Bisal Chautari Logo

जुम्लामा ‘प्रकाश’को प्रिमियर : भुइमै बसेर प्रदीपले हेरे || जुम्लाबासीले भव्य स्वागतसंगै प्रशंसा गरे

- ६ भाद्र २०७९, सोमबार २२:२३ मा प्रकाशित


विशाल चौतारी समाचार
काठमाडौं, २०७९ भाद्र ६ सोमबार ।
अभिनेता प्रदीप खड्का अभिनीत चलचित्र ‘प्रकाश’को जुम्लामा छायांकन भएको गाउँमै वल्ड प्रिमियर गरिएको छ । जुम्लाको तिर्खु गाउँमा अवस्थित ऋण मोक्ष माध्यमिक विद्यालयको परिसरमा आइतवार साँझ फिल्मको प्रिमियर भएको हो । प्रिमियरमा सहभागी हुन काठमाडौंबाट जुम्ला पुगेका प्रदीप र .यस चलचित्रका लेखक विकास सुवेदीलाई स्थानीयहरुले भब्य स्वागत गरे ।

जुम्लामा एउटै सिनेमा हल नभएकाले उक्त गाँउमा प्रोजेक्टरबाट चलचित्र देखाइएको थियो । त्यस ठाउँमा बिजुलीको समेत सुविधा नभएका कारण निर्माण टिमले स्थानीयहरुलाई चलचित्र देखाउन जेनेरेटर समेत आफैंले लिएर गएको थियो । चलचित्र हेर्नका लागि लगभग सिंगो जुम्ला नै उर्लिएको लेखक सुवेदीले जानकारी दिए । ४५ दिनसम्म तिर्खु गाँउमा चलचित्रको छायांकन भएको थियो । प्रिमियरपछि जुम्लाबासीले चलचित्रको खुलेरै प्रशंसा गरे । प्रिमियरपछि एक स्थानियले फिल्म हेर्दै गर्दा आफ्नै भाइ–छोरा, छोरी, आमालाई नै पर्दामा देखेको अनुभुति भएको प्रतिक्रिया दिए । आफूहरुले भोग्दै आएको वर्गीय विभेदलाई पनि फिल्ममा देखाएकोमा स्थानीयले निर्माण टिमलाई धन्यवाद दिए ।

स्थानियको प्रतिक्रियापछि अभिनेता प्रदीप खड्काले ‘प्रकाश’को प्रिमियर आफ्नो लागि कहिल्यै विर्सन नसक्ने क्षण बनेका बताए । स्थानीयको स्वागत र मायाले पुकलित बनेका प्रदीप भन्छन्, ‘मैले सोच्दै नसोचेको माया र प्रतिक्रिया स्थानीयबाट पाउँदा ज्यादै खुसी छु । स्थानीयले हाम्रै भाई छोरा जस्तो देखिएका छौं भनेर प्रतिक्रिया दिँदा मैले गरेको पात्रले सार्थकता पाएको महसुस भएको छ ।’

भदौ १० गतेबाट प्रदर्शनमा आउन लागेको फिल्मलाई दिनेश राउतले निर्देशन गरेका हुन् । शिक्षक बन्न एक युवाले गर्ने संघर्षको कथा निर्माण भएको फिल्ममा प्रदीपका अलावा दीया मास्के, रेनु योगी, प्रकाश घिमिरे, निरज पन्थी, गोविन्द सुनुवार, रामबाबु रेग्मी, लोकेन्द्र लेखक, दिपेन्द्र शाहीलगायतका कलाकारको अभिनय छ । यस फिल्मलाई महेन्द्र अधिकारीले निर्माण गरेका हुन् ।

प्रतिक्रिया