Bisal Chautari Logo

पाथीभरा मन्दिर छेउको जंगलमा भीषण डढेलो

- ११ पुष २०७७, शनिबार ०६:०३ मा प्रकाशित


रासस ।  प्रसिद्ध तीर्थस्थल पाथीभर मन्दिर नजिकै भीषण डढेलो लागेको छ। फुङलिङ् नगरपालिका–११ मा पर्ने सिम्बु सामुदायिक वनमा तीन दिनदेखि डढेलो लागिरहेको स्थानीय राजेन्द्र महतले जानकारी दिए।

 

डढेलो निकै ठूलो भएकाले नियन्त्रणमा लिन सक्ने अवस्था नरहेको महतले बताए। उनले भने, ‘बिहीबार बेलुकादेखि नै आगो लाग्न थालेको रहेछ, हामीले शुक्रबार थाहा पायौं र प्रहरी र स्थानीय भएर निभाएका थियौं, रातिबाट फेरि फैलिएछ।’ अहिले हावा समेत जोडले चल्न थालेकाले आगो झनै दन्किरहेको पाथीभरा मन्दिर पुगेका तीर्थयात्री कमल विष्टले बताए।

पाथीभरा मन्दिरदेखि डढेलो लागेको स्थल एक किलोमिटर तल पर्छ। विष्टका अनुसार आगो तत्काल नियन्त्रणमा लिन नसके मन्दिरसम्मै पुग्ने सम्भावना छ। आगोले ठूलो फेदी बस्तीमा ल्याएको खानेपानीको पाइप डढेपछि पानी अवरुद्ध भएको छ। यो रेडपाण्डा पाइने क्षेत्र पनि हो। ताप्लेजुङ सदरमुकाम फुङलिङबाट समेत उक्त स्थानमा धुवाँको मुस्लोसहित आगो दन्किरहेको देखिन्छ।

आगलागी नियन्त्रणका लागि फुङलिङबाट नेपाली सेना, शसस्त्र र नेपाल प्रहरीको टोली पठाउने तयारी भइरहेको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक मनमणी काफ्लेले बताए। यही गतिमा फैलिए आगो फेदीको मानव बस्तीमा समेत आइपुग्ने सम्भावना रहेको महत बताउँछन्। आगो कसले लगाएको हो भन्ने थाहा नभएको उनले बताए।

प्रतिक्रिया