Bisal Chautari Logo

चोरीको मोटरसाइकल चढ्ने दुईजना पक्राउ

- २८ पुष २०७७, मंगलवार ०९:३४ मा प्रकाशित


विशाल चौतारी समाचार
काठमाडौं ,२०७७ पौष २८ मंगलवार ।
काठमाडौंको चन्द्रगिरिबाट चोरीको मोटरसाइकल चढ्ने दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले चोरीको मोटरसाइकलसहित धादिङको गल्छी गाउँपालिकाका २७ वर्षीय बिजय तामाङ र १८ वर्षीय आइतराज तामाङलाई नियन्त्रणमा लिएको हो ।

पीडित सहायता इकाइबाट सादा पोसाकमा खटिएको ट्राफिक प्रहरी टोलीले प्रदेश ३-०२-०११ प ७२४१ नम्बरको पल्सर मोटरसाइकलसहित दुवै जनालाई मंगलबार बिहान चन्द्रागिरि नगरपालिका-२ नागढुंगास्थित सडकखण्डबाट नियन्त्रणमा लिएको ट्राफिक महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले जानकारी दिए । गोप्य सूचनाका आधारमा निगरानी राखी दुवैजनालाई नियन्त्रणमा लिएको उनले बताए ।

उनका अनुसार कीर्तिपुर नगरपालिका-७ बस्ने पुण्य महर्जनको उक्त मोटरसाइकल काठमाडौंको चोभारबाटै हराएको उजुरी महाशाखामा परेको थियो । चोरी भएको उक्त मोटरसाइकलको नम्बर प्लेट परिवर्तन भएको अवस्थामा बरामद भएको महाशाखाले जनाएको छ ।

प्रतिक्रिया