जनजातिका अधिकार सुनिश्चित गर्न अभियान शुरु गरेको छ । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ फोनिजको नेतृत्वमा शुभारम्भ कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका नेता इन्द्रबहादुर गुरुङले मुख्य राजनीतिक दलहरु पहिचानका मुद्धाबाट पछि हटिरहेको अवस्थामा आन्दोलनको विकल्प नरहेको बताए ।FONIJ Center
जनजाति नेताहरुले पार्टीका मुख्य गैर आदिवासी जनजाति नेता र पार्टीको धारणा बोल्ने गरेको बताए । कार्यक्रममा एमाओवादीका नेता वर्षामान पुनले अहिले मुख्य दलले उठाएको बहुपहिचान, बहुजातीय राज्य पुन :संरचनाको मुद्धामा पहिचानबाट राज्य पुन :संरचना गर्न समेत दलहरु तयार नरहेको बताए । जनजातिको मुद्धामा सडक आन्दोलन निर्णायक भएपनि बौद्धिक बहस बिना आन्दोलन सफल नहुने बताए । आदिवासी जनजातिमाथी राज्यको सोंच र स्वभाव र संस्कार नै विभेदकारी रहेको स्पष्ट पार्दै आदिवासी जनजाति संघसंस्थाले गर्ने हरेक आन्दोलनमाम आफ्नो साथ र पूर्ण समर्थन रहने प्रतिबद्धता ब्यक्त गरे । पार्टीका नेताले सधैं जातीय मुद्धालाई लिएर अघि बढ्न नसक्ने भएकाले यसका लागि ठोस र निर्णयक आन्दोलन आदिवासी जनजाति संस्थाले नै गर्नुपर्ने पुनले स्पष्ट पारे ।
कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष नगेन्द्रकुमार कुमालले अव जनजातिको आन्दोलन उत्कर्षमा पुग्ने भएकाले कापी र कलम लिएर आन्दोलनका समाचार लेख्न तयार रहन आग्रह गरे । नेपाल पत्रकार महासंघका महासचिव उजिर मगरले आदिवासी जनजाति पत्रकारहरुमाझ जनजातिका अधिकार र मुद्धाका विषयमा सुसूचित गराउने बताए । कार्यक्रमका अध्यक्ष तथा फोनिज अध्यक्ष डण्ड गुरुङले संचार अभियानलाई निरन्तरता दिने क्रममा संघसंस्थाको भूमिका र अभियान अपरिहार्य रहेको बताए । कार्यक्रममा ‘नयाँ संविधानमा आदिवासी जनजाति अधिकारका लागि सञ्चार अभियान’ का संयोजक मोहनसिं तामाले स्वागत मन्तब्य राखेका थिए । कार्यक्रमको उद्घाटन आदिवासी जनजातिको पहिचान बोकेको सांस्कृतिक ढोल, झ्याम्टा लगायत बजाएर सामूहिक रुपमा गरीएको थियो ।

प्रतिक्रिया