Bisal Chautari Logo

१० गतेबाट सिनेमा हल खुल्दै, तत्काल आमा र सेन्टी भाइरस चल्ने

- ८ पुष २०७७, बुधबार ०६:०० मा प्रकाशित


विशाल चौतारी समाचार
काठमाडौं, २०७७ पौष ८ बुधवार ।
कोरोना महामारी नियन्त्रण र रोकथामका लागि भन्दै देशव्यापी लकडाउन गरिएको लामो समयपछि देशका सबै खाले क्षेत्र बिस्तारै खुले । तर, चलचित्र क्षेत्र भने अझैं सुचारु हुन सकेको छैन् । सिनेमा घरहरु खोल्न सरकारको अनुमति नपाएपछि हल व्यवसायी आफैँ सिनेमा हल खोल्न तम्सिएका छन् । सिनेमा व्यवसायीहरुको छाता संगठन चलचित्र संघले यही पौष १० गतेबाट हल सञ्चालन गर्ने घोषणा गरेको छ।

चलचित्रकर्मीहरु हल सञ्चालन गर्ने तयारीमा जुटेका छन् । तर, यो मितिमा कुन चलचित्र चल्छ भन्ने आम मानिसहरुको चासोको विषय बनेको छ ।  कोरोनाको त्रासका कारण सिनेमा हल बन्द गर्दा चलिरहेका फिल्मबाटै फेरि सिनेमा घर सञ्चालन गर्ने तयारी भएको छ।

चलचित्र ‘आमा’ र ‘सेन्टी भाइरस’ पौष १० गते हलमा लगाउने तयारी गरिरहेको चलचित्र संघका अध्यक्ष मधुसुदन प्रधानले जानकारी दिए । यी दुई चलचित्र हलमा रिलिज भइरहेको रहेका बेला कोरोना संक्रमणको जोखिम भएको भन्दै हल बन्द गरिएको थियो।

हाल सञ्चालनमा आएका केही समय पुराना चलचित्र पनि प्रदर्शन गर्ने योजना रहेको चलचित्र संघले जनाएको छ । केहि समयअघि बनेका र तत्कालिन समयमा दर्शकले रुचाएका चलचित्र हल सञ्चालनको सुरुवाती चरणका केहि दिन प्रदर्शन गर्ने चलचित्र संघका अध्यक्ष प्रधानको भनाइ छ।

चलचित्र संघले ९ महिनादेखि बन्द रहेको हल सञ्चालनको घोषणा गरेसँगै देशभरका हल व्यवसायीहरु उत्साहित देखिएका छन् । बन्द हल सञ्चालनका लागि व्यवसायीहरु सरसफाइमा लागेको संघका अध्यक्ष प्रधानले बताए।

प्रतिक्रिया