Bisal Chautari Logo

कोरोना संक्रमितको संख्या अढाई लाख नाघ्यो

- २ पुष २०७७, बिहीबार ०५:२५ मा प्रकाशित


विशाल चौतारी समाचार
काठमाडौं, २०७७ पौष २ बिहिवार ।
नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या अढाई लाख नाघेको छ । बुधबार थप ७३६ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना भाइरसबाट सङ्क्रमितको संख्या दुई लाख ५० हजार ९१६ पुगेको छ ।

हालसम्म १८ लाख ४९ हजार १३६ जनाको पिसिआर परीक्षण गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म दुई लाख ३९ हजार ४१६ कोरोना भाइरसबाट मुक्त भई घर फर्किएका छन् । हाल देशभर नौ हजार ७५७ सक्रिय सङ्क्रमित रहेका छन् ।
काठमाडौँ उपत्यकामा बुधबार ३९१ कोरोना सङ्क्रमित थपिएको मन्त्रालयले जनाएको छ । सङ्क्रमित हुनेमा २२८ पुरुष र १६३ महिला छन् । योसँगै उपत्यकामा सङ्क्रमितको संख्या एक लाख १६ हजार ९४२ पुगेको छ ।

बुधबार थपिएका सङ्क्रमितमध्ये काठमाडौँका २९४, ललितपुरका ७७ तथा भक्तपुरका २० रहेका छन् । उनीहरूको उपत्यकाका विभिन्न प्रयोगशालामा परीक्षण गरिएको थियो । हालसम्म काठमाडौँमा मात्र ९३ हजार ७९६ सङ्क्रमित भएका छन् भने ४५० जनाको कोरोनाबाट मृत्यु भएको छ । हालसम्म ८९ हजार १७९ जना कोरोनाबाट निको भएका मन्त्रालयले जनाएको छ ।

यस्तै ललितपुरमा हालसम्म १४ हजार ५९८ सङ्क्रमित भएका छन् । तीमध्ये १३७ जनाको मृत्यु भएको छ । तेह्र हजार ६९९ कोरोनाबाट मुक्त भएका छन् । भक्तपुरमा हालसम्म आठ हजार ५४८ जना कोरोनाबाट सङ्क्रमित भएकामा आठ हजार १०० जना मुक्त भएका छन् । कोरोनाबाट भक्तपुरमा ९७ जनाको मृत्यु भइसकेको छ ।

नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट थप १३ को मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट ज्यान गुमाउनेको संख्या एक हजार ७४३ पुगेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया