Bisal Chautari Logo

बाइडेनले कोरोनाविरुद्धको खोप लगाए

- ७ पुष २०७७, मंगलवार ०४:२३ मा प्रकाशित


एजेन्सि । अमेरिकाको राष्ट्रपतिमा निर्वाचित जो बाइडेनले कोरोनाविरुद्धको खोप लगाएका छन् । समाचार स‌ंस्था रोयटर्सका अनुसार बाइडेनले डेलावारको न्युवार्कस्थित एक अस्पतालमा गएर सोमबार कोरोना खोप लगाएका हुन् । उनले फाइजर र बायोएनटेकले संयुक्त रुपमा बनाएको कोरोना खोप लगाएका हुन् ।

अमेरिकामा यसअघि नै फाइजरको खोप लगाउन सुरु गरिसकिएको छ । बाइडेनले खोप सुरक्षित रहेको सन्देश दिन खोप लगाउने निर्णयमा पुगेको जनाए । बाइडेनले सामाजिक सञ्जालमार्फत आफूले कोरोना खोप लगाएको जानकारी दिँदै लगातारको मेहनतपछि खोप निर्माण गर्ने वैज्ञानिक र अनुसन्धानकर्मीलाई समेत धन्यवाद दिएका छन् ।

साथै उनले अमेरिकी नागरिकलाई चिन्ता नलिन आग्रह गर्दै कोरोना खोप उपलब्ध भएपछि लगाउन पनि अनुरोध गरेका छन्
विश्वभरि महामारीका रूपमा फैलिएको कोरोनाका कारण अमेरिका सबैभन्दा बढी प्रभावित छ । अमेरिकामा हालसम्म ३ लाख १९ हजार जनाभन्दा बढीको भाइरसका कारण मृत्यु भइसकेको छ ।

अमेरिकाका उपराष्ट्रपति माइक पेन्स, सभामखु नान्सी पेलोसी, सिनेटमा रिपब्लिकन नेता मिच म्याककोनेललगायतले गत शुक्रबार खोप लगाएका थिए । उपराष्ट्रपतिमा निर्वाचित कमला ह्यारिस र उनका श्रीमान्ले भने अर्को साता खोप लगाउने जनाइएको छ ।

प्रतिक्रिया