Bisal Chautari Logo

भक्तपुरमा थप एक कोरोना संक्रमित पुरुषको मृत्यु

- ३० मंसिर २०७७, मंगलवार ०७:१३ मा प्रकाशित


विशाल चौतारी समाचार
भक्तपुर, २०७७ मंसिर ३० मंगलवार ।
भक्तपुरमा थप एक कोरोना भाइरस संक्रमित पुरुषको मृत्यु भएको छ । भक्तपुर नपाका ती संक्रमित पुरुषको मृत्यु भएसँगै यहाँ कोरोना भाइरस संक्रमणबाट  मृत्यु हुनेको संख्या एकसय १६ पुगेको छ ।

 

स्वास्थ्य कार्यालय भक्तपुरका अनुसार भक्तपुरका ७३ पुरुष र ४३ महिला गरी एकसय १६ जना संक्रमितको मृत्यु भएको हो । यहाँका चार नपामध्ये सबैभन्दा बढी भक्तपुरका २८ पुरुष र १५ महिला गरी ४३ जना संक्रमितको मृत्यु भएको छ ।

मध्यपुर थिमि नपाका २५ पुरुष र १४ महिला गरी ३९ जना, सूर्यविनायक नपाका १३ पुरुष र १३ महिला गरी २६ तथा चाँगुनारायण नपाका ७ पुरुष र एक महिला गरी ८ जना संक्रमितको मृत्यु भएको छ ।

संक्रमित पुगे ८ हजार ७ सय ५७

भक्तपुरमा कोरोना भाइरस संक्रमितको संख्या ८ हजार ७ सय ५७ पुगेका छन् । सोमबार १२ पुरुष र ११ महिला गरी २३ नयाँ संक्रमित थप भएसँगै कूल संक्रमित संख्या ८ हजार ७ सय ५७ पुगेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

कार्यालयका प्रमुख कृष्ण मिजारले यहाँका चार नपामध्ये सबैभन्दा बढी मध्यपुर थिमि नपामा ३ हजार २ सय १३ संक्रमित पुगेको जानकारी दिए । जसमध्ये एकहजार ७ सय ७० पुरुष र एकहजार चारसय ४३ महिला रहेको उनको भनाइ छ ।

त्यस्तै सूर्यविनायक नपाका २ हजार ७ सय ८९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जसमा पुरुष एकहजार ६ सय १० जना र महिला एक हजार एकसय ७९ जना रहेका छन् ।

भक्तपुर नपाका ९ सय एक पुरुष र ८ सय ४ महिला गरी एकहजार ७ सय ५ जना संक्रमित भएका छन् । भक्तपुरमा सबैभन्दा कम चाँगुनारायण नपामा ४ सय ९८ पुरुष र २ सय ९६ महिला गरी ७ सय ९४ जनामात्रै संक्रमित रहेका छन् ।

कूल संक्रमितमध्ये ८ हजार ५७ जना निको भएर डिस्चार्ज भएको प्रमुख मिजार बताउँछन् । जसमा पुरुष ४ हजार ५ सय ४५ जना र महिला ३ हजार ५ सय १२ रहेको उनले जानकारी दिए ।

डिस्चार्ज हुनेमा मध्यपुर थिमिका २ हजार ९ सय ७५, सूर्यविनायकका २ हजार ५ सय २७, भक्तपुरका एक हजार ६ सय २ र चाँगुनारायणका ७ सय २१ रहेका छन् छन् ।

५ सय ८४ जना सक्रिय संक्रमित

कार्यालयका अनुसार भक्तपुरमा ३ सय १३ पुरुष र २ सय ७१ महिला गरी कूल ५ सय ८४ जना सक्रिय संक्रमित रहेका छन् । जसमध्ये सूर्यविनायक नपामा २ सय ३६, मध्यपुर थिमिमा एक सय ९९, चाँगुनारायणमा ६५ र भक्तपुर नपामा ६० जना रहेका छन् ।

सक्रिय संक्रमितमध्ये ५ सय ३५ जना होम आइसोलेसनमा रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । त्यस्तै ३४ पुरुष र १५ महिला गरी ४९ जनामात्रै अस्पताल तथा नपाले सञ्चालन गरेको आइसोलेसन केन्द्रमा रहेका छन् ।

प्रतिक्रिया