Bisal Chautari Logo

विश्वकप छनोटका लागि प्रशिक्षण सुरु

- २८ मंसिर २०७७, आईतवार ०६:०६ मा प्रकाशित


विशाल चौतारी समाचार
काठमाडौं, २०७७मंसिर २८ आइतवार ।
सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा)को कृत्रिम मैदानमा राष्ट्रिय फुटबल टिमको प्रशिक्षण सुरु भएको छ।
फिफा विश्वकप २०२२ र एसिया कप २०२३ को संयुक्त छनोट अन्तर्गत नेपालले तीनवटा होम गेम खेल्न बाँकी छ। सोही खेलका लागि आजबाट प्रशिक्षण सुरु भएको हो।

एन्फाले सुरुवाती बन्द प्रशिक्षणका लागि लामो समयदेखि टिममा नपरेका विराज महर्जन, विमल घर्तीमगरसहित ५८ जना खेलाडी बोलाए पनि सबै खलाडी आइपुगेका छैनन्। उपलब्ध खेलाडीलाई कार्यकारी प्रशिक्षक बालगोपाल महर्जनले दुई टिममा बाँडेर प्रशिक्षण थालेका हुन्।

टिम ए मा तीन किपरसहित २७ खेलाडी छन् भने बाँकी खेलाडी टिम बी मा छन्। कोरोना महामारीका कारण आठ महिना रोकिएको फुटबल प्र्रशिक्षण गत महिना एक मैत्रीपूर्ण सिरिजका लागि सुरु गरिएको थियो।

बंगलादेशसँग दुई खेलको मैत्रीपूर्ण सिरिजका लागि नेपालले १२ दिन अभ्यास गरेको थियो। विश्वकप छनोटकै लागि अभ्यासस्वरुप बंगलादेशमा खेलेको दुई खेलको पहिलो खेलमा नेपाल पराजित भएको थियो भने दोस्रो खेल बराबरीमा रोकिएको थियो।

यसअघि दुई पटक रद्द भइसकेको छनोट खेल एसियाली फुटबल संघ (एएफसी)ले आगामी चैत र जेठमा आयोजना गरेको छ। नयाँ तालिका अनुसार नेपालले दशरथ रंगशालामा चैत १२ गते चाइनिज ताइपेइसँग, चैत १७ गते अष्ट्रेलियासँग र जेठ २४ गते जोर्डनसँग खेल्नेछ।

‘विश्वकप छनोटका पहिलो खेलको लागि १०२ दिन बाँकी छ। करिब साढे तीन महिनाका लागि योजना बनाएर प्रशिक्षण सुरु गरेका छौं,’ प्रशिक्षण सुरु गर्नुअघि प्रशिक्षक महर्जनले भने, ‘यसबीच चार फेजमा खेलाडीको छनोट गर्नेछौं। चौथो फेजबाट छनोट खेल्ने खेलाडी–टिमको टुंगो लाग्नेछ।’

एन्फाले प्रशिक्षण र विश्वकप तयारीका लागि उपाध्यक्ष एवम् पूर्वकप्तान उपेन्द्रमान सिंहलाई संयोजकको जिम्मेवारी दिएको छ।

त्यस्तै, मुख्य प्रशिक्षक योहान कालिनले राजीनामा दिएपछि एन्फाको पछिल्लो बैठकले प्रशिक्षक महर्जनलाई राष्ट्रिय टिम हेर्ने जिम्मेवारी दिएको छ।

‘बीचमा मुख्य प्रशिक्षक आउनेबारे एन्फासँग कुरा भएको छैन। विश्वकप छनोटसम्मका लागि भनेर एन्फाले मलाई नै जिम्मेवारी दिएको छ,’ उनले भने।

समूह ‘बी’ मा नेपाल

समूह ‘बी’ मा रहेको नेपाल एक खेलमा मात्र जित निकालेर समूहको चौथो स्थानमा छ। उसले चाइनिज ताइपेइसँगको खेलमा जित निकालेको हो।

समूह चरणका ४ खेल खेलेर सबैमा जित निकालेको अष्ट्रेलिया शीर्ष स्थानमा छ।

त्यस्तै कुवेत १० अंकसहित दोस्रो स्थानमा हुँदा जोर्डन समान १० अंकसँगै तेस्रो स्थानमा छ।

दुवै राष्ट्रको समान तीन जित एक हार र एक बराबरी छ। चाइनिज ताइपेइले हालसम्म एक खेलमा पनि जित निकालेको छैन। अष्ट्रेलिया बाहेक सबैले पाँच खेल खेलेका छन्।

 

प्रतिक्रिया