विशाल चौतारी समाचार
काठमाडौं, २०७९ भाद्र १० शुक्रबार । आज शुक्रवारबाट नेपाली चलचित्र क्षेत्रले आशा गरेका दुई सिनेमा ‘प्रकाश’ र ‘राधा’ प्रदर्शनमा आएका छन् । दुवै चलचित्रमा स्टार कलाकारहरुको अभिनय छ भने दुवै फरक विषयमा बनेका चलचित्र हुन् । सिनेमा रिलिज भन्दा अगाडी गरिएको प्रिमियरमापनि दुबै सिनेमाले सकारात्मक प्रतिकृया पाएको थियो ।
‘प्रकाश’मा अहिलेका स्टार अभिनेता प्रदीप खड्का लिड रोलमा छन् । कमर्शियल लभस्टोरी चलचित्रमा जमेका प्रदीपले पहिलो पटक आफूलाई चरित्र अभिनयमा ढालेका छन् । गत बुधवार भएको प्रिमियरमा पनि राम्रो प्रतिक्रिया बटुलेको प्रकाशले बलिउड चलचित्र ‘लाइगर’का कारण मल्टीप्लेक्सहरुमा न्यून शो पाएको छ ।
‘नोभेम्बर रेन’, ‘क्लासिक’, ‘प्रसाद’ जस्तो चलचित्रबाट आफूलाई प्रमाणित गरिसकेका दिनेश राउत निर्देशित चलचित्रमा दीया मास्के, रेनु योगी, प्रकाश घिमिरे, राजन खतिवडा, निरज पन्थी, गोविन्द सुनुवार, रामबाबु रेग्मी, लोकेन्द्र लेखक, दिपेन्द्र शाहीलगायतका कलाकारहरुको पनि अभिनय रहेको छ । महेन्द्र अधिकारीको निर्माण रहेको चलचित्रको आक्रामक प्रचार–प्रसार गरिएको थियो ।
त्यस्तै, ‘सुनगाभा’ सिनेमा निर्देशन गरिसकेका निर्देशक सुवर्ण थापाले निर्देशन गरेको चलचित्र ‘राधा’मा पनि नाम चलेका कलाकारहरुको ठूलो भीड छ । अभिनेत्री सृष्टि श्रेष्ठको मुख्य भूमिका रहेको चलचित्रमा सौगात मल्ल, दिव्य देव, दयाहाङ राई, खगेन्द्र लामिछाने, निश्चल बस्नेत, सुनील पोखरेल लगायतको अभिनय छ । यो सिनेमाबाट सृष्टीको कामको सबैले तारिफ गरेका थिए । यो चलचित्रले पनि मल्टीप्लेक्सहरुमा लाइगरका कारण राम्रो शो पाएका छैनन् ।
प्रतिक्रिया