Bisal Chautari Logo

४ सय ७५ कर्मचारी कारबाहीमा

- २ पुष २०७७, बिहीबार ०५:०२ मा प्रकाशित


विशाल चौतारी समाचार
काठमाडौं, २०७७ पौष २ बिहिवार ।
 मुलुकको प्रमुख प्रशासनिक निकाय सिंहदरबारभित्रै रहेका कर्मचारीहरू अटेरी रहेको पाइएको छ । सिंहदरबारमा कार्यरतमध्ये निर्धारित पोसाक नलगाई आएका ४ सय ७५ जना कर्मचारी कारबाहीमा परेका छन् ।

बुधबार राष्ट्रिय सतर्कता केन्द्रले सिंहदरबार प्रवेश गर्ने तीनवटा गेटमा एकैपटक छड्के अनुगमन र निरीक्षण गर्दा ४ सय ७५ जना कर्मचारी सरकारले तोकेको पोसाक नलगाई आएको पाइएको थियो । सतर्कता केन्द्रका प्रवक्ता ज्ञानराज सुवेदीले ड्रेस कोडको उल्लंघन गर्ने ४ सय ७५ जना कर्मचारीलाई कारबाही गरिएको जानकारी दिए । यसरी कारबाहीमा पर्नेहरूमा कार्यालय सहयोगीदेखि सहसचिवसम्मका कर्मचारी रहेका छन् ।

सतर्कता केन्द्रले चालु आर्थिक वर्षमा पहिलोपटक गरेको अनुगमनका क्रममा निर्धारित पोसाक नलगाई आउने कर्मचारीलाई सचेत पारिएको जानकारी दिएको छ । दोस्रो चरणमा हुने अनुगमनमा पनि निर्धारित पोसाकबिना नै कर्मचारी आएको पाइएमा निजामती सेवा ऐन र नियमावलीमा उल्लेख भएको नियमअनुसार कारबाही गरिने केन्द्रले जनाएको छ ।

प्रतिक्रिया